• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

नेकपा एसमा खटपटः एमसीसीबारे नेपाल–खनाल जुहारी

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनालबीच खटपट बढेको छ ।

हाल कार्यान्वयनमा आएको अमेरिकी सहयोग परिजना एमसीसीबारे कडा टिप्पणी गरेका नेता झलनाथ खनाललाई अध्यक्ष माधवकुमार नेपालले जवाफ फार्काएका छन् । राष्ट्रवादको कडा कुरा गर्ने पार्टी खिइदै जाने टिप्पणी गरेका नेता नेपालले एकीकृत समाजवादी पनि मोहनविक्रम सिंहको जनमोर्चा हुने चेतावनी दिए । 

पार्टी निकट नेवाः संगठनले सोमबार काठमाडौंका आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एकीकृत समाजवादीकै कारण एससिसीको व्याख्यात्मक घोषणा भएको बताए।

कार्यक्रममा नेपालले पूर्व प्रधानमन्त्री झलनाथ खनालप्रति इंगित गर्दै एमसीसीको  गीत गाएर पार्टी कमजोर बनाउने र अमेरिकाको स्वार्थ संरक्षण गरेको आरोप लगाए ।

‘केही केही मान्छेको गीत नै के छ भने एमसीसीलाई अस्वीकार गर्नुपर्थ्यो । त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनको स्वार्थको रक्षा हुने, विदेशीको हालीमुहाली चल्दा तमासा हेरेर बस्ने, अनि जनताले हामीलाई वाहा वाहा क्रान्तिकारी भनेर साथ दिने थिए भनेर हवाई कल्पना गरेर मात्र  केही हुने थिएन’, खनालप्रति आक्षेप लगाउँदै नेपालले भने, ‘हामी सबैलाई थाहा छ । एमसीसीको घोर विरोध गरेको नेपाल मजदुर किसान पार्टी वाही वाहीको शिकार हुन्थ्यो भने अहिले देशभर फैलिसक्थ्यो । मोहनविक्रमजीको पार्टीलाई भोटै भोट खसालेर १०० सिट दिने थिए ।’

पहिलेका कम्युनिस्ट सरकारहरूले मुलुकको स्वाभाविमानमा, स्वाधिनतमा असंलग्न परराष्ट्र नीतिमा असर गर्ने सम्झौता रहेको र व्याख्यात्मक घोषणा गरेर नेपालको हात माथि पार्ने काम गरिएको उनले बताए।

‘हाम्रो मुलुकको स्वाभिमान, स्वाधिनता र तटस्थ परराष्ट्र नीतिमा असर पर्ने कुराहरू हामीले देखेका हौं। त्यसपछि हामीले व्याख्यात्मक टिप्पणी भनेर त्यसको अंग बनाएका हौं, केहीकेही पार्टीहरूले केही थप्नु पर्दैन, यसमा कुनै कुरा संशोधन, परिमार्जन गर्नुपर्दैन, यथास्थितिमा पास गर्नुपर्छ भनेर भनेका थिए। यदि हामीले त्यसलाई व्याख्यात्मक घोषणाको रूपमा थप्ने काम नगरेको भए एमसिसी यथास्थितिमा पास हुने थियो। नेपालको हात तल पर्ने थियो। नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने हुन्थ्यो। हामी आफ्नो अडान प्रस्तुत गर्ने हैसियतमा हुने थिएनौं। हाम्रै पार्टीको पहलकदमीमा व्याख्यात्मक टिप्पणी ल्याएर स्वाभाविमानको रक्षा गरेका छौं। असंलग्न परराष्ट्र नीतिको रक्षा गरेका छौं,’ उनले भने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर