• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

भ्रमणले चीनसँगको सम्बन्ध मजबुत हुनेछ– प्रचण्ड

चिनियाँ राष्ट्रपति सीसँगको भेटलाई सुखद संयोग 
काठमाडौं । शनिबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटलाई सुखद संयोग मानेको बताएका छन्।

आइतबार बेइजिङस्थित राजदूतावासमा भएको सम्मान र स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू यसअघि प्रधानमन्त्री हुँदा भएको चीन भ्रमणको समेत स्मरण गरे। 

उनले तत्कालिन राष्ट्रपति हु जिङ ताओसँग पनि खेलकै सन्दर्भमा पहिलो र पछि औपचारिक वार्ता भएको उनले स्मरण गरेका छन्। 

‘त्यो बेलामा पनि क्लोजिङ सेरेमनीमा पनि तत्कालिन राष्ट्रपति हु जिङ ताओसँग मेरो खेलकै सन्दर्भमा भेट भएको थियो। पछि औपचारिक वार्ता चाहीँ भिन्न रुपमा भएको थियो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पटक पनि सी जिङफिङसँग खेलकै सन्दर्भमा भेट भयो। अब त्यो वार्तालाई अब एउटा ठोस उपलब्धिमा पुर्‍याउने कुरा बेइजिङमा आएर समापन हुँदैछ। यो मेरा लागि सुखद संयोग मैले मानेको छु।’

उनले त्यतिबेला पनि नेपाल–चीन सम्बन्धलाई बलियो बनाउने उद्धेश्यका साथ भ्रमण भएको बताउँदै अहिले पनि आपसी हितलाई केन्द्रमा राखेर अघि बढ्ने समझदारी भएको दाबी गरे। 

‘त्यतिबेला पनि नेपाल चीन सम्बन्धलाई बलियो बनाउने उद्धेश्यका साथ त्यो भ्रमण थियो। यो पटक पनि भिन्न परिवेश हुँदाहुँदै पनि विविध आयामहरूलाई अझ मजबुद बनाएर आर्थिक क्षेत्रको सहयोगको दायर बनाउने उद्धेश्यका साथ भएको छ,’ उनले भने।

शनिबार हाङ्जाओमा चीन र नेपालका प्रतिनिधिमण्डलको टोलीबीच द्विपक्षीय भेटको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर