• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

सदस्य सचिव वाग्लेलाई पुनर्बहाली सँगै कोशी खेलकुदले गर्यो स्थगित खेलको नयाँ तालीका

काठमाडाैं । प्रदेश खेलकुद विकास बोर्ड कोशीले निर्णय भएर अन्योलमा रहेका प्रतियोगिताको नयाँ मिति तय गरेको छ ।  उच्च अदालत मोरङले बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पुनर्बहाली गर्न प्रदेश सरकारलाई आदेश दिएपछि प्रतियोगिताको तालिका र मिति तय भएको हो 

यसअघि निर्णय भएका रकम विनियोजन र मिति तय भइसकेका आधा दर्जन प्रतियोगिताका सदस्य सचिव बर्खास्तका कारण अन्योलमा रहेका थिए । खेलकुद विकास बोर्डको गत चैत १६ गते प्रदेशका विभिन्न जिल्लामा खेलकुदका प्रतियोगिता आयोजना गर्ने र प्रतियोगिताका लागि २ करोड बजेट छुट्याएको थियो ।

प्रदेश सरकारले बोर्डको बैंक खाता रोक्का गर्दै सदस्य सचिव वाग्लेलाई हटाएपछि जेठ मसान्तभित्र गरिसक्नुपर्ने उक्त प्रतियोगिताहरु अनिश्चित बनेका थिए । नयाँ तालिका अनुसार जेठ २९ गतेदेखि ३२ गतेसम्म मुख्यमन्त्रीकप महिला रात्रिकालीन भलिबल प्रतियोगिता हुनेछ । इटहरीमा हुने सो प्रतियोगिताका लागि बोर्डले २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

जेठ ३१ र ३२ गते महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको छ । बोर्डले महिला तालिमका लागि १० लाख रुपैयाँ छुट्याएको छ । 

त्यस्तै, असार ४ गतेदेखि ९ गतेसम्म मुख्यमन्त्रीकप पुरुष फुटबल प्रतियोगिता गर्ने निर्णय भएको छ । ओखलढुंगामा हुने सो प्रतियोगिताका लागि बोर्डले ३० लाख रुपैयाँ छुट्याएको छ ।

बोर्डले प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता असार १३ गतेदेखि १५ गतेसम्म र राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता असार १३ गतेदेखि १६ गतेसम्म गर्ने निर्णय गरेको छ । उदयपुरमा हुने बक्सिङलाई १५ लाख र विराटनगरमा हुने सफ्ट टेनिसलाई २५ लाख रुपैयाँ बोर्डले छुट्याएको छ ।

त्यस्तै, राष्ट्रिय पौडी प्रतियोगिता असार १८ गतेदेखि २० गतेसम्म र प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता असार २२ गतेदेखि २४ गतेसम्म हुने मिति तय गरिएको छ । इटहरीमा हुने पौडी र भोजपुरमा हुने तेक्वान्दोलाई समान १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मोरङ र सुनसरीमा हुने अपांगता भएका व्यक्तिहरुका लागि पारा ओलम्पिक प्रतियोगिताको भने मिति तय भएको छैन । पारा ओलम्पिकका लागि २५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर