• २०८१ बैशाख २३ आइतबार
  • Sunday, 5 May, 2024

माथिल्लाे अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर लगानी गर्ने

काठमाडौं । अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन् । चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । 

मन्त्री पुन विश्व बैंक र मुद्रा कोष बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी भए ।

पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेटघाट गरे ।

मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्ससहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैर आवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

सम्बोधन तथा भेटघाटहरुमा मन्त्री पुनले आगामी १७ र १६ वैशाखमा हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरे । नेपालको ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न उनले अपिल गरे । लगानी सम्मेलनको वातावरण बनाउन सरकारले लगानीका लागि प्रतिकूल ठानिएका करिब दर्जन ऐनमा अध्यादेशमार्फत सुधार गर्न लागिएको जानकारी उनले अन्तर्राष्ट्रिय समुदाय, लगानीकर्ता र विकास साझेदारलाई दिए ।

यस्तै आगामी जुनमा काठमाडौंमा हुने विश्व बैंक समूह अन्तर्गतको सहुलित दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन ९आईडीए०–२१ बैठक तयारीबारे समेत अवगत गराए । मन्त्री पुनले विकास साझेदारहरुलाई नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन भनेका छन् ।

भी–२० मा उनले जलवायु परिवर्तनमा नेपालको न्यून भूमिका रहेको भन्दै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय जगतमा दृढतापूर्वक वकालत गर्ने उल्लेख गरे ।

मन्त्री पुन र विश्व बैंकका उच्च अधिकारीहरुबीचको वार्तामा संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजनाको वित्तीय ढाँचाबारे महत्वपूर्ण सहमति भएको छ । आगामी जुनमा विश्व बैंकले उक्त आयोजनाका लागि वित्तीय व्यवस्थापन टुंग्याउने तयारी अघि बढाउने भएको छ ।

अमेरिकी व्यवसायीहरुको संस्था (यूएस) चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँगको अन्तरक्रियामा उनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताए ।

मन्त्री पुनले ‘एसियामा नवीकरणीय ऊर्जा संक्रमण’ शीर्षक साइडलाइन सत्रलाई सम्बोधन गर्दै नेपालले जलविद्युत्‌मा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको बताए । त्यस क्रममा विश्व बैंकसहित विकास साझेदार संस्थाका प्रतिनिधिहरुले नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएको भन्दै लगानी सम्मेलनमा उच्चस्तरको सहभागिता हुने प्रतिबद्धता जनाएका थिए ।


यसैबीच अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत् उत्पादन गर्न विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने सहमति भएको बताएका छन् । शनिबार अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकेर स्वदेश फर्किएका पुनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको बताएका हुन् । 

उनले ६३५ मेगावाट दुधकोशीमा एडिबीले नेतृत्व गर्ने तर विश्व बैंकले पनि लगानी गर्ने बताए । पुनले नेपालमा विदेशी लगानीकर्ताहरूको बाहुल्यता भएको मुलुकमा अमेरिका तेस्रो स्थानमा रहेको र आगामी लगानी सम्मेलनबाट थप लगानी गर्न इच्छुक भएको बताएको जानकारी दिए । 

उनले भने, ‘विश्व बैंकका तीन जना अलगअलग उपाध्यक्षहरूसँग भेट भयो । अरु उच्च स्तरका पदाधिकारीहरू, प्रबन्ध निर्देशकहरूसँग पनि भेट भयो । सबै मिलाउँदा विश्व बैंकसँगको कुराकानी राम्रो भयो । खासगरी हामीले हरित ऊर्जामा जोड गरिरहेको कुरा । त्यसमा अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत् उत्पादनलाई तयारी अवस्थामा छ, हाम्रो अध्ययन । त्यसमा विश्व बैंकले नेतृत्व गर्नुपर्छ भनेर हामीले सस्तो ब्याजको ऋणको लागि अनुरोध गरिरहेका थियौँ । यस पटकको बैठकको एउटा सफलता भनेको विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने । सस्तो ब्याजको ऋण, सफ्ट लोन दिने र उसले नेतृत्व गर्ने । अरू बैंकहरु पनि छन् । ६ वटा बैंकहरु छन् अरू । तर त्यसको नेतृत्व विश्व बैंकले गर्ने सहमति भएको छ । त्यो महत्त्वपूर्ण सहमति हो । ६३५ मेगावाट दुधकोशीमा पनि एडिबीले नेतृत्व गर्छ तर वर्ल्ड बैंक पनि त्यसमा हुन्छ । त्यसमा पनि सकारात्मक कुरा भएको छ ।’

अर्थमन्त्री पुनले अमेरिकी चेम्बर अफ कमर्सले आइटी लगायतका क्षेत्रमा लगानी गर्ने बताए । ‘समग्रमा हेर्दा अहिलेको लगानीमा अमेरिकन लगानीकर्ताहरू तेस्रो ठुलो लगानीकर्ताहरू नेपालमा रहेछन् । थप लगानी गर्न अमेरिकन लगानीकर्ताहरू तयार र उत्साहित रहेको पायौँ । लगानी सम्मेलनमा अमेरिकाको चेम्बर अफ कमर्सको उपाध्यक्ष नै उपस्थिति हुने स्वीकार गर्नुभएको छ । थप लगानी पनि घोषणा हुने भनिएको छ । आइटी लगायतका क्षेत्रमा लगानीको घोषणा हुँदैछ, सकारात्मक छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर