• २०८१ बैशाख २४ सोमबार
  • Monday, 6 May, 2024

लगानी सम्मेलनमा ५२  देशका ६३४ जना आउने

काठमाडाैं । आसन्न तेस्रो लगानी सम्मेलनमा ५२ विदेशी मुलुकका ६३४ लगानीकर्ता, व्यावसायिक व्यक्ति, विज्ञ तथा सरोकारवालाहरूले सहभागिताको सुनिश्चित गरेका छन् ।

सरकारले सम्मेलनमा सहभागिताका लागि एक हजार नौ सयभन्दा बढी विदेशी सम्बन्धित व्यक्तित्वहरूलाई निम्तो पठाएकोमा मंगलबारसम्म ६३४ जनाले सहभागी हुने जवाफ पठाएका हुन् ।

तर, निम्तो स्वीकार गर्ने क्रम बाँकी रहेकाले यो संख्या अझै बढ्न सक्ने लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए । उनका अनुसार सहभागिताका लागि जवाफ पठाउनेमध्ये अधिकांश लगानीकर्ता र व्यावसायिक व्यक्ति छन् । 

सरकारले आगामी १६ र १७ वैशाखमा लगानी सम्मेलन गर्दै छ । त्यसमा न्यूनतम एक हजार लगानीकर्ता, व्यावसायिक व्यक्ति, विज्ञ तथा सरोकारवाला उपस्थिति गराउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार उपस्थिति हुने पक्का भएको छ । नेपालबाट सहभागी हुने ३८५ समेत जोड्दा एक हजार १९ व्यक्ति सम्मेलनमा उपस्थित हुने निश्चित भइसकेको छ ।

यसमा अनलाइनबाट आफैँ नाम दर्ता गरेका थप लगानीकर्ता, उद्योगी, व्यावसायिक व्यक्ति तथा सरोकारवालाहरू थपिनेछन् । हाल अनलाइनबाट नाम टिपाएका आवेदकहरूको छनोट गर्ने काम पनि भइरहेको बोर्डले जनाएको छ । 

बोर्डको तथ्यांकअनुसार नेपालबाहेक चीनबाट सबैभन्दा धेरै लगानीकर्ता आउने देखिन्छ । हालसम्म चीनका २६५, भारतका १४३ र अमेरिकाका ३३ जना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले निम्तो स्वीकार गरेका छन् । त्यस्तै जापानका २८, युकेका १४, बंगलादेश र युएईका १३/१३ र जर्मनीका १० जनाले सहभागिताको प्रतिबद्धता जनाएका छन् ।

दक्षिण एसिया र अस्ट्रेलियाबाट ९/९, पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच,  साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार तथा स्विट्जरल्यान्ड, फिनल्यान्ड, अस्ट्रिया, रसिया र कोलम्बियाबाट तीन/तीनजना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले निम्तो स्वीकार गरेका छन् ।

यीबाहेक, क्यानडा, कुवेत, पोल्यान्ड, मेक्सिको, दक्षिण अफ्रिका, बेल्जियमलगायतका देशका लगानीकर्ताले पनि लगानी सम्मेलनको निम्तो स्वीकार गरिसकेका छन् । 

विदेशबाट ६ सय बढी लगानीकर्ता नेपाल आउने सुनिश्चित हुँदा धनाढ्य  अर्थात् अर्बपतिहरूले भने निम्तो स्वीकार गरेका छैनन् ।

सरकारले विभिन्न कूटनीतिक नियोगमार्फत गत माघमै एलन मस्क, गौतम अडानी, ज्याक मा, मार्क जुकरवर्ग, जेफ बेजोसजस्ता १७ अर्बपतिलाई लगानी सम्मेलनमा सहभागी हुन निम्तो पठाएको थियो । उनीहरूलाई वक्ताकै रूपमा आमन्त्रण गरिएको थियो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर