• २०८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024

दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई मंसिर ४ मा पक्राउ गरेर विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएको छ । 

स्रोत बिना अवैध सम्पत्ति आर्जन गरेको सूचनाको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु भएको सीआईबीले जनाएकाे छ । अहिले उनलाई सीआईबी मातहतको केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबारबारे अनुसन्धान गरिरहेको छ । सीआईबीले उनीविरुद्ध थप ४ वटा कसुरमा अनुसन्धान थालेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा उनीविरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी मुद्दा अगाडि बढाउने भएको छ । साइबरसँगै अन्य कसुर पनि आकर्षित हुने देखिएसँगै अरु मुद्दामा  अनुसन्धान थालिएको सीआईबीका एआईजी दीपक थापाले बताए ।  

प्रधानमन्त्री ओलीले कम्बोडियाको एक टेलीकम कम्पनीमा लगानी गरेको भनेर फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सो कागजात भुवन भुषालले अपलोड गरेका थिए । कम्बोडियामा बस्ने ईश्वर पोखरेल ‘सफल’सँग प्रसाईंले भिडियो कुराकानी गर्दै सो कागजात देखाएका थिए । प्रसाईंले अपलोड गरेको नागरिकताको फोटोकपी र प्रधानमन्त्रीको सक्कली नागरिकता मेल नखाएको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरू बताउँछन् । 

यसअघि असोज ६ मा पनि प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । साइबर अपराध मुद्दामा त्यसबेला उनी धरौटीमा रिहा भएका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर