• २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024

निबन्धकार मुकुन्द शर्माको ‘धोबीघाट मेलोडी’ लोकार्पण

काठमाडौं । गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धसङ्ग्रह ‘धोबीघाट मेलोडी’ एक कार्यक्रमबीच लोकार्पण भएको छ ।

प्युठान जिल्लामा जन्मनुभयका लिट्टल एन्जल्स स्कुलका प्रिन्सिपल रहेका शर्माको पुस्तक शनिबार विमोचन भएको हो । ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,प्रा.डा.दयाराम श्रेष्ठ,बरिष्ठ कवि डा. विष्णुविभु घिमिरे,बरिष्ठ नाटककार अशेष मल्ल,बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले एक कार्यक्रम विच सार्वजनिक गरे ।

विमोचनपछि सबैले क्रमैसँग सो पुस्तक लेखकका स्वर्गीय पिताको तस्बिर अगाडि समर्पण गरिएको थियो । कार्यक्रम अलि पृथक् थियो, कुनै पनि व्यक्तिलाई मञ्चको व्यवस्थापन गरिएको थिएन । सबैजना दर्शकदीर्घामा नै थिए ।

विमोचनपछि लेखक स्वयम्कै शब्द रहेको गीत गाइएको कार्यक्रममा पुस्तकका प्रकाशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कामनाका सीईओ श्रेष्ठले शर्माको दोस्रो कृति पनि प्रकाशन गर्न पाउनु आफ्नो अहोभाग्य भएको बताउनुभयो । उहाँले आफ्ना गुरु शर्माको निबन्धले आफ्नो मन छोएको कारण प्रकाशन गर्ने मौका पाएको बताउनुभयो ।

प्रमुख अतिथि महर्जनले धोबीघाट आफ्नो जन्मथलो नजिक भएको बताउँदै त्यहाँको ढुँगे धाराको पानी पिएर आफु हुर्केको स्मरण गरे । उनले निबन्ध पढ्दा मज्जा आएको भन्दै निबन्धमा आफुलाई छोएका प्रसंगहरुको चर्चा गरे ।

अर्का बक्ता बरिष्ठ नाटककार अशेष मल्लले भावलाई शब्दमा अभिव्यक्त गर्न सिपालु निबन्धकार शर्माको पुस्तक पढेपछि चित्र हेरेजस्तो,संगीत सुने जस्तो,महाकाव्य पढेजस्तो अनुभूति गराएको बताए ।

यसैगरी गीतकार एवं कवि एसपी कोइरालाले शर्मालाई गीत लेख्न नछोड्न आग्रह गरे । उनले निबन्धहरु इमान्दारी ,बौद्धिकताको कसीमा घोटिएका भएको बताए ।

बरिष्ठ कवि डा. विष्णुविभु घिमिरेले शर्माको लेखनीका पक्षहरुको बारेमा चर्चा गरे भने बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठले शर्माका निबन्धहरुमा मौलिकता हावी भएको बताउँदै नभनिकन धेरै भनिएको र आफ्नो जस्तो गरेर लोककै कुरा बोल्ने निबन्ध आएको बताए ।

निबन्धकार मुकुन्दराज शर्माले आफ्नो निबन्धका रचना गर्भ सुनाउँदै निबन्धको केही हरफ बाचन गरे।

कृतिबारे समीक्षात्मक टिप्पणी निबन्धकार कुमारी लामा र प्रा.डा.दयाराम श्रेष्ठले गरेका थिए ।
निबन्धकारका दाजु एवं बरिष्ठ कलाकार हरिहर शर्माले स्वागत मन्तब्य व्यक्त गरे । पूर्वमन्त्री उमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गायक पुष्प नेपालीले शर्माद्धारा रचित गीत गाएका थिए भने कार्यक्रमको सञ्चालन वरिष्ठ सञ्चारकर्मी एवं कवि ठाकुर बेलवासेले गरेका थिए ।

२ सय २ पृष्ठको सो निबन्धसङ्ग्रह आजबाट नेपालभर पाइने भएको छ । पुस्तकको मूल्य ५ सय रहेको प्रकाशकले जनाएको छ । यस निबन्धभित्र २४ वटा निबन्धको सङ्ग्रह छ । यसलाई तीन भागमा बाँडिएको छ । पहिलो भागमा क्षणिकीहरु, दोस्रोमा अनुभूतिहरु र अन्त्यमा अन्तर्दृष्टिहरु समावेश गरिएको छ ।


यस कृतिलाई कामना न्यूज पब्लिकेसन्सले प्रकाशनमा ल्याएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर