रियल मड्रिडले हान्याे ५ गाेल, काेपाकाे अन्तिम १६ मा
काठमाडाैं । रियल मड्रिडले डिपोर्टिभा मिनेराविरुद्धको खेलमा प्रभावशाली प्रदर्शन गर्दै ५-० को शानदार जित निकाल्यो। कार्टागोनोभा रंगशालामा भएको खेलमा कार्लो एन्सेलोटीको टोलीले सुरुवाती ३० मिनेटमै तीन गोल गर्दै खेललाई आफ्नो नियन्त्रणमा लिएको थियो। खेलमा फेडे भाल्भेर्डे, एडुआर्डो कामाभिङ्गा, आर्डा ग्युलर (२ गोल), र लुका मोड्रिचले गोल गर्दै आफ्नो टोलीलाई जित दिलाए।
रियल मड्रिडले खेलको पाँचौं मिनेटमै फेडे भाल्भेर्डेको सुन्दर भली मार्फत अग्रता लिएको थियो। त्यसपछि फ्रान गार्सियाको क्रसलाई एडुआर्डो कामाभिङ्गाले हेड गर्दै दसौं मिनेटमै गोल थपे। खेलको २८औं मिनेटमा आर्डा ग्युलरले व्यक्तिगत प्रतिभा प्रदर्शन गर्दै तेस्रो गोल गरे।
पहिलो हाफमा रियल मड्रिडले थप अवसरहरू सिर्जना गरे, तर डिपोर्टिभा मिनेराका गोलकिपर फ्रान मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिएनन्। ब्राहिम, लुका मोड्रिच, र भाल्भेर्डेले थप गोल गर्ने प्रयास गरे पनि पहिलो हाफ ३-० को स्थितिमा सकियो।
दोस्रो हाफमा पनि रियल मड्रिडको दबाब जारी नै रह्यो। खेलको ५५औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै आफ्नो टोलीलाई ४-० को अग्रता दिलाए। खेलको अन्त्यतिर आर्डा ग्युलरले फ्रान गार्सियाको दोस्रो असिस्टलाई सदुपयोग गर्दै आफ्नो दोस्रो गोल गरे र खेललाई ५-० को जितमा समाप्त गरे।
यो खेलमा रियल मड्रिडका युवा खेलाडीहरू लोरेन्जो, डिएगो अगुआदो र चेमा पहिलो पटक पहिलो टोलीको तर्फबाट खेले।
यो जितसँगै रियल मड्रिड कोपा डेल रेको राउन्ड अफ १६ मा पुगेको छ।
प्रतिकृया दिनुहोस