• २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024

इलाम र बझाङकाे गणना भोलि मात्रै, के हाेला परिणाम ?

काठमाडाैं । इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदान सकिएसँगै मतपेटिका संकलन थालिएको छ । मतपेटिका इलाम–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्रमा संकलन गरिएको हो ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो । जहाँ ७४५ जना कर्मचारी खटिएका थिए ।

मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन् । मतगणना आइतबार बिहान ७ बजेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताएका छन् । उनका अनुसार सबै मतपेटिका संकलन हुन मध्यरातसम्म लाग्नसक्छ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय सहमतिपछि मतगणना सुरु हुने बताइएको छ । भोलि बेलुकासम्ममा मत परिणाम आउने गरी मत गणनाको काम अघि बढाइने बताइएको छ ।

यसैबीच प्रदेशसभा–१ को उपनिर्वाचनमा ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको छ । बिहान ७ बजेदेखि भएको मतदानमा साँझ ५ बजेसम्म ४९.१२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा ६१ हजार ७४८ मतदाता थिए ।

जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको उनले बताए । उनका अनुसार प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह प्रतिस्पर्धामा छन् ।

नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार छन् । यहाँ भोलि (आइतबार) मात्र मतगणना गर्ने तयारी छ । विकट क्षेत्रमा रहेको सैपाल गाउँपालिकाको मतपेटिका आइतबार हेलिकप्टरबाट ल्याइनेछ । त्यसपछि मात्र मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर