क्यानडालाई सजिलै हराउँदै मेसीको अर्जेन्टिना फाइनलमा

काठमाडौं । साविक विजेता अर्जेन्टिना सन् २०२४ को कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गरेको छ ।
अमेरिकाको मेटलाइफ स्टुडियोमा आज विहान भएको खेलमा अमेरिकाले क्यानडालाई २–० गोल अन्तरले हराउँदै फाइनलको यात्रा पक्का गरेको हो ।
अर्जेन्टिनालाई फाइनलमा पर्याउन जुलियन अल्भारेज र लियोनल मेसीले गोल गरे ।
अल्भारेजले पहिलो हाफको २३औं मिनेटमा डि पाउलको आकर्षक पासमा गोल गरे ।
दोस्रो हाफको ५१औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गरे । मेसीले मिडफिल्डर इन्जो फर्नान्डेजले प्रहार गरेको पावरफुल सटमा टच गरेका थिए ।
समूहगत चरणमा अर्जेन्टिनाले क्यानडासहित आफूले खेलेको तीनवटै खेलमा जित हात पारेको थियो ।
अर्जेन्टिनाले दोस्रो खेलमा चिलीमाथि १–० गोलको जित हात पारेको थियो । आफ्नो तेस्रो खेलमा अर्जेन्टिनी टोलीले पेरुमाथि २–० गोलको जित हात पारेको थियो ।
अर्कोतिर, क्यानडाले समूहगत चरणमा आफूले खेलेको तीनमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको थियो । क्यानडा आफ्नो पहिलो खेलमा अर्जेन्टिनासँग ०–२ गोलले पराजित भएको थियो । क्यानडाले आफ्नो दोस्रो खेलमा भने पेरुमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो । तेस्रो खेलमा क्यानडाको टोली चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
प्रतियोगिताको क्वार्टरफाइनलमा भने अर्जेन्टिना र क्यानडा दुवैले आ–आफ्नो खेल जित्न पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो । क्वार्टरफाइनल चरणमा अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।
क्याडनाले भने क्वार्टरफाइनल खेलमा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजयको स्वाद चखाएको थियो । पछिल्लो फिफा वरीयतामा अर्जेन्टिना पहिलो स्थानमा आसीन छ भने क्यानडा ४८औँ स्थानमा छ ।
प्रतिकृया दिनुहोस