• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

एमाले– व्यापारी सम्बन्धः पार्टी कार्यालय बनाउन बक्सिसमा ११ रोपनी जग्गा 

काठमाडौं । अघिल्लो सरकारले बालुवाटार जग्गा प्रकरणमा मुछिएका व्यापारी भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ अनुसन्धानका लागि पक्राउ पर्दा वर्तमान प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमा सरकारको आलोचना गरेका  थिए । व्यापारीलाई चलाउन नहुने उनको तर्क त्यतिबेला थियो । 

त्यससो त कुनै बेला गुरुङको सम्बन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि कतिपयले जोड्ने गर्दथे ।

तर गुरुङ पक्राउ पर्दा ओलीले दिएको प्रतिक्रिया र अहिले उनै गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन कलंकी नजिक बक्सिस  दिएको झण्डै ११ रोपनी जग्गाले उनीहरुबीचको सम्बन्धको घनिष्टता पुष्टि हुन्छ । 

गुरूङ मात्रै हाेइन एमाले र अध्यक्ष ओलीसँग अघिल्लाे सरकारकाे कार्यकालमा पनि यति ओम्नी, बतास समूह जस्ता व्यवापारीक घराना जाेडिएका थिए । 

शुक्रबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरे। कम्युनिष्ट पार्टी कार्यालय शुभ साइत पारेर शिलान्यास गरेका हुन्।

भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङ पनि शिलान्यास कार्यक्रममा संगसंगै थिए ।  उनीहरूले नै दिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमाले महासचिव शंकर पोखरेलले स्वीकार गरे ।  

उनले भवनको लागत र विस्तृत परियोजना प्रतिवेदन तर्जुमाको क्रममा रहेको पनि बताए।

व्यवसायी गुरूङले आफू पहिल्यैदेखि एमालेनिकट रहेकोले एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको पनि उनले बताए। उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन हस्तान्तरण गर्ने जानकारी दिए।

२०७२ वैशाख १२ गतेको भूकम्पले एमालेको बल्खुमा रहेको केन्द्रीय कार्यालय भवनमा क्षति पुर्‍याएको थियो। त्यसपछि एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा बसेको थियो।

त्यहाँबाट थापाथलीस्थित अर्का व्यापारीकाे घरमा सारियाे । थापाथलीको कार्यालय पनि खेतान समूहसँग व्यापारिक साझेदारी भएका व्यवसायी सञ्जल अग्रवालको थियो । 

त्यहाँ पनि साँघुराे भएकाे भन्दै धेरै टिकेन र  ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुर्‍याइएको थियो।

तुलसीलाल स्मृति प्रतिष्ठानको भवन एमालेले पाँच वर्षका लागि भाडामा लिएको हो। यद्यपि यो जग्गा पनि सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको हो। प्रतिष्ठानले एमालेलाई भाडामा लगाएको भन्दै त्यहाँ पनि आलोचना भएको थियो भने ठूलाे बाढीले ३ पटक डुवानमा परेकाे थियाे ।

बल्खुमा रहेको पुरानो जग्गामा पनि भवन बनाउने अवस्था नरहेकाले एमालेले नयाँ विकल्प खाेजेकाे हाे । जसमा व्यापारी मीनबहादुर गुरूङ दाहिना भइदिएका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर