• २०७९ मङ्सिर १६ शुक्रबार
  • Friday, 2 December, 2022

झापा-१ बाट लोकप्रिय मतसँगै तेस्रो प्रयासमा विश्वप्रकाशको संसद यात्रा

नेपाली राजनितीमा सबैले सुनेको र चिनेको नाम हो विश्वप्रकाश शर्मा । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका शर्मा यो पटक युवाहरुको नेतृत्व गर्दै  झापा- १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।  नेपाली काँग्रेसका महामन्त्री समेत रहेका  शर्मा भारी मतान्तरका साथ निर्वाचित भएका छन् । उनी तेस्रो प्रयासमा संसदको उात्रामा सफल भएका हुन् । 
सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले एमाले–राप्रपा गठबन्धनका अग्नी खेरललाई १४ हजार २७५ को फराकिलो मतान्तरले पराजित गरे ।  
कुल खसेको ८१ हजार ६२४ मत मध्ये शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मत प्राप्त गरे । 

‘हेवीवेट’ बीचमै भारी मतान्तर
 शर्मा काँग्रेसका पूर्व प्रवक्ता, प्रचार विभाग प्रमुख हुँदै हालका महामन्त्री छन् भने पराजित बनेका खरेल पूर्वमहान्यायाधिवक्ता र पूर्वकानुन मन्त्री तथा पार्टीका स्थायी कमिटी सदस्य हुन् । 
त्यस अर्थमा दुई उम्मेद्वार बीचको चुनावी प्रतिस्पर्धालाई ‘हेवीवेट’ बीचको भिडन्तको रुपमा हेरिएको थियो । 

तर, २०७० र २०७४ मा लगातार दुई पटक पराजित बनेका शर्माले तेस्रो पटक अग्नी परीक्षामा होमिदा विगतको पराजय बिर्साउने मत प्राप्त गरे ।

कार्यकर्तामाझ लोकप्रिय रहने तर त्यसलाई मतमा बदल्न नसेकेको आरोप खेप्दै आएका शर्माले यो पटक ती सबै खण्डनको प्रतिउत्तर मतमार्फत दिएका छन् । 

अंकगणितमा पछि थिए शर्मा 

शर्मालाई यो पटक जनअपेक्षाका साथ मत प्राप्त भएको अनुमान सहजै लगाउन सकिन्छ । 
आम निर्वाचनमा अलग–अलग गठबन्धन बनेसँगै स्थानीय तह निर्वाचनको तथ्यांक केलाउँदा राप्रपा–एमाले गठबन्धन सत्ता गठबन्धनभन्दा करिब ८ हजार मतका साथ अगाडि देखिन्थ्यो । 
हाल शर्माले कायम गरेको १४ हजार बढीको मत अन्तर हेर्दा २२ हजारबढी मत काँग्रेस माओवादीइतर मतदाताबाट प्राप्त गरेको आँकडा स्पष्ट हुन्छ । 

यद्यपी हालसम्म उपविजेतामा सिमित बन्नु परेको तथ्य, अर्को क्षेत्रबाट आएका प्रत्यासी उम्मेदवार, पराजयका बीच स्थानीय गतिविधि तथा क्षेत्रको विकासमा खेलेको नेतृत्वदायी भूमिका साथै असल संस्कारसहितको निष्ठाको राजनीतिक कर्म जस्ता शर्मासँग जोडिने उपमानै उनको जितका आधारका रुपमा देखिएका छन् । 

यसका अलावा देशभर आएको राजीतिक चेतको उभारलाई समेत निर्वाचन क्षेत्र नं. १ को परिणामसँग जोडेर विश्लेषण गरिएको छ । यी सबै तथ्यले समेत शर्मालाई यो पटक क्षेत्र नं. १ का आम मतदाताले वास्तविक अर्थमा साझा उम्मेदवारको रुपमा प्रतिनिधि सभामा पठाएको प्रष्ट देखिन्छ । 

अबको जिम्मेवारी 

शर्मासँग स्थानीय क्षेत्रका सवालसँगै परिवर्तनका लागि उच्च तहको राजनीतिमा गर्नु पर्ने महत्वपूर्ण जिम्मेवारीसमेत जोडिएका छन् । संसद बाहिर रहँदासमेत राजनैैतिक प्रभावसहितको आवाज बुलन्द पार्ने युवा राजनीतिज्ञको छवि शर्माले बनाएका छन् । 

सोही छविलाई कायम राख्दै जनताबाट प्राप्त जनादेश बोकेर उनी संसद भवन प्रवेश गर्दै गर्दा जनअपेक्षा अनुसार प्रस्तुत हुन शर्माका लागि चुनौती र अवसर दुबै छ । 

मतदाताका आम समस्यादेखि उनकै शब्दको ‘राजनीतिमा परिवर्तन’ व्यवहारिकरुपमा कार्यान्वयन गराउनु उनी सामु खडा भएका स्थानीय तथा राष्ट्रिय जिम्मेवारी हुन् । 
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर