• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

दिनानु-दिन गहिरिदै मिडिया सङ्कट, कति गहिरो ?

अखबारले समुदायलाई जोड्ने काम गर्छ, आफ्ना गाउँठाउँमाथि गर्व गर्ने अवसर दिन्छ। स्थानीय व्यापार व्यवसाय, दानधर्मजस्ता कुरामा सर्वसाधारणलाई सचेत बनाउने र सक्रिय पार्ने गर्छ।

पछिल्लो समय इन्टरनेटका कारण यी अखबारको ग्राहक संख्या चिन्ताजनक रूपमा घटेको छ। पहिला अखबारहरू घरमा आउँदा छरछिमेकले पनि मागीमागी पढ्थे। अचेल ती अखबार हप्तौंसम्म आँगनमा पछारिइरहेका हुन्छन्, कोही पनि उठाउन आउँदैनन्।

झन् स्थानीय अखबारको अवस्था त यति दयनीय छ कि दुई दशक पहिला निकै ग्राहक बटुलेका अखबारहरू अहिले पिँधमा छन्। अनलाइनमा नै समाचारहरू सबै आउँछन्, पाइन्छन्, त्यो पनि सित्तैमा भन्ने भएपछि पाठक सित्तैमा आकर्षित हुन थाले।

सन् २०१९ सम्म ३१ प्रतिशतले ग्राहक संख्या घटेका थिए। ग्राहक संख्या घटेपछि चोकमा अखबार झुन्डिन पनि कम भएको छ र करिब ४० प्रतिशतले अखबारहरू कम देखिन थालेका छन्। पसलमा झुन्डिन कम भएपछि हातहातै बिक्री भएर आउने पैसा अखबारसम्म पुगेन।

त्यस्तै सर्वसाधारणको आँखामा पर्न छाडेपछि विज्ञापन पनि आउन छाड्यो। त्यसमाथि कागजको भाउ, प्रिन्टिङ मसी र अन्य सामग्री मूल्य चर्किंदै जान थालेपछि पहिले आइरहेको विज्ञापनले समेत नधान्ने अवस्थामा पुग्यो। त्यसमाथि अर्को वज्रपात अखबार जगत्ले बेहोर्नु परिरहेको छ। त्यो हो, विज्ञापन जगत्ले पनि आफ्नो भाग स्थानीय अखबारलाई निकै ठुलो भाग कटाउन थाले।

एकातिर कम बिक्री हुने, अर्कोतिर अखबारले पाउने विज्ञापन घट्ने, यो दोहोरो मार खेपेका स्थानीय अखबारले आफूलाई कसरी ज्युँदो राख्न सकून् १ विज्ञापन घट्नुको मूल कारणचाहिँ इन्टरनेट नै बन्न पुग्यो। अखबारको महँगो विज्ञापनको साटो सस्तो दरको इन्टरनेटतर्फ विज्ञापन लहसिए।

फेसबुक लोकप्रिय हुनुअघिसम्म अखबारको विज्ञापन बजार दुई अर्ब डलर बराबरको थियो। अहिले घटेर लगभग ६३ करोड डलरमा सीमित भएको छ। धेरैजसो विज्ञापन चाहिँ गुगल र फेसबुकले उडाएका छन्। सन् २०१९ सम्म आइपुग्दा डिजिटल विज्ञापनका लागि अहिले साढे १७ अर्ब डलर खर्च गर्न थालिएको छ।

तीमध्ये ८० प्रतिशत गुगल र फेसबुक, इन्स्टाग्राममा खर्च गरिन्छ। पहिला अखबारमा वर्गीकृत विज्ञापन आउँथ्यो। यो अखबारको राम्रो आम्दानीको स्रोत थियो तर अहिले त्यस्ता विज्ञापन गमट्री र फेसबुक मार्केटप्लेसले खोसिदियो। सन् २००३ देखि २०१८ सम्म खोसिएको यो वर्गीकृत विज्ञापनले पनि अखबारलाई ठुलो क्षति गर्‍यो।

एकातिर अखबारको संकुचन, अर्कोतर्फ विज्ञापन अभाव, यी दुवै समस्याका कारण यस क्षेत्रलाई ठुलो असर गरेको एलन रुसब्रिजरको सूत्रजस्तै बन्न पुग्यो। ‘कम विज्ञापन बराबर कम पत्रकार बराबर खत्तम पत्रिका बराबर कम पाठक बराबर थप कम आम्दानी वा विज्ञापन बराबर झन् कम पत्रकार र यो क्रम अझ बढ्दै जाने अवस्था नै अहिलेको अखबारको पतनको कारण बन्न पुगेको हो,’ एलन बताउँछन्।

त्यसो त यस्तो अवस्था आउनुमा सबै दोष प्रविधि र नयाँ सामाजिक सञ्जाललाई मात्र दिन नहुने विज्ञहरूको धारणा छ। बेलायतका तीन ठुला स्थानीय अखबारहरू न्युजक्वेस्ट मिडिया ग्रुप लिमिटेड, रिच पिएलसी र नेसनल वल्र्डजस्ता कम्पनीले बेलायतका स्थानीय अखबारका दुईतिहाइ अखबार नियन्त्रण गर्छन्। ती सबै न्यून गुणस्तरको मारमा छन्। तिनले यति धेरै कामदार कटौती गरे कि नाफाको धुनमा तिनले गुणस्तरमा ठुलो सम्झौता गरे।

कम पत्रकार र सम्पादकको भरमा उनीहरू इन्टरनेटमा कसरी बढी पाठक तान्ने भन्ने ध्याउन्नमा लागे। बढी पाठक तान्ने समाचार स्थानीय समुदायका लागि कामलाग्दा हुँदैनन् भन्ने बिर्सिए। स्थानीयको चासो र रुचिका समाचार कम हुनेबित्तिकै स्थानीयले पनि तिनको आफ्नो पत्रिका भन्ने अवस्था रहेन।

अखबारमा प्रशिक्षार्थीबाट काम चलाउन थालियो। उनीहरूले दिनमा १० वटासम्म समाचार उत्पादन गर्नुपर्ने अवस्था आयो। महिनामा अनलाइनमा पाँच लाख भ्युज हुनैपर्ने दबाबका कारण समाचारको गुणस्तर स्वाट्टै घट्यो।

बेलायतमा स्थानीय अखबारको यो दुरवस्था आउनुमा बिबिसी अनलाइनको क्षेत्रीय संस्करणले ठुलो भूमिका खेलेको आरोप लगाइयो। यस्तो आरोप स्थानीय अखबारहरूको संस्थाले बिबिसीले स्थानीय मिडियाको व्यापार चौपट पारेको आरोप लगाउँदै स्थानीय प्रेस गजेटले एउटा रिपोर्ट छापेको थियो।

बिबिसीसँग साधन स्रोत भएको र त्यसैको बलमा उसले सारा पाठक चोरेको उनीहरूको आरोप थियो। बिबिसीले सित्तैमा सूचना र समाचार दिन्छ, स्थानीय मिडियाले त्यो दिन सक्तैनन्। सित्तैमा दिए पनि बिबिसीसँग प्रतिस्पर्धा गर्न सक्तैनन्। त्यसैले सरकारले स्थानीय मिडियालाई सहयोग गर्नुपर्ने आग्रह गरेका थिए। यसो गरे मात्र स्थानीय मिडियाको अवस्था सशक्त हुने नत्र अवस्था नाजुक नै रहने उनीहरूको जिकिर थियो। तर सरकारले यसतर्फ ध्यान दिन सकेको छैन।

त्यसो त केही स्थानीय र क्षेत्रीय अखबारले राम्रै काम गरिरहेका छन्। द योर्कसायर पोस्ट, बेलफास्ट टेलिग्राफको अवस्था राम्रै छ। यीबाहेक स्वतन्त्र प्रकाशकहरूका साना मिडिया हाउसले पनि स्थानीय बजारमा आफ्नो धाक जमाउन थालेका छन्।

खासगरी द ब्रिस्टोल केबल सामुदायिक लगानीमा सन् २०१४ मा स्थापना भएयता यसले राम्रो सदस्य कमाएको छ। महिनाको जम्मा एक पाउन्डमा यसले राम्रै पाठक तान्न सफल भएको छ। यद्यपि बजार निकै प्रतिस्पर्धी छ। ९ प्रतिशतले मात्र बेलायतमा पैसा तिरेर ग्राहक बन्ने गरेका छन् जबकि नर्वेमा ३९ प्रतिशत र अमेरिकामा २१ प्रतिशत ग्राहक बनेका छन्।

स्थानीय अखबारको यो हालत बेलायतमा मात्र होइन, अमेरिकामा पनि उस्तै छ। नर्थवेस्टर्न विश्वविद्यालयको मेडिल स्कुल अफ जर्नालिज्मको अध्ययनअनुसार सन् २००५ यता अमेरिकामा दुई हजार ९०० अखबारहरू बन्द भइसकेका छन्। ६ हजार अखबारहरू अहिलेसम्म चलिरहेका छन्, तीमध्ये अधिकांश साप्ताहिक छन्।

यही अवधिमा ४३ हजारभन्दा बढी पत्रकार कामविहीन भएका छन्। हरेक साता औसतमा तीन वटा पत्रिकाहरू कि त बन्द भएका छन् कि त अन्य कम्पनीसँग गाभिएका छन्। एउटा अध्ययनअनुसार सन् २०२५ सम्म ती पनि आधाभन्दा बढीजसो बन्द हुने आँकलन छ। जुन मिडिया अहिलेसम्म बाँचेका छन्, तिनले गुणस्तरमा भारी सम्झौता गरेका छन्। यसरी स्थानीय अखबारहरू गायब हुँदै जाँदा अमेरिकाभरि सामाजिक ध्रुवीकरण अचाक्ली बढेको छ।

कतिपय ठाउँमा अखबार नै बन्द भएपछि त्यो ठाउँको समाचार नै आउन छाडेको छ। यसलाई ‘न्युज डेजर्ट’ भन्ने गरिएको छ। यस्तो समाचारको खडेरी भएका ठाउँमा उच्च रूपमा असन्तुष्टि बढ्ने, सामाजिक ध्रुवीकरण हुनेलगायतका समस्या आगामी पाँच वर्षमा अझ चर्कने बताइएको छ। समाचारको खडेरी हुने अधिकांश समुदाय वा ठाउँ भनेको अफ्रिकी अमेरिकी, हिस्पानिक तथा आदिवासी अमेरिकीहरूको संख्या बढी भएको ठाउँ रहेका छन्।

नेपालका क्षेत्रीय तथा स्थानीय मिडियाहरूमा भने समाचारको गुणस्तरको अभाव त छ नै, तिनको विश्वसनियताको कमीका कारण पाठक पनि कम नै छन्। तिनको एक मात्र आम्दानी स्रोत स्थानीय निकाय नै हुन्। स्थानीय निकायले विज्ञापनबापत छुट्याउने थोरै रकमले तिनको गुणस्तर उकास्न सकिरहेको छैन।

एकातिर स्थानीय मिडियाको संख्या आश्चर्यजनक रूपमा बढेको छ भने ती मिडियाप्रति जनविश्वास पहिलेको तुलनामा लज्जास्पद तरिकाले घटेको छ। ठुला कर्पोरेट मिडियाले आफ्नो भूमिका खुम्च्याउँदै जाँदा सबैजसो मिडियामा असर परिरहेको छ।

अर्कोतर्फ, नेपालको विज्ञापन बजारको ठुलो हिस्सा ओगट्ने धूमपान र मद्यपान कटौती हुँदा यसको ठुलो मार मिडियाले भोगिरहेका छन्। त्यसको प्रभाव जनशक्तिमा पनि परेको छ।

त्यस्तै सिपयुक्त जनशक्तिको पलायन, हरेक दिन स्थापना हुने नयाँ नयाँ अनलाइन मिडियाका कारण र तिनले दिने एकै किसिमको सूचना र जानकारीका कारण समाचारप्रति नै वितृष्णा उब्जिएको छ। यो वितृष्णालाई केही साना, छरिता र अलगधारका न्युज तथा भिजुअल संस्थाले सीमित अवधिका लागि यसबाट फाइदा उठाए पनि तिनको दिगोपनामा अझै समस्या छ।

यसरी सुरु भएको मिडिया सङ्कट कहाँ पुग्ने हो, संसारै अन्योलमा छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर