• २०८२ जेठ १५ बिहीबार
  • Thursday, 29 May, 2025

प्रेस सेन्टरले मनायाे सेन स्मृति दिवस 

काठमाडाैं । नेपाली जनपक्षीय पत्रकारिताको धरोहर सहिद कृष्ण सेन ‘इच्छुक’को २३औं स्मृति दिवस प्रेस सेन्टर नेपालले विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

सेन्टरको केन्द्रीय समितिको आयोजना, उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेश समितिको सहभागितामा आज (मंगलबार) काठमाडौंमा ‘इच्छुक’को २३औं स्मृति दिवस’ कार्यक्रम गरिएकाे थियाे । दुई चरणमा भएको कार्यक्रमको पहिलो चरणमा सेनको बारेमा प्रेस सेन्टर नेपालले तयार पारेको श्रव्यदृष्य सामाग्री प्रशारण गरियो । दोस्रो चरणमा पिसिएन संवाद भयो । पिसिएन संवादमा ‘गणतन्त्र र समाजवादको यात्रा’ र ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’बारे संवाद भयो ।

पिसिएन संवादको ‘गणतन्त्र र समाजवादको यात्रा’मा नेकपा (माओवादी केन्द्र)की स्थायी समिति सदस्य, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, राष्ट्रिय सभा सदस्य, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा आदिवासी/जनजाति संयुक्त मोर्चा, नेपालका अध्यक्ष सुरेश आलेमगर, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, पूर्व युवा तथा खेलकुदमन्त्री, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाइली, मधेस प्रदेशका प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्व राज्यमन्त्री रहबर अन्सारी र धादिङको बेनिघाट रोराहाङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले भाग लिए । संवादको सहजीकरण नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव रोशन पुरीले गरेका थिए ।

पिसिएन संवादको दोस्रो सृङ्खलामा ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिताका’ बारेमा संवाद भयो । उक्त संवादमा जनपक्षीय साहित्यकार, अखिल नेपाल जनसांस्कृतिक महासंघका इन्चार्ज ईश्वरचन्द्र ज्ञवाली, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ, प्रेस सेन्टर नेपालकी संस्थापक संगिता खड्का र खबरहबडटकमका सम्पादक अरुण बरालले भाग लिएका थिए । संवादको सहजीकरण पत्रकार नरेश ज्ञवालीले गरे ।

कार्यक्रममा प्रेस सेन्टर नेपालले स्थापना दिवसको अवसरमा प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कारको घोषणा गरियो । 

पुरस्कार छनौट सिफारिस समितिको सिफारिस बमोजिम कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट लेखक, वामपन्थी विश्लेषक, पत्रकार नरेन्द्रजंग पिटर, बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट प्रेस सेन्टर नेपालकी निवर्तमान उपाध्यक्ष तथा रेडियो नेपालमा कार्यरत पत्रकार रुबी श्रेष्ठ र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट सप्तरीबाट नयाँ पत्रिकामा रिपोर्टिङ गर्नुहुने मनि विश्वकर्मा छनौट भएका छन् । उनीहरुलाई प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान तथा सम्मान गरिने महासचिव मनाेज घर्तीमगरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर