उपचुनावले राज्य विचौलियाले चलाउने कि जनताले चलाउने भन्ने कुराको फैसला गर्नुपर्छ– प्रचण्ड (भिडियाे)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देश दलाल र विचौलियाहरुले चलाउने गरेको बताएका छन् । देशका करोडौं नेपाली जनतालाई अत्याचारमा पिस्नेकाम भएको उनले दावी गरे ।
काठमाडौंको कीर्तिपुरमा आफ्ना उम्मेदवारलाई जिताउन आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसको पछिल्लो उदाहरण धितोपत्र बोर्डमा गरिएको नियुक्तिलाई लिन सकिने बताए । आफ्नो पार्टीको सरकार हुँदा पनि उनलाई नियुक्त गराउन विचौलियाहरुले दवाव दिएको तर नमानेको तर अहिलेको सरकारले उनैलाई नियुक्त गरेको उनले बताए ।
कीर्तिपुर नगरपालिकामा माओवादीका उम्मेदवार प्रा।डा। शिवशरण महर्जनलाई मत माग्दै अध्यक्ष प्रचण्डले २०६४ मा आफूलाई जिताएर गणतन्त्र मुलुक घोषणा गर्न पाएको स्मरण गरे।
उनी पहिलो संविधान सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित भएका थिए।
‘यो चोकमा उभिएर केही कुरा राख्दै गर्दा १८ वर्ष अगाडिको उत्साह, विश्वास फेरि एकपटक पुनरावृत्ति भएको पाए,’ प्रचण्डले भने, ‘मैले कीर्तिपुरबाट निर्वाचित भएर गणतन्त्र घोषणा गर्ने अवसर पाएको थिएँ। यो कीर्तिपुर नगरपालिकाको प्रमुखको चुनाव जिताएर शिवशरणलाई कीर्तिपुरलाई नमुना कीर्तिपुर बनाउन, यहाँका भ्रष्टाचार अन्त्य गरेर सुशासन गर्न पुरै स्वतन्त्रता दिइनेछ।’
प्रचण्डले शिवशरण बुद्धिजिवी समाजसेवी भएको बताउँदै माओवादी केन्द्रको तर्फबाट चुनाव लडेपनि उहाँ सबैको साझा उम्मेदवार बनिसकेको दाबी गरे।
त्यसअघि नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको चुनाव जनमत संग्रह भएको बताएका छन्।
बिहीबारब नःगाउँ दोबाटोमा आयोजित चुनावी सभामा बोल्दै देशका ४४ स्थानमध्ये कीर्तिपुरमा मेयरको चुनाव भइरहेकाले यो जनमत संग्रह नै भएको उनको दाबी थियो।
‘देशभर ४२ वटा स्थानीय तहमा उपनिर्वाचन हुँदैछ। त्यसमध्ये नगरपालिकाको प्रमुखको निर्वाचन यहाँ मात्रै हुँदैछ। गाउँपालिकाको अध्यक्ष, मोरङमा, उपाध्यक्षहरू, वडाध्यक्षहरूको चुनाव विभिन्न ठाउँमा छन्। हामीलाई नेपाली जनता हेर्दैछन्, कि नेपाली जनता कसको पक्षमा छन्। यो चुनाव, यो कीर्तिपुरको चुनाव अहिलेको अवस्थाका लागि भन्ने हो भने एउटा किसिमको जनमत संग्रह नै हो,’ उनले भने।
उपाध्यक्ष पाण्डेले कीर्तिपुर क्रान्तिको थलो भएको बताए।
‘२००७ साल, २०३६, २०४६ साल होस् कि, २०६२–०६३ आन्दोलन होस् हरेक समयका कीर्तिपुर रगत बगाएको छ। यो रगतको सम्मान गर्नका लागि, सलाम गर्नका लागि म यहाँ आएको छु। क्रान्तिका केन्द्रका मतदाताले आफ्नो मतलाई सहीठाउँमा खसाल्नु पर्छ,’ उनले भने।
दुइटा ठूला पार्टी; नेपाली कांग्रेस, नेकपा (एमाले) मिलेर भ्रष्टाचार, अनियमितता छानबिन गर्न सरकार बनाएको उनले बताए।
‘सबै भ्रष्टाचारका काण्ड छोप्नका लागि अहिले सरकारबनाएका छन्। भुटानी शरणार्थी, गिरिबन्धु, टी इस्टेट, हालसालकै कुरा गर्नुहुन्छ भने मन्त्रीहरू मानिसहरू जापान बेच्न लिएर हिँडिरहेका छ्न, यस्तायस्ता घटनामा मुछिएका मानिसहरूलाई छोपेर सुरक्षा गर्न सरकार बनेको हो। भ्रष्टाचार र अव्यवस्थाकाविरूद्ध मिलेर उम्मेदवारी दिएको हौं,’ उनले भने।
प्रतिकृया दिनुहोस