• २०८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025

जय ट्रफी: सन्दीपकाे २ विकेट, आर्मीको दुई अर्धशतकसहित बलियाे याेगफल

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले दुई अर्धशतकको सहयोगमा बागमती प्रदेशविरुद्ध फराकिलो योगफल तयार गरेको छ ।

जय ट्रफी मेन्स एलिट कपको चौथो खेलको पहिलो इनिङमा ओपनर इम्रान शेख तथा बसिर अहमदको अर्धशतकको सहयोगमा आर्मीले बागमतीविरुद्ध फराकिलो योगफल तयार गरेको हो । 

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आर्मीले पहिलो इनिङका लागि निर्धारित ६० ओभरमा ५ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।

आर्मीका लागि ओपनर शेखले सर्वाधिक ७२ रन जोडे । उनले १ सय ४ बलमा ११ चौका प्रहार गरेका थिए । पहिलो विकेटका लागि शेखले अर्का ओपनर तृत राज दाससँग मिलेर १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए र तृत राजले ७८ बलमा ४४ रन जोडेका थिए ।

बसिर ६४ बलमा ५३ रन बनाउँदै नट आउट रहे । बसिरले कुशल मल्लसँग मिलेर छैठौं विकेटका लागि नट आउट ६९ रनको साझेदारी गरे । कुशल ४३ बलमा ३५ रनमा नट आउट रहे । भीम सार्की ५१ बलमा ३२ रन बनाउँदै आउट भए ।

बागमतीका लागि विपिन आचार्यले तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । सन्दीप प्रतियोगितामा १ सय रन खर्चिने पहिलो बलर बने । उनले २२ ओभरमा १ सय ३ रन खर्चिए । आजै आफ्नो पहिलो इनिङको सुरुवात गरेको छ । बागमतीले सुरुवात राम्रो भने गर्न सकेको छैन ।

पहिलो दिनको खेल समाप्ती हुँदा बागमतीले पाँच विकेट गुमाएर १ सय २४ रन जोडेको छ । पहिलो इनिङमा बागमती १ सय ५२ रनले पछि रहेको छ । बागमतीका नन्दन यादव र विपिन आचार्य क्रिजमा रहेका छन् । बागमतीका लागि शुभ कसांकार ३४, उत्तम थापा मगर २८, रित गौतम २१ तथा आशुतोष घिरैया ११ रनमा आउट भए ।

पहिलो दिनमा आर्मीका आकाश चन्दको नाममा तीन तथा सोमपाल कामीको नाममा दुई विकेट रह्यो । दुवै टाेलीले पहिलो खेल बराबरी खेलेका थिए । आर्मीकाे १४ अंक हुँदा बाेनसका कारण बागमतीकाे १५ अंक छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर