दावाकाे बयान: `माओवादी नेतासंग पारिवारिक सम्बन्ध मात्रै हाे´
काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका आराेपी चिनियाँ नागरिक लावा छिरिङले माओवादी नेताहरुसंग आफ्नाे सम्बन्ध पारिवारिक मात्रै रहेकाे बयान दिएका छन्।
सीआइबीको हिरासतमा रहेका तिब्बती मूलका बेल्जियन नागरिक छिरिङले माओवादी केन्द्रका नेता वर्षमान पुनः र पूर्व उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ)सँग आफ्नो पारिवारिक सम्बन्धमात्रै रहेको बयान दिएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सीआइबीले बुझाएको दावाको बयानमा उनले माओवादी नेतासँग श्रीमतीको माइती भएको कारण पारिवारिक सम्बन्धमात्रै रहेको बताएका छन् ।
सीआइबीले गरेको ७१ सवालजवाफमा दावाले माओवादी केन्द्रका नेता वर्षमान पुनसँग विशुद्ध पारिवारिक सम्बन्धमात्रै रहेको बयान दिएका हुन् । सीआइबीले आफ्नो सवाल जवाफमा दावाकाे यस्ताे छ जवाफ:
सवाल ५१ :
तपाई र नेपालका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ)बीच सम्बन्ध रहेको भनी तपाई र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ सँगै रहेको फोटो सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा आएको हुँदा तपाई र पूर्व उपराष्ट्रपति नन्दकिशोर पासाङबिच के कस्तो सम्बन्ध रहेको छ ? खुलाउनुहोस् ।
जवाफ ५१ :
मेरो श्रीमती अमला रोका मगरको माइती रोल्पा जिल्लामा भएको र नेपालका पूर्व उपराष्ट्रपति नन्दकिशोर पासाङको घरसमेत रोल्पा जिल्लामा भएका कारण म श्रीमती अमला रोका मगर दसैँको समयमा टीका थाप्न भनी उपराष्ट्रपति निवासमा जाँदा फोटो खिचिएको हो । सो बाहेक अन्य कुनै सम्बन्ध रहेको छैन ।
त्यसैगरी सीआइबीले आफ्नो सवालको बुँदा नम्बर ५२ मा पूर्व अर्थमन्त्री वर्षमान पुनसँगको सम्बन्धबारे पनि सोधपुछ गरेको छ । सवाल नम्बर ५२ मा सीआइबीले सोधेको छ ः
सवाल ५२ :
तपाई र माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनबिच सम्बन्ध रहेको भनी माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन र तपाई सँगै रहेको फोटो सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा आएको हुँदा तपाई र माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनबिच के कस्तो सम्बन्ध रहेको छ ? खुलाउनुहोस् ।
जवाफ ५२ :
मेरो श्रीमती अमला रोका मगरको माइती रोल्पा जिल्लामा भएको र माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको घरसमेत रोल्पा जिल्लामा भएको हुँदा श्रीमतीको माध्यमबाट मेरो र वर्षमान पुनको चिनजान भएको हो ।
आज भन्दा ७ वर्ष अगाडि माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको काठमाडौं लाजिम्पाटस्थित कोठामा म र श्रीमती अमला रोका मगर खाना खान गएको समयमा निज वर्षमान पुनसँग हामीले फोटो खिचेका हौँ । सो बाहेक अन्य कुनै सम्बन्ध रहेको छैन ।
सीआइबीले माओवादी केन्द्रका नेताहरु मात्रै होइनन्, दुई पूर्व प्रहरी महानिरीक्षकसँगको सम्बन्धबारे पनि दावासँग सोधपुछ गरेको छ ।
सवाल नम्बर ५३ मा सीआइबीले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको सम्बन्धबारे दावासँग सोधपुछ गरेको थियो ।
सवाल ५३ :
तपाई र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालबीच सम्बन्ध रहेको भनी तपाई र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालको प्रहरी प्रधान कार्यालयमा खिचिएको फोटो सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा आएको हुँदा तपाई र पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल बिचको के कस्तो सम्बन्ध रहेको छ ? खुलाउनुहोस् ।
जवाफमा दावाले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई भेट्दा पनि नभेटेको र फोटो पनि नखिचेको जवाफ दिएका छन् ।
जवाफ ५३ :
म र नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालबिच कुनै सम्बन्ध रहेको छैन । म नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाललाई भेट्न प्रहरी प्रधान कार्यालयमा गएको पनि छैन र फोटो खिचेको पनि छैन ।
त्यसैगरी पूर्व प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँगको सम्बन्धबारे पनि सीआइबीले दावासँग बयान लिएको छ ।
सवाल ५४ :
तपाई र नेपाल प्रहरीका पूर्व महानिरीक्षक धिरजप्रताप सिंहबीच म्यासेज आदान प्रदान भएको देखिएको हुँदा तपाई र पूर्व महानिरीक्षक धिरज प्रताप सिंहबिच के कस्तो सम्बन्ध रहेको छ ? खुलाउनुहोस् ।
जवाफमा दावाले सिंह प्रहरी महानिरीक्षक भएपछि बधाई दिन म्यासेज गरेको र अन्य कुनै सम्बन्ध नभएको बयान दिएका छन् ।
जवाफ ५४ :
मैले नेपाल प्रहरीका पूर्व महानिरीक्षक धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त भए पश्चात शुभकामना दिनको लागि म्यासेज गरेको हुँ । सो बाहेक अन्य कुनै सम्बन्ध रहेको छैन ।
प्रतिकृया दिनुहोस