• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

पेमेन्ट गेटवे सिस्टम अनियमिततामा मुछिए मुख्य सचिव अर्याल

काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद गर्दा करोडौं रुपियाँ अनियमितता भएको विषयमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालसमेत मुछिएका छन् । 

पेमेट गेटवे खरिदमा भएको अनियमितता छानबिन गर्दै आइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो विषयमा मुख्य सचिव अर्याल जोडिएको हुन सक्ने भन्दै उनिमाथि समेत छानबिन गर्ने भएको हो । यस प्रकरणमा मुख्य सचिव अर्यालसँग छिटै बयान लिइने तयारी गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

आयर्यालले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव रहँदा पेमेन्ट गेटवे खरिद प्रक्रियामा सामान भुक्तानी गर्दा तथा स्रोत सुनिश्चितताका क्रममा मिलेमतो गरेका केही प्रमाणहरू भेटिएपछि त्यसको वास्तविकता बुझ्न मुख्य सचिव अर्यालसँग बयान लिन समाचार पत्र दैनिकले खबर छापेको छ ।

उक्त पत्रिका अनुसार त्यति नै बेला सञ्चार सचिव रहेका अर्यालले पेमेन्ट गेटवे खरिदका लागि ८९ करोड आवश्यक पर्ने भन्दै स्रोत सुनिश्चिता गर्न भन्दै अर्थ मन्त्रालयमा आफैं प्रस्तावसमेत लगेका थिए । अर्यालले आफ्नै संयोजकत्वमा समिति बनाएर प्राविधिक अध्ययनबिना नै पेमेन्ट गेटवे खरिदका लागि ८९ करोड आवश्यक पर्ने भन्दै प्रस्ताव लगेर अर्थ मन्त्रालय गएका थिए ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मातहत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले पेमेन्ट गेटवे निर्माणका क्रममा सामान खरिद गर्दा ठूलो अनियमितता भएको विषयमा अख्तियारले केही समयदेखि छानबिन गर्दै आइरहेको छ ।

 अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक रहेका र हालका नेपाल टेलिकमका प्रबन्ध निर्देशक रहेका सुनील पौडेललगायत खरिद प्रक्रियामा संलग्न सबैसँग गेटवे पेमेन्ट खरिदमा भएको अनियमितताका बारेमा पटक पटक बयान लिइसकेको छ ।

यस प्रकरणलाई छिटोभन्दा छिटो टुंग्याउने गरी अख्तियारले छानबिन र अनुसन्धानलाई तीव्रता दिँदै आएको बताइएको छ । सूचना प्रविधि केन्द्रका निर्देशक समितिका अध्यक्ष सञ्चार सचिव रहने प्रावधानअनुसार अर्याल त्यति बेला सञ्चार सचिवको हैसियतले निर्देशक समितिका अध्यक्ष रहनुभएको थियो । अर्याललाई फेरी बयानमा बोलाउने तयारी गरेको छ ।

अख्तियार स्रोतका अनुसार पेमेन्ट गेटवे खरिद प्रक्रियामा अनियमितता भएका धेरै तथ्यहरू आइरहेका छन्, खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न भएकाहरूले गरेको अनियमितता खुलिसकेको छ । अर्यालले निर्देशक समितिको अध्यक्षको हैसियतले पौडेललाई नजिकबाट रहेर सघाएको स्रोतको दाबी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर