• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

प्रधानमन्त्रीलाई माथेमा लगायतले दिए धन्यवाद

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार खुला प्रतिस्पर्धाबाट नियुक्त गरेको भन्दै पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतले प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल प्रचण्डु लाई धन्यवाद दिएका छन्।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेट गर्दै उनीहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति भएपछि त्रिविको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्रिवि उपकुलपतिमा प्रा।डा। केशरजंग बराल, रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्क केसी नियुक्त भएका थिए।

‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै विकल्प छैन भन्ने कुरा गम्भीर रूपमा सोच्दै आएको थिएँ। तर कहाँबाट सुरू गर्ने, कसरी सुरू गर्ने भन्ने थियो। मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा खुला प्रतिस्पर्धाको घोषणा गरेको थिएँ। त्यसपछि यसको पक्षमा वातावरण बनाउन म लगातार लागिरहेँ र सफल पनि भयौँ। यसले प्राज्ञिक क्षेत्रलाई सकारात्मक दिशा दिएको छ,’ उनले भने।

देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

‘पार्टीमा आबद्ध हुने स्वतन्त्रता सबैलाई छ। तर अब कुन पार्टी भनेर नहेरौँ। जो सक्षम छ, इमानदार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो। राम्रो हेरौँ, मेरिट हेरौँ। यसले मात्रै देशमा नयाँ परिस्थिति बन्छ। यसमा म पूर्ण प्रतिबद्ध छु,’ उनले भने।

भेटमा प्राज्ञिकहरूको तर्फबाट पूर्वउपकुलपति केदारभक्त माथेमाले प्रधानमन्त्री दाहालको सोच र अडानका कारण त्रिविमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ।

‘प्रधानमन्त्रीको सोच र अडानबाट खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त भएको छ। यो आफैमा राम्रो नजिर हो। यसले नयाँ लिगेसीको प्रारम्भ हुन्छ। यसले उच्च शिक्षाको गुणस्तरमा ठूलो सुधार ल्याउने हाम्रो विश्वास छ। यसका सकारात्मक परिणाम आउँदै जानेछन्। हामी खुसी छौँ। तपाईंलाई हार्दिक धन्यवाद छ,’ उनले भने।

छलफलमा माथेमाले सबै राजनीतिक दलहरू एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए।

प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई अहस्तक्षेपको नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेहरूमा गौरीशंकरलाल दास, गोविन्द पोखरेल, सन्दुक रूइत, अर्जुन कार्की, जेपी अग्रवाल, नरेशमान बज्राचार्य, असीम ढकाल, भगवान कोइराला, विष्णु उप्रेती, धर्मकान्त बास्कोटा, देवेन्द्रराज पाण्डे, लवदेव अवस्थी, मदन उपाध्याय, महेश मास्के, केदारभक्त माथेमा लगायत ६६ जना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर