एसियाडमा नेपाली क्रिकेटको अर्को ठूलो जित, क्वाटरफाइनल प्रवेश

काठमाडौं । चीनमा जारी एसियाडमा नेपाली अन्य विधामा निराशाजनक नतिजा आइरहेका बेला पुरुष क्रिकेट टिमले भने आशातित प्रदर्शन गरिरहेको छ । आफ्नो पहिलो खेलमा १० विश्व रेकर्ड राखेको नेपाली क्रिकेट टिमले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै माल्दिभ्स विरुद्ध १३८ रनको फराकिलो जित हात पार्यो । आजको खेलमा तीव्र गतिका बलर अभिनाश बोहरा नायक सावित भए ।
उनले कीर्तिमानी ६ विकेट लिए । यो जितसँगै नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ए बाट अपराजित रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अल आउट भयो । माल्दिभ्सका घानी अब्दुलले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।
पहिलो खेलमा मंगोलियाविरुद्ध विश्व कीर्तिमानी शतक हानेका युवा बायाँ हाते अलराउन्डर कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे । ओपनर आसिफ शेख ६ रनमै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भएका थिए ।
एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेटकिपर विनोद भण्डारीले १५ बलमा १ चौकासहित १३ रनमा आउट भए । सन्दीप जोरा ९ बल खेल्दै ५ रनमा क्याच आउट भएका थिए ।
गुलशन २१ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नाजवानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।
समूह ए बाट प्रतिस्पर्धा गरेको नेपालले यसअघि पहिलो खेलमा मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको थियो । अब नेपालले क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशमध्ये एक टोलीसँग खेल्नेछ ।
प्रतिकृया दिनुहोस