• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

अर्थतन्त्र सुधारका लागि प्रचण्ड पहलः निजी क्षेत्रसँग भने–‘अर्थतन्त्र दबाबमुक्त छैन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको बताएका छन् । सिंहदरबारमा मंगलबार राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उनले अर्थतन्त्रका कयौं सूचकहरु सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताएका हुन् ।

अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उनको भनाइ थियो ।

उनले भने, ‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ र अगाडि कसरी जाने भन्ने सन्दर्भमा सरकारले सोचिरहेको छ । गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौं इण्डिकेटरहरु सकारात्मक देखिएका छन् तर अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगेको छैन । त्यसकारण यसलाई हामीले गम्भीर विमर्शसहित समुचित निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ । धेरै चिन्तित हुनुपर्ने छैन भन्ने पनि छ अर्कोतिर धेरै नै गम्भीर स्थितिमा छौं भन्ने छ । सबै मिलेर यसको सामना नगर्ने हो भने संकट गहिरिँदै जानेछ ।’

प्रधानमन्त्री दाहालले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जासम्बन्धीका समस्या विगतमा विभिन्न कारणले पैदा भए पनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताए ।

समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको प्रधानमन्त्री दाहालको दाबी थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो त्रैमासिक अवधिमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ ।  

यो अवधिमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको छ ।  बजेट वक्तव्यमार्फत सरकारले चालु आर्थिक वर्षका लागि मुद्रास्फीति साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको थियो ।  

बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार हुन सकेको छैन । अर्थतन्त्रको बाह्य क्षेत्रमा भने सकारात्मक सुधार हुँदै गएको देखिएको छ । गत कात्तिक मसान्तसम्ममा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । त्यस्तै सरकारको चालु खाता ५९ अर्ब नौ करोडले बचतमा छ । शोधनान्तर स्थिति ९९ अर्ब सात करोडले बचतमा छभने कूल विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ ।  

हालको विनिमय सञ्चितिले १२ दशमलव चार महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।  पहिलो त्रैमासिक अवधिमा आयात एक दशमलव सात प्रतिशतले बढेको छभने निर्यात दुई दशमलव तीन प्रतिशतले घटेको छ । कूल वस्तु व्यापार घाटा दुई दशमलव एक प्रतिशतले बढेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर