बहस मूख्यमन्त्रीको, प्रदेश १ मा को बन्ला मुख्यमन्त्री ?

काठमाडौं  । प्रदेश १मा अब मुख्यमन्त्री को बन्ला ? भनेर विभिन्न आँकलन शुरु भएको छ भने मुख्य पार्टीका नेताहरुले सो पदमा दावी पनि गर्दै आएका छन् ।

प्रदेश १मा नेकपा एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ । प्रदेशसभाका ४२ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसक्दा एमालेले १९ सिटमा जित र ६ मा अग्रता बनाएको छ । यस्तै दोस्रोमा कांग्रेसले १२ सिटमा जित र ४ मा अग्रता बनाएको छ ।

माओवादी केन्द्रले ६ स्थानमा जित निकालेको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ । राप्रपाले दुई र नेकपा एसले तीन स्थानमा जित निकालेको छ । सत्ता गठबन्धन हुँदाहुँदै पनि एमालेले प्रदेश १मा आफ्नो प्रभाव जमाइराख्न सफल भएको छ । एमाले यसअघि पनि प्रदेश सभामा ४० सिटसहित ठूलो दलका रुपमा रहेको थियो ।

समानुपातिकतर्फ पनि एमाले ३ लाखभन्दा बढी मत ल्याएर सबैभन्दा अग्रस्थानमा छ । तत्कालीन समयमा ५१ मध्ये १० सांसदले पार्टी छाडेपछि एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल कायम रहे पनि सरकार अल्पमतमा परेको थियो । ०७४ सालको निर्वाचनमा प्रदेश नम्बर १मा प्रत्यक्षतर्फ कूल ५६मध्ये ३६ सिट जितेको एमालेले समानुपातिकमा १५ सिट पाएर ५१ सिटसहित एकल बहुमत पाएको थियो । कांग्रेस प्रत्यक्षमा ८ र समानुपातिक १३सहित २१ सिट पाएर दोस्रो भएको थियो भने माओवादीले प्रत्यक्ष १० र समानुपातिक ५ सहित १५ सिट पाएको थियो ।
प्रत्यक्षमा एक सिट जितेको संघीय समाजवादी फोरमले समानुपातिकमा २ सिटसहित ३ सिट पाएको थियो । ९२ सदस्यीय प्रदेशसभामा पार्टी विभाजनपछि एमाले सरकार ढलेको थियो । त्यसपछि नेकपा एकीकृत समाजवादीको नेतृत्वमा गठबन्धनको सरकार बनेको थियो ।
प्रदेश १ मा सरकार निर्माणका लागि ४७ सांसद आवश्यक पर्छ । तर, प्रदेश १मा कुनै पनि दलले एकल सरकार बनाउने सक्ने अवस्था देखिँदैन ।

मुख्यमन्त्रीको दौडमा को–को ?

प्रदेश १को सरकारको नेतृत्वमा कांग्रेसको दाबी रहने देखिन्छ । गठबन्धनभित्र कांग्रेस ठूलो दल हुनाले नेतृत्वमा आफ्नो दाबी रहने कांग्रेस नेताहरुले बताएका छन् ।

सँगै माओवादीले पनि सरकारको दाबी गदै आएको छ । एकीकृत समाजवादीले पनि सरकारको नेतृत्वमा दाबी गर्ने सम्भावना उत्तिकै देखिन्छ । किनकि अहिले सो पार्टीकै नेतृत्वमा सरकार छ ।

यदि प्रदेश १मा कांग्रेसको नेतृत्वमा सरकार बनेको खण्डमा कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मुख्यमन्त्री प्रमुख दाबेदार हुनेछन् । मुख्यमन्त्री बन्नकै लागि उनी प्रदेशसभामा उठेका हुन् ।

त्यस्तै, भीम पराजुली, हिमाल कार्की, केदार कार्की पनि मुख्यमन्त्रीका दाबेदार हुन् । उनीहरु विजयी भइसकेका छन् । मुख्यमन्त्रीको दाबी गरेका गुरुराज घिमिरे भने पराजित भए । मुख्यमन्त्रीकै आकांक्षी राजीव कोइराला पनि पछि परेका छन् ।

नेपाली कांग्रेस प्रदेश १का सभापति उद्धव थापा समानुपातिक सूचीमा पहिलो नम्बरमा छन् । उनी पनि मुख्यमन्त्रीकै दाबेदारीमा छन् । सत्ता बाडफाँटमा प्रदेश १ को सरकारको नेतृत्व माओवादीको भागमा परेको खण्डमा सो पार्टीका तर्फबाट एक्लो दाबेदारजस्तै छन्– इन्द्रबहादुर आङ्बो ।

माओवादीबाट अहिलेसम्म अरु कसैले मुख्यमन्त्रीको दाबी गरेका छैनन् । समाजवादीको भागमा परे पुनः राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन् । ठूलो दलको हिसाबले एमालेले सरकार बनाउने अवस्था आए एमालेबाट हिक्मत कार्की मुख्यमन्त्री बन्ने छन् । पोलिटब्युरो सदस्य समेत रहेका कार्की यसअघि पनि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा थिए ।

आगामी मुख्यमन्त्री आफू बन्ने नारा लिएरै उनी चुनावमा गएका थिए । सो पार्टीबाट मुख्यमन्त्रीको दाबी गरिरहेका जीवन घिमिरे पराजित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर