व्यावसायिक वातावरण निर्माणमा सरकार लागेको : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि सरकार लागेको बताएका छन् ।
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घको ‘पाँचौँ साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, ‘मुलुकमा राजनीतिक मुद्दा समाप्त भएकाले अब आर्थिक विकास आवश्यक छ ।’
पूर्वप्रधानमन्त्री खनालले मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न उद्योग क्षेत्रको विकास हुनु जरुरी रहेको उल्लेख गर्दै संविधानले उद्योगी व्यापारीको हकलाई समेटेको बताए ।
उद्योग क्षेत्रको विकासका लागि आवश्यक ऐन कानून निर्माणमा सरकार लागेको बताउँदै उनले मुलुकको विकासका लागि कृषि, पर्यटन र जलस्रोतमा विशेष ध्यान दिनु जरुरी रहेको धारणा व्यक्त गरे ।
उद्योग विभागका निर्देशक जीवन सेढाईंले उद्योग, व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि राज्यको पूर्ण सहयोग रहने बताए । ‘औधोगिक व्यवसाय ऐन आए पनि नियमावली र कानून नबन्दा समस्या उत्पन्न भएको छ’, उनले भने ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले राज्यलाई कर तिरेर आफ्नो व्यवसाय सञ्चालन गर्दा पनि मुलुक उद्योग र व्यवसायमैत्री हुन नसकेको बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पूर्वअध्यक्ष सुरेश प्रधानले मुलुकको व्यापार घाटा कम गर्न सरकारले उद्योग क्षेत्रमा लगानी गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा खिचापोखरी न्यूरोड व्यापार सङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठ, सिभिल मल व्यापार सङ्घका अध्यक्ष विजयकुमार महर्जन, कोटेश्वर व्यापार सङ्घका अध्यक्ष सरोजकुमार थापालगायतले मुलुक आयतमुखी नभई उद्योगमुखी हुनुपर्ने बताउँदै उद्योग सञ्चालनका क्रममा रहेका अस्पष्ट कानूनलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिए ।
विसं २०७० मा स्थापना भएको सङ्घमा हाल झण्डै २०० उद्योगी व्यवसायी संलग्न रहेको सङ्घका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । उनले उद्योग मन्त्रालयमा साना उद्योग व्यवसायीको पहुँच नपुगेको गुनासो गरे ।
प्रतिकृया दिनुहोस