• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

ऋषितर्पणी, रक्षाबन्धन र जनै पूर्णिमा मनाइँदै (फोटोफिचर)

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्लपक्षको पूर्णिमा तिथिमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनै पूर्णिमा आज देशभर भव्य रुपमा मनाइँदैछ । देशका विभिन्न मठ–मन्दिरमा आज भक्तालुको बाक्लो भीड लागेको छ ।

यस दिन वैदिक सनातन वर्णाश्रम धर्म मान्ने द्विज अथवा ब्राह्मणादि तागाधारीले श्रुति, स्मृति आदि धर्मशास्त्रोक्त विधिले वर्षभरि गरिएका अनाचार, दुष्कर्म, दुराचार, दुर्व्यवहार आदिको प्रायश्चित्त एवं दुष्परिणामको निराकरणका लागि श्रावणी कर्म अर्थात् गणस्नान, ऋषिपूजन, ऋषितर्पणी, उत्सर्जन, उपाकर्म जस्ता विशेष कृत्यहरू सम्पादन गर्ने विधान रहेको छ ।

यी सबै कृत्यहरू गरिसकेपछि शास्त्रीय विधिले तयार गरिएको ब्रह्मसूत्र (जनै) मा वैदिक कर्मद्वारा ब्रह्मा, विष्णु, रुद्र एवं तन्तुदेवतालाई अभिमन्त्रणा गरेर पवित्र एवं शक्तिसम्पन्न तुल्याएपछि धारण गरिने हुँदा यस पूर्णिमालाई जनै पूर्णिमा भन्ने गरिएको हो ।

यही दिन रक्षासूत्रमा समेत देवतालाई विधिवत् आह्वान गरी हातमा बाँधिने भएकाले आजको दिनलाई रक्षाबन्धन समेत भनिएको हो ।

हिन्दु शास्त्रानुसार सत्ययुगमा दानवले लखेटेका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

आजकै दिन तागाधारीहरुले आफ्नो जनै (यज्ञोपवित) फेर्छन् । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।

जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ ।

अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।

आजकै दिन शरीर शुद्ध गरी देवता, सप्तऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणीसमेत भन्ने गरिएको हो । आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ ।

आजकै दिन एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने सामाजिक मान्यता रहेको छ ।

नेपालको तराई–मधेश क्षेत्रमा आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने विश्वास रहेको छ । नेवार समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् ।

 

विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ । यसै दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर