• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

दशैंको मुखमा बजारमा चिनीको अभाव, १ केजी चिनीका लागि दिनभर लाइन !

काठमाडौं । दसैँको मुखमा बजारमा उपभोक्ताले चिनी किन्न पाएका छैनन् । सरकारले बेलैमा अनुदानको चिनी आयात नगर्दा दसैँको मुखमा चिनी नपाएका हुन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको सहुलियत मूल्य पसलमा समेत चिनी छैन । उद्घाटनको दिनमा साल्ट टे«डिङ कर्पोरेसनसँग चिनी प्रतिकेजीको ९७ रुपियाँमा किनेर ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गरेको खाद्य कम्पनीले सहुलियत पसल सुरु गरेको चौथो दिनदेखि भने सकियो भन्दै बिक्री गर्न छोडेको छ ।

यता साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकाका आफ्ना बिक्री केन्द्रबाट प्रतिकेजी ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीसम्म चिनी उपलब्ध गराउँछन् तर त्यो चिनी किन्नका लागि उपभोक्ताले एक दिन पूरै माया मार्नु पर्छ ।

कालीमाटीको साल्ट टेडिङमा चिनी किन्न कीर्तिपुर चोभारबाट आउनुभएका विमला महर्जन र उहाँका दुई जना साथीले दुई केजी चिनी किन्न दिनै माया मार्नु प¥यो । शुक्रबार १० बजे चिनीका लागि लाइन बस्नुभएका उहाँहरूले दिउँसो २ बजे मात्रै दुई केजी चिनी किन्ने पालो आयो । पैसा तिरेर किन्न पनि दिनभरि लाइन बस्नुपर्ने, के भो देशमा यस्तो ?” महर्जनले सुस्केरा हाल्दै भन्नुभयो । उपभोक्ताले खुला बजारमा १५० रुपियाँ तिर्दा पनि चिनी नपाएपछि दिन फालेरै भए पनि सरकारले सञ्चाालन गरेको साल्ट टे«डिङमा प्रतिकेजी ९७ रुपियाँको चिनी किन्न लाइन बस्न बाध्य छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सरकारको गैरजिम्मेवारपनले गर्दा अहिले चिनीमा उपभोक्ताले दुःख पाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “अहिले यो अवस्था आउँछ भनेर नै सरकारलाई असारदेखि नै अनुदानको चिनी खरिदका लागि झक्झाउँदै आएको तर सरकारले कानमा तेल हालेर बस्यो, नागरिक दुई केजी चिनीका लागि दिनभरि भोकतिर्खा नभनी लाइन बस्न बाध्य भए ।

 

सरकारले २० हजार टन चिनी खरिदको अनुमति दिनु रहेछ त बेलैमा दिएको भए त अहिले नागरिकले यो अवस्था भोग्नु पथ्र्यो ?” प्रश्न गर्दै उहाँले भन्नुभयो, “नागरिकप्रति जिम्मेवार भएको भए पो चासो, अहिले बजारमा चलेको लुट हेर्दा देशमा सरकार भएको आभास गर्न सकिएको छैन । साल्ट ट्रडिङ कर्पोरेसनका अनुसार कर्पोरेसनले चिनी, तेल, नुन, चामल, दाल, चिउरालगायतका छुटमा बिक्री गरे पनि धेरै जसो उपभोक्ता चिनीकै लागि भिड लाग्ने गरेका छन् । कर्पोरेसनका बिक्री प्रबन्धक शाखाका प्रमुख प्रज्वल प्रधानले कर्पोरेसनमा किन्न आउने ६० प्रतिशत उपभोक्ता चिनी मात्रै किन्नका लागि आउने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार कर्पोरेसनमा हाल भएको मौज्दात रहेको चिनी सकिने अवस्थामा पुगेको छ ।

 

खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खाद्य कम्पनीले साल्ट टे«डिङसँग दुई पटक गरेर खरिद गरेको ३५ क्विन्टल चिनी तीन दिनमै सकिएको जानकारी दिनुभयो । चिनी राखेपछि बिक्री केन्द्रमा चिनीकै लागि मात्रै बढी भिड लागेको र खाद्य कम्पनीका आफ्ना चामल, दाल, गेडागुडी बिक्री गर्न झनै ‘डिस्टर्ब’ भएकाले दसैँअघि कम्पनीले चिनी बिक्री नगर्ने उहाँको भनाइ छ । चन्दका अनुसार कम्पनीले दाल, चामलबाहेक मङ्गलबारदेखि खसीबोका बिक्री गर्नुपर्ने भएकाले चिनी बिक्रीका लागि अहिले जोड गरेका छैनौँ ।

बहुराष्ट्रिय कम्पनीको चिनी सापटी लिने तयारी

सरकारले दसैँतिहार र छठमा उपभोक्तालाई चिनी अभाव हुन नदिन २० हजार मेट्रिक टन आपूर्ति गर्ने प्रयास थालेको छ । चिनी उद्योगीले व्यापारीलाई बेचिसकेको तर उद्योगको गोदामै भएको चिनी सापटी लिएर भए पनि बजारमा बिक्री गर्ने सरकारको योजना छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलवालले बजारमा चिनीको अभाव भएर मूल्य बढेपछि दसैँअघि अनुुदानको चिनी आउने आशा टरेपछि उद्योगीले बिक्री गरेको चिनी सापटीमा माग्न सुरु गरेको जानकारी दिनुभयो ।

 

उहाँले भन्नुभयो, “अहिले पेप्सी, कोकाकोला तथा केही बिस्कुट उद्योगीले खरिद गरेर चिनी उद्योगमा करिब १० हजार मेट्रिक टन मौज्दात गरेर राखेका छन् । सोही १० हजार टन चिनी सरकारले लिएर बजार पठाउने विषयमा पेप्सी, कोकाकोलालगायतका कम्पनीसँग कुराकानी भइरहेको छ, एक/दुई दिनमै बजारमा चिनी पाइन्छ । उहाँले ती उद्योगको गोदाममा रहेको चिनी व्यवसायीबाट किनेर उपभोक्ताकहाँ पठाउन सम्बन्धित कम्पनीसँग छलफल भइरहेकाले तत्काल एक हजार मेट्रिक टन चिनी बजारमा पठाइने जानकारी दिनुभयो विभागका महानिर्देशक चिलवालका अनुसार उक्त चिनी तत्काल साल्ट टे«डिङमार्फत खरिद गरेर बजारमा पठाउँछौँ । यो चिनी बजारमा पाइनेभन्दा उच्च गुणस्तरको भएकाले तुलनात्मक रूपमा अहिलेको कर्पोरेसनले बिक्री गर्दै आएको चिनीभन्दा १५÷२० रुपियाँ महँगो भने पर्ने उहाँको भनाइ छ ।

उद्योगीसँग चिनी मौज्दात छैन

नेपाल चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले स्वदेशी चिनी उद्योगसँग बजार पठाउनका लागि मौज्दात चिनी नरहेको जानकारी दिनुभयो ।

हाम्रो गोदाममा करिब १० हजार मेट्रिक टन चिनी छ तर त्यो बिक्री भइसकेको हो,” उहाँले भन्नुभयो, “कोकाकोला, पेप्सीजस्ता बहुराष्ट्रिय कम्पनीले खरिद गरेर भुक्तानी गरिसकेको चिनी हो, त्यसमा हामीले केही बोल्न सकिँदैन, खरिदकर्ता कम्पनीले चाहे मात्र सम्भव छ । गत वैशाखमै चिनीको मौज्दात सकिँदै गर्दा अभाव हुन सक्छ भनेर सरकारलाई सूचना दिए पनि बेवास्ता गर्दा अहिलेको स्थिति सिर्जना भएको उहाँको भनाइ उहाँका अनुसार वैशाखमै करिब ४० हजार मेट्रिक टन चिनी आयात गर्न सुझाव दिएका थियौँ । सरकार त्यति बेला गम्भीर नहुँदा अहिले समस्या आएको हो ।

यता दुई सरकारी कम्पनी साल्ट टेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समेत १०/१० हजार मेट्रिक टन चिनी आयातका लागि प्रक्रिया थालेका छन् । दुवै कम्पनीले असोज १० मा टेन्डर आह्वान गरेका हुन् तर लामो टेन्डर प्रक्रियाका कारण यो परिमाणको चिनी दसैँतिहारअघि आपूर्ति गर्न गाह्रो हुने देखिन्छ । अहिले बजारमा चिनीको अभाव हुँदा कालो बजारीसमेत बढेको छ । जस कारण खुद्रा व्यापार सङ्घले चिनीको आधिकारिक मूल्य सार्वजनिक गर्न पनि सकेको छैन । गोर्खापत्र दैनिक

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर