• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

‘दुर्गा प्रसाईँ’को ८ करोडको गाडीमा ओलीको सङ्कल्प यात्रा 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुरुमा किनेको उनको प्यारो गाडीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्रा सुरु गरेका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र ओलीबीचको सम्बन्ध राम्रो भएका बेला ओली सधै त्यही गाडी चढ्थे।  

व्यवसायी प्रसाईँले आफ्नो यही गाडीमा अध्यक्ष ओलीलाई घुमाउने गरेका थिए। त्यसो त प्रधानमन्त्री दाहाललाई पनि प्रसाईँले यसअघि विभिन्न समयमा यही गाडीमा घुमाएका थिए। अहिले यो गाडी विभिन्न तरिकाले किनबेच भएर फेरी अध्यक्ष ओलीसम्म आइपुगेको छ। ओलीका लागि सङ्कल्प यात्राका लागि भरपर्दो सवारी साधन बनेको छ।  

दुई वर्ष अघि अर्थात् ८ कात्तिक २०७८ मा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ ठूलै तामझामका साथ एमाले प्रवेश गर्दै थिए।  

त्यही दिन प्रसाईँलाई प्रवेश गराउन नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भद्रपुर विमानस्थल ओर्लिदा स्वागत गर्न मेडिकल व्यापारी दुर्गा प्रसाईँ पनि पुगेका थिए।  

विमानस्थलमा ओलीलाई स्वागत गर्न प्रसाईँ आफ्नै गाडी लिएर पुगेका थिए। प्रसाईँको करिब ८ करोड रुपैयाँको गाडी अध्यक्ष ओलीको सयरका लागि विमानस्थलमा राखिएको थियो। प्रदेश ३–०१ २४ च र १०१ नम्बरको गाडी प्रसाईँले पार्टीका अध्यक्षलाई चढाउनका लागि खरिद गरेका थिए।  

एमालेको सङ्कल्प यात्रामा अध्यक्ष ओलीका लागि तयारी अवस्थामा राखिएको गाडी ।

सामान्यतया प्रमुख प्रतिपक्षी दलका नेता जिल्ला आउँदा स्थानीय प्रशासन वा प्रदेश सरकारले गाडी उपलब्ध गराउने व्यवस्था छ। तर, ओलीको स्वागतमा प्रसाईँको गाडी तम्तयार थियो, विमानस्थल बाहिर स्कर्टिङ सुरक्षा राखिएको थियो।  

त्यहीँ गाडीमा ओलीले गृह जिल्लामा झापामा पुगे। भद्रपुर–१ स्थित पृथ्वी नगरमा पिता मोहन ओलीलाई भेट्नेदेखि बिर्तामोडमा पार्टी प्रवेश कार्यक्रमसम्म ओली प्रसाईँको गाडीमा सहभागी भए।  

‘८ करोडको गाडी, वन पिस गाडी मैले मात्र चढ्छु। अहिले अध्यक्ष ओलीज्यूलाई चढ्नलाई दिएको हुँ ’, उनले त्यति बेला भनेका थिए। उनी एमालेमा प्रवेश गर्नुअघि त्यही गाडीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि चढेका थिए। माओवादीमा हुँदा प्रसाईँले दाहाललाई त्यही गाडी चढाएका थिए।  

यति बेला नेकपा एमाले झुला घाट–चिवाभञ्ज्याङ २१ दिने लामो सङ्कल्प यात्रा सुरु भइरहेको छ। त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। समृद्धिको लागि सङ्कल्प यात्रामा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुरुमा खरिद गरेर नेताहरूलाई चढ्न दिएको गाडी नै प्रयोग भएको छ।  

एमाले नेताहरूको अनुसार राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष अमित लामाले प्रसाईँसँग त्यो गाडी खरिद गरेका थिए। लामा र प्रसाईँ व्यापारिक साझेदार रहेको र त्यसमा लामाको पैसा प्रसाईँले तिर्न नसकेपछि त्यही गाडी पास गरिदिएका थिए।

‘एमालेको सङ्कल्प यात्रामा बलियो र भरपर्दो गाडीको खोजी गर्दा अमितजीको गाडी फेला परेको अरुचाहि हामीलाई थाह भएन,’एमालेका एक पदाधिकारीले भने। यात्रामा युवा सङ्घका पदाधिकारीहरू पनि छन्। एमालेको यो अभियानभर यही गाडी प्रयोग हुने बताइएको छ। अभियान उद्घाटनको क्रममा ओली सोही गाडी चढेर कार्यक्रम स्थल पुगेका थिए।  

बिहीबार बिहान बैतडीको झुलाघाटमा नेपालको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी यात्रा शुभारम्भ गर्दै ओलीले झुला घाटबाट सुरु  गरिएको यात्रा पूर्वको चिवाभञ्ज्याङमा पुगेर पुस १ गते टुङ्गिने बताएका थिए । -नागरिक दैनिक

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर