• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

ओलीले उहिल्यै उद्घाटन गरेको धरहरा निर्माणको म्याद सातौं पटक थपियो

काठमाडौं । तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी अाेलीले उहिल्यै उद्ङाटन गरेकाे सुन्धारास्थित धरहरा निर्माणा नसकिएपछि फेरि म्याद थपिएकाे छ । 

सातौँ पटक २०८१ असोज २० गतेसम्मका लागि म्याद थप गरिएको सम्बन्धित निकायले जनाएको छ । यसअघि छैटौँ पटक थप गरिएको म्याद गत वर्षको माघ ४ गते सकिएको थियो । 

सहरी विकास मन्त्रालयको भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीका अनुसार सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा टेकेर धरहरा पुनर्निर्माणका लागि अन्तिम पटक म्याद थप गरिएको हो । 

आयोजना प्रमुख अधिकारीका अनुसार म्याद थप गरिएको यस अवधिमा निर्माण सम्पन्न हुन सकेन भने निर्माण कम्पनीले सरकारलाई जरिबाना तिर्नुपर्ने हुन्छ । कुल सम्झौता रकमको ०.०१ प्रतिशत प्रतिदिनका दरले जरिबाना बुझाउनुपर्ने हुन्छ । सम्झौता रकम तीन अर्ब ४९ करोड रुपियाँ रहेको छ । अधिकारीका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत र आर्थिक प्रगति ८९ प्रतिशत छ ।

२०७५ पुसदेखि निर्माण सुरु भएको धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो । पहिलो पटक थपिएको म्यादको अन्तिमतिर धरहराको उद्घाटन भएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ असोज १४ गते तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जिआइइटिसी–रमण (संयुक्त) बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

सम्झौता अनुसार २०७७ असोज २० गतेसम्म आयोजनाको निर्माण अवधि रहेको थियो । सम्झौतापछि निर्माण कम्पनीले २०७५ कात्तिकदेखि निर्माण सुरु गरेको थियो भने पुस १२ गते धरहराको शिलान्यास गरिएको थियो । त्यसै गरी २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको शिलान्यास र उद्घाटन गरेका हुन् ।

मुख्य संरचनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । मेकानिकलसम्बन्धी काम बाँकी छन् । त्यसै गरी विद्युतीकरण, प्लम्बिङ, सिसिटिभी जडान, रङरोगन, फिनिसिङका काम बाँकी छ ।

तत्कालीन राजा रणबहादुरकी पत्नी ललित त्रिपुरा सुन्दरीले १८८२ सालमा निर्माण गर्न लगाएको धरहरा १८९० सालको भूकम्पमा परी भत्कियो । पुनर्निर्माण गरिएको सो धरहरा १९९० सालको भूकम्पमा फेरि भत्कियो । १९९० सालको भूकम्पमा भत्किएर पुनर्निर्माण गरिएको धरहरा २०७२ साल वैशाख १२ गतेको भूकम्पमा पूर्ण रूपमा ध्वस्त भएको थियो । ११ तले धरहरालाई १९९० सालपछि पुनर्निर्माण गर्दा नौतले बनाइएको थियो । त्यसबखत ६१.८८ मिटर अग्लो धरहरा निर्माण गरिएको थियो । 

अहिलेको डिजाइन अनुसार बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर