• २०८२ जेठ २० मंगलबार
  • Tuesday, 3 June, 2025

संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डेकाे बढुवा

काठमाडौं । संसद सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डेको सचिवमा बढुवा भएका छन् । बढुवा सिफारिस समितिको सिफारिस अनुसार बुधबार बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

समितिको अध्यक्ष सभामुख हुने व्यवस्था भए पनि अहिले सभामुख नभएको अवस्थामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले गरेका हुन् । समितिको सदस्यमा उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, महासचिव, प्रतिनिध सभाको सचिव, राष्ट्रिय सभाको सचिव सचिवालय सचिव (संसदीय अध्ययन तथा अनुसन्धान) र सदस्य सचिव सचिवालय सचिव प्रशासन रहने व्यवस्था  रहको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताम रहेको सचिव बढुवा सिफारिस समितिले ३ जना सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा पाण्डेसँगै सहसचिव सुरजकुमार दुरा र मनोजकुमार गिरीको नाम सिफारिस भएको थियो । उनीहरुमध्ये बरिष्ठताका आधारमा पाण्डे सचिवमा बढुवा भएका हुन् ।

बढुवा समितिको सदस्यमा संघीय संसद सचिवालयका महासचिव, सचिवमध्येबाट सभामुखले तोकेको सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, लोक सेवा आयोगको अध्यक्षले मनोनीत गरेको सम्बन्धित विषयको विशेषज्ञ सदस्य रहने व्यवस्था छ भने सचिवालय सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

सचिवमा बढुवा भएका डा।पाण्डे सचिवालयका प्रवक्तासमेत रहेका थिए । ध्रुव घिमिरेले राजीनामा दिएपछि संसद सचिवालयमा एक सचिव रिक्त रहेको थियो । पाण्डेले बिहीबार सचिवको जिम्मेवारी सम्हाल्ने संसद सचिवालयका सहप्रवक्तासमेत रहेका उपसचिव दशरथ धमलाले  जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर