• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

ओलीप्रति प्रश्न गर्दै वर्षमान पुनले भनेः यो देश नेताले चलाउने कि बिचौलियाले ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव, सांसद वर्षमान पुनले कांग्रेस र एमाले मिलेर बनेकाे वर्तमान सरकार बिचाैलियाले चलाउने शंका व्यक्त गरेका छन् ।

सरकार निर्माण गर्नुअघि गठबन्धन बनाउने बेलामा नै यसकाे पक्षमा सक्रिय भएका मानिसहरूकाे क्रियाकलापले देश कसले चलाउँदैछ भन्ने प्रश्न उठ्ने अवस्था देखिएकाे बताए ।

प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताए । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको संकेत उनको थियो । 

आफूभन्दा अघि अर्थमन्त्री भएका काँग्रस नेता डा. प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए । ।

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोसिस गर्नुभयो । मैले पनि सकिन । अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ ।  । म यहाँ नढाँटीकन आमजनताका अगाडि भन्न चाहन्छु कि यो देश राजनीतिक दलले र नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ?’, उनले भने, ‘यो जवाफ छिट्टै प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मेरो अपेक्षा नेताहरुले त्याग गर्नुभएको छ । बलिदान गर्नुभएको छ । जेल पर्नुभएको छ । युद्ध सबैबाट आउनुभएको छ । नेताहरुले देश चलाइदिनुस । पार्टीहरुले देश चलाइदिनुस् । बिचौलियाहरुले होइन ।’ 

पुनले आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले  सुशासन र भष्टाचारका मुद्धामा छानबिन र कारबाही अगाडि बढाएपछि काँग्रेस–एमाले मिलेको टिप्पणी गरे । उनले गिरिबन्धु ‘टी स्टेट’ र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको बताए । प्रतिपक्षमा रहँदा काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गिरीबन्धुको विषय उठाएको र परिवर्तित सन्दर्भमा पनि एजेण्डा छाड्दैनौं भनेको चर्चा गर्दै अब के हुन्छ भन्नेमा काँग्रेसलाई पनि प्रश्न उठाइने जनाए । 

‘कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विभिन्न फाइलहरु खोज्ने, छानबिन गर्न गर्दा । त्यसै गरी नक्कली भुटानी शरणार्थीलगायत गिरिबन्धु टी स्टेटसम्मका कुराहरु उठ्दै गर्दा नेपाली काँग्रेसका महामन्त्रीज्यूहरुले हाम्रा एजेण्डाहरु छाड्दैनौं भन्नुभएको छ । त्यसमा निश्चिय पनि नेपाली काँग्रसलाई पनि प्रश्न हुन्छ’, उनले भने, ‘हिजो यही हाउसमा अपोजिशनमा हुँदा गिरिबन्दधु टी स्टेश गिरीबन्धु टी स्टेट भन्नुभएको थियो । यसमा के हुन्छ ? हामीले र नेपाली जनताले सही जवाफको अपेक्षा गरेका छन् ।’

उनले दमकमा भ्यू टावर निर्माण गरी उर्जा-उत्पादनमा लगानी गरेको हो वा रोजगारी सिर्जनाको क्षेत्रमा लगानी गरेको भन्दै प्रश्न गरेका छन्।

‘विकासको मोडल कस्तो छ सम्माननीय प्रधानमन्त्री ज्यूको एक पटक फर्केर हेर्नुस् साढे तीन वर्षमा। दमकको भ्यू टावर कति अर्बको हो, प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा भ्यू टावर सुरू गरेपछि देशैभरिका ७५३ पालिकाहरूले गाउँगाउँमा भ्यूटावर बनाउन सुरू भएको होइन?,’ उनले प्रश्न गरे, ‘नेतृत्वले उर्जा उत्पादनमा लगानी गरेको हो कि रोजगारी सिर्जना गर्नेमा लगानी गरेको हो?’

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भन्दै विदेशबाट लिइएको ऋणलाई त्यसमा प्रयोग गरेको पनि आरोप लगाए। त्यस्तै प्रकृतिको काम गर्न नहुने पनि उनले बताए।

‘प्रधानमन्त्री रोजगार कार्यक्रममा ऋण लिएर लगाएको अभ्यास छ। जसमा जंगलको झारहरू उखेल्दै, क्याप लगाउने, केही ड्रेस लगाएर हिँड्ने अनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर केही कार्यकर्तालाई रोजगारी दिने अनि विदेशी ऋणलाई खर्च गर्ने ढंगले हुँदैन,’ उनले भने।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर