राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते

काठमाडौं । सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको परामर्शअनुसार सरकारले चुनावको मिति तोकेको हो । ‘राष्ट्रिय सभाको जुन रिक्त सदस्य पद हुँदै छ । त्यसको पदपूर्तिका लागि २०८० माघ ११ गते निर्वाचन गर्ने भन्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘निर्वाचन आयोगको परामर्श बमोजिम ।’
राष्ट्रिय सभाका एकतिहाइ सदस्य २० जनाको पदावधि अगामी फागुन २० गते सकिँदै छ । निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० राष्ट्रिय सभा सदस्यको पद रिक्त हुँदै छ । पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार आयोगले सरकारलाई निर्वाचन मिति तोक्न परामर्श दिएको थियो ।
यसैगरी आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णयसमेत गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस