• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

ग्यास सिलिण्डर कै कारण जाेखिम बन्दै भान्छा

काठमाडाै‌ । पछिल्लाे समय ग्यास सिलिण्डर विष्फाेटका घटनाहरु बढ्दै गएका छन् । पहुँच र आर्थिक लाभका आधारमा उद्योगीमाथि कारबाही नगर्दा यस्ता घटनामा निर्दोष जनता मारिने क्रम जारी रहेकाे हाे । 

हरेक भान्छामा पुराना सिलिण्डर भएका कारण पनि अधिकाँश घटनाहरु दाेहाेरीएका छन् । उद्याेगीहरुकाे लापरबाहीलाई राज्यले मुकदर्शक भएर हेदिँदा यस्ता घटनाहरु बढ्दै गएका छन् ।

केही प्रतिनिधिमूलक घटनाहरु

 ०७४ जेठ ७ गत  ललितपुर उपमहानगरपालिका–१९ हौंगल टोलको इताछेंमा तामा तथा पित्तलको पाता जोड्ने पसलमा एचपी ब्रान्डको सिलिन्डर पड्किँदो सुरेश ताम्राकारसहित तीन जनाको मृत्यु भयो ।

२०७४ साल पुस ५ गते वीरगञ्जको पटेलनगरस्थित सुपर ग्यास उद्योग परिसरमा ग्यास लिकेज भएर आगलागी हुँदा आगो नियन्त्रक कर्मचारी मधुसुदन मिश्र, यादव अधिकारी र सञ्जिव नेपालको ज्यान गयो । उद्योगले गम्भीर प्रकृतिको त्रुटी गरे पनि यो घटनामा राज्यले कारवाही वापत पिडिओ रोक्का गर्ने सामान्य कारबाही मात्रै गर्यो ।
०७५ भदौ २६ गते काठमाडौं ज्याठाका सुमन स्थापितको भुइँतलामा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदासात जना घाइते भएका थिए । पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काबाट सिलिन्डरमा आगलागी भएको थियो । उक्त घरमा राखिएका ८० वटा अक्सिजन सिलिन्डरमध्ये २५ वटा पड्किएको थियो ।

०७८ कात्तिक १९ गते ललितपुर–१२ मंगलबजारमा ग्याँस सिलिन्डर पडकिँदा घरधनी लक्ष्मीकृष्ण ताम्राकारसहित चार जनाको ज्यान गयो । उक्त घटनामा पाँच जना गम्भीर घाइते भए ।

०७९ वैशाख ८ गते  ललितपुर–१५ को औद्योगिक क्षेत्रस्थित सगरमाथा ग्यास प्लान्टमा अक्सिजन सिलिन्डर भर्ने क्रममा ग्यास लिक भएर सिलिन्डर बिस्फोट हुँदा बृजमोहन महतोसहित दुई जनाको मृत्यु भयो ।

०७८ चैत २० गते बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित मीनबहादुर तामाङको घरमासाँझ खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा तामाङका १० वर्षीय छोरा इशाकसहित तीन बालबालिकाको ज्यान गयो ।

०७८ सालमा काठमाडौंको कालिमाटीमा पानीपुरी पकाइरहेको अवस्थामा सिलिन्डरको भल्ब लिक भएर पड्किँदा भारत मोतिहारीका व्यवसायी विकु पण्डितसहित दुई जनाकोे ज्यान गयो । उक्त घटनामा दर्जनौँ घाइते भए ।

०७९ जेठ २१ गते शनिबार खाना पकाउने सिलिन्डर पड्किँदा तनहुँमा एक बालिकाको मृत्यु भयो । उक्त घटनामा भीमाद नगरपालिका–९ च्यानडाँडाका शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्रीको मृत्यु भएको थियो । सिलिन्डरमा अचानक आगलागी भएको थियो ।

०७९ जेठ २२ गते आइतबार काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्यांकी वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा दुई जना घाइते भए । इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर–३ का ३० वर्षीय किशोरी साह र १८ वर्षीय दिपककुमार साह घाइते भएका थिए । 

०७९ असोज ५ गते बुधबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा इलाइट हिमालयन एडभेञ्चरको कार्यालयमा रहेको पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौंको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पाको मृत्यु भयो ।  उक्त घटनामा काठमाडौंको कपनका २८ वर्षीय कुशल बुढाथोकीको दायाँ हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेको थियो । 

२०७९ फागुन ४ गते ग्यास सिलिण्डर विष्फोट कै कारण पछिल्लो समय नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममा मृत्य भएको छ । डा. भण्डारीलाई उपचारको क्रममा मुम्बई लगिएको छ ।

यसै गरी  दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा ग्यास सिलिण्डर विस्फोट हुँदा दुतुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइतेभएका छन् ।

तुलसीपुर–१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिण्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ ।

यी प्रतिनिधिमूलक घटना मात्र हुन् । यसअघि पनि विभिन्न समयमा ग्याँसको सिलिन्डर पड्केर सर्वसाधारणको ज्यान गएको दर्जनौँ घटना भइसकेका छन् । अति उच्च प्रज्ज्वलनशील पदार्थ ग्याँस पड्केर आगलागीबाट क्षति हुने घटना अझै दर्जनौँमा छन् । उद्योगी तथा उपभोक्ता स्वयंको लापरबाहीले ग्यास सिलिन्डर पड्किएर थुप्रै हृदय विदारक घटना हुने गरेका छन् ।

यस्ता घटना वारम्बार दोहोरिनुमा जति उद्योगी जिम्मेवार छन् त्योभन्दा बढी राज्य दोषी छ । राज्य सधैँ घटना भएपछि मात्र गहिरो निद्राबाट ब्युँझन्छ । चौतर्फी दबाब बढ्दै गएपछि केही दिन निकै हाटहुट पनि गर्ने गर्छ । बिस्तारै नियमनकारी निकाय फेरि सेलाउँछ । राज्यले गल्ती गरेको थाहा हुँदाहुँदै पनि पहुँच र आर्थिक लाभका आधारमा उद्योगीमाथि कारबाही नगर्दा यस्ता घटनामा निर्दोष जनता मारिने क्रम जारी रहेको छ ।

के छ सिलिन्डर उत्पादन गर्ने मापदण्ड ?

‘स्टान्डर्ड अफ एलपिजी बोटलिङ अपरेसन’ मापदण्डका अनुसार ग्यास भरिएका सिलिन्डर उत्पादन गर्ने उद्योगले सुरुमा १०÷१० वर्षमा, त्यसपछि पाँचरपाँच वर्ष र त्यसपछि तीन÷तीन वर्षमा सिलिन्डरको हाइड्रोस्टेटिक परीक्षण गर्नुपर्छ ।

तोकिएको मापदण्डअनुसार सिलिन्डरको पाताको बाक्लोपना हुनुपर्छ । फुटरिङ बलियो हुनुपर्छ । नियमित रूपमा सिलिन्डरको हाइड्रोलिक परीक्षण गर्नुपर्छ । बोटलिङ प्लान्टमा काम गर्ने कामदार उपकरण सञ्चालनको विषयमा दक्षता प्राप्त गरेको हुुनुपर्छ ।

सिलिन्डरमा सेफ्टी क्याप अनिवार्य लगाएको हुनुपर्छ । सिलिन्डर कुच्चिएको र लेदो नजमेको हुनुपर्छ । भल्भलाई मर्मत सम्भार गरी प्रयोग गर्न पाइँदैन । गुणस्तरीय भल्ब नै जडान गरेको हुनुपर्छ । भल्ब लिकेज भए नभएको नियमित परीक्षण गर्नुपर्छ । भल्ब परिवर्तन गर्दा प्रति २० किलो ‘ट्रोयुक प्रेसर’ उपकरणको सहयोगमा परिवर्तन गर्नुपर्नेछ । सिलिन्डर उत्पादन गर्दा र उत्पादित सिलिन्डर खरिद गर्ने क्रममा कम्पनीको नाम, लोगो, एनएस चिन्ह, हाइड्रोस्टाटिक परीक्षणको मिति र पुनः परीक्षणको मिति बुझिने भाषामा प्रष्ट रूपमा सिलिन्डरमै उल्लेख गरेको हुनुपर्छ ।

उद्योगीले ग्याँस रिफिल गर्दा ५० ग्राम स्केलको मापदण्ड अबलम्बन गर्नुपर्छ । विभागको पेन्ट्स मापदण्ड ३ सय ६९ अनुसार सिलिन्डरको रङ हुनुपर्ने र रिफिल गरेको ग्याँस सिलिन्डर स्टोर गर्दा दुई तहभन्दा बढीको चाङमा लगाएर राख्न नपाइने व्यवस्था गरिएको छ ।

सिलिन्डर सुरक्षित बनाउन पनि सकिन्छ 

डिलरले घरमा ल्याइदिएको ग्यासमा चुहावट छ वा छैन भनेर सिलिन्डरको क्याप झिकेर केहीबेर पानी हाल्ने । लिकेज भएको अवस्थामा पानीको फोका आउन सक्छ । त्यस्तो भेटिएको पाइएमा तत्कालै बाहिर खुला स्थानमा राखेर डिलरमै फिर्ता लान सम्पर्क गर्ने ।

सिलिन्डरलाई गुडाउनु हुन्न । सुताएर, कोल्टो पारेर वा घोप्टयाएर सिलिन्डर राख्नुहुन्न । भान्छामा सिलिन्डर सधैँ ठाडो बनाएर मात्रै राख्ने । रेगुलेटर, पाइप, चुल्हो र वासर रबर सकेसम्म नापतौल तथा गुणस्तर विभागले तोकेको गुणस्तर प्रमाणपत्र पाएको कम्पनीको मात्रै प्रयोग गर्ने । रेगुलेटर, पाइपजस्ता संवेदनशील उपकरण दुई÷दुई वर्षमा फेर्नुपर्छ ।

शरीरमा सुति कपडा लगाएर भान्छा कोठाको झ्याल ढोका खुला गरी खाना पकाउने । खाना पकाइसकेपछि रेगुलेटर बन्द गर्ने । लाइटर र सलाई सुरक्षित स्थानमा राख्ने । चुल्हो र सिलिन्डरबीच कम्तिमा डेढ मिटरको दुरी कायम गरी सिलिन्डरभन्दा कम्तिमा एक मिटरको उचाइमा चुलो राख्ने ।

ग्यास लिक भएको गन्ध आउनेबित्तिकै आगोको झिल्का निस्कने चुलो, लाइटर, सलाइ, बिजुलीको प्लग, धूपजस्ता कुनै पनि बस्तु चलाउनु हुन्न । लिक भएको थाहा पाएलगत्तै रेगुलेटर र चुलोको स्वीच बन्द गर्ने । सिलिन्डरमा भएको सुरक्षा क्याप लगाएर खुला ठाउँमा बाहिर राख्ने र घरमा भरिएको ग्याँस सिलिन्डरको अनावश्यक रूपमा भण्डारण नगर्ने । कुनै कारणले आगलागी भइहाले मोटो बाक्लो कपडाले सिलिन्डरलाई मज्जाले छोप्नाले आगो फैलने खतरा टर्ने भएकाले यसलाई पनि व्यवहारमा ल्याउन सकिन्छ ।

क्षतिपूर्ति एक करोडसम्मखाना पकाउने ग्याँस सिलिन्डर बिस्फोट भएर दुर्घटनामा परी मृत्यु हुने, भौतिक पूर्वाधारमा क्षति हुने र घाइते हुने पीडित पक्षको हकमा दुर्घटनावापत प्रतिदुर्घटनावापत बिमामार्फत एक करोड रुपैयाँसम्मको क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था एलपी ग्यास उद्योग संघले गरेको छ ।

मापदण्डअनुसार एउटा घटनामा सिलिन्डर पड्केर अधिकतम पाँच जनासम्मको मृत्यु भएमा प्रति मृतकलाई जनही १० लाखका दरले पाँच जनालाई ५० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिने व्यवस्था छ । दुघर्टनामा परी भौतिक पूर्वाधारमा क्षति भएको अवस्थामा अधिकतम ४० लाख र दुघर्टनामा परी घाइते हुनेको हकमा स्वास्थ्य संस्थाको बिलको आधारमा उपचार खर्चबापत १० लाख रुपैयाँसम्मको क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था छ ।

यसरी हेरौँ सिलिन्डरको म्याद

भान्छामा ग्याँस सिलिन्डरको प्रयोग भइरहे पनि यसको म्यादको बारेमा अधिकांश अनभिज्ञ छन् । सिलिन्डरको घाँटीमा जडान गरिएको तीन वटा पातामा सांकेतिक अक्षरहरू उल्लेख हुन्छन् । यसबाट सिलिन्डरको म्यादको बारेमा पत्ता लगाउन सकिन्छ । सिलिन्डरको घाँटीमा ए, बी, सी र डीसँगै १४, १५, १६, १७, १८, १९, २० लगायतका अंक उल्लेख गरिएको हुन्छ ।

सिलिण्डरको कुन संकेतले के भन्छ ?

ग्यास उद्योगहरूले १२ महिनालाई समेटेर तीनरतीन महिनामा वर्गीकरण गरी चार भागमा विभाजन गरेका हुन्छन् । ‘ए’ लेखिएको अंकले वर्षको पहिलो तीन महिना जनवरी, फेबु्रअरी र मार्चलाई जनाउँछ । ‘बी’ ले अप्रिल, मे र जुन महिना, ‘सी’ ले जुलाइ, अगस्ट र सेप्टेम्बर तथा ‘डी’ अक्षरले अक्टोबर नोभेम्बर र डिसेम्बर महिनालाई संकेत गर्छ । यसैगरी ए, बी, सी, डीसँगै हुने अंकले भने वर्षलाई जनाउँछ । जस्तै बी–२५ लेखिएको छ भने त्यो सिलिन्डरको म्याद सन् २०२५ को जुन महिनामा एक्सपायर हुन्छ भन्ने बुझ्नुपर्छ ।

प्राय सिलिन्डरमा दिएको संकेत बुझ्न नसक्दा ग्यास बिस्फोट हुने गरेको छ । कतिपयलाई त यस्ूता विषयलाई कहिले पनि ध्यान दिएको पाइन्न । ग्यास  प्रयोगकर्ताले होस नपुर्याएका कारणले पनि ग्यास सिलिण्डर विष्फोट हुने गरेको पाइन्छ । 

हतपतको काम लतपत हुन्छ भने झैं ग्यास सिलिण्डरको म्याद गज्रने समय प्राय कसैले हेर्नेै गरीन्न र खासै ख्याल गरीएको हुँदैन । तर, एलपिजी ग्याँसको सिलिण्डरको पनि अन्तिम मिती तोकिएको हुन्छ।

प्रश्न यो रहन्छ कि यो फलामको भाँडोको पनि अन्तिम मिती हुन्छ र ? सिलिण्डरको मिती एक्सपाइरसंगै खतरा बढ्न सक्छन् । कुनै कारणबिना नै ग्यास लिक हुनु एउटा समस्या हो । कारण सिलिण्डर बिस्फोट पनि हुन सक्छ । त्यसैले सिलिण्डरको अन्तिम मिती सिद्धिएपछि त्यसलाई कदाचित प्रयोग गर्नुहुँदैन । त्यसैले आफ्नो सिलिण्डरको अन्तिम मिती जाँच गर्नु पर्छ र अर्को पटक ग्यास किन्दा अन्तिम सिलिण्डरको  मिती हेर्न भुल्न हुँदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर