• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

साना दल फुटाउने, ठूलो दल बन्न अध्यादेश ल्याउने ओलीको योजना देउवाले रोके !

काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा एमालेसँग अहिले ७८ जना सांसद छन्। एमाले संसदको दोस्रो ठूलो दल हो।

२०७९ मंसिर ४ गते भएको चुनावबाट पहिलो दल बनेको नेपाली कांग्रेसका हाल ८८ सांसद छन्।

अहिले यी दुई दलले संयुक्त रूपमा सरकार चलाइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अबको नौ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताइरहेका छन्।

त्यस आधारमा कांग्रेस–एमालेबीच सौहार्द्रपूर्ण सम्बन्ध हुनुपर्ने हो। तर, संसदको यही कार्यकालमै एमालेलाई पहिलो दल बनाउने प्रधानमन्त्रीको चाहनाले दुई दलबीच भित्रभित्र प्रतिस्पर्धा रहेको जानकार नेताहरू बताउँछन्।

पछिल्लोपटक दल फुटाउने व्यवस्थासहितको अध्यादेश ल्याउने प्रधानमन्त्री ओलीको प्रयासलाई सभापति देउवाले रोकिदिएको उनीहरूको भनाइ छ।

कांग्रेसभन्दा ठूलो दल बन्न एमालेलाई ११ सांसद आवश्यक पर्छ। त्यसका लागि या त कुनै दल विभाजन गर्नुपर्छ, या कुनै दलसँग एकता गर्नुपर्छ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा विभाजन हुने सम्भावना तत्काल छैन। 

एमालेबाट विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीका केही सांसद र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का १२ सांसदतिर ओलीको नजर रहेको बताइन्छ। दुवै दलका केही सांसद उनीसँग निरन्तर छलफलमा पनि छन्।  

तर, यतिबेला राजनीतिक दल सम्बन्धी ऐनको दल विभाजन सम्बन्धी प्रावधान निष्क्रिय छ। 

भदौ ३१ गते संसदको वर्षे अधिवेशन अन्त्य भएको थियो। अहिले नियमित संसद् छैन। त्यसो हुँदा अध्यादेश ल्याउनुपर्ने हुन्छ। 

सो अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीले कम्तीमा दुईपटक प्रयास गरिसकेको नेताहरू बताउँछन्। 

पहिलोपटक न्युयोर्क जानुअघि र दोस्रोपटक दसैँअघि अध्यादेश ल्याउन कांग्रेस सभापतिसँग छलफल गरेको सूचना पाएको कांग्रेस र एकीकृत समाजवादीका नेताहरू बताउँछन्। 

अध्यादेश ल्याउने प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाले अस्वीकार गरेको कांग्रेसका एक नेताले पनि पुष्टि गरे।

एमालेले केही दलका सांसद तान्ने र पहिलो दल बन्ने योजनासहित अध्यादेश ल्याउन खोजेको देउवाको विश्लेषण रहेको उनी बताउँछन्।   

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति देउवासँग यसबारे धारणा पनि मागेकाे नेपालखबरले समाचार छापेकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर