माओवादीमा अखिल क्रान्तिकारीको चुनावी परिणामका ८ सन्देश
काठमाडौं । नेकपा माओवादी केन्द्रका भ्रातृ तथा जनवर्गीय संगठनहरु मध्ये अनेरास्ववियू क्रान्तिकारी सबैभन्दा शक्तिशाली संगठन मानिन्थ्यो ।
कुनै बेला ‘सडक बाघ’को उपमा पाएको यो संगठन यतिबेला नीतिगत सिफ्ट हुँदै नयाँ नेतृत्व चयन गरेर ३२ वर्ष मुनिका युवाहरुको संगठन बनेको छ । तर अफसोच २३ औं राष्ट्रिय सम्मेलनका दौरान भएका छलफल, बहस, व्यवस्थापन र नेतृत्व चयनको प्रकृया हेर्दा दिक्क लाग्दो अवस्था छ ।
असोज १० देखि १५ गतेसम्म काठमाडौंमा सम्पन्न हुने भनिएको सम्मेलन हिजो राति माघ १५ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भयो । अथवा सम्मेलन ५ महिनासम्म चल्यो ।
सम्मेलनका दौरान आम विद्यार्थीका समस्या, अखिल क्रान्तिकारीको सामाजिक दायित्व र भूमिका, अग्रगमनका पक्षमा आवश्यक पर्ने क्रान्तिकारी जनचेतका विषयमा बहस नै भएनन् । बरु कुर्सी हान्नेदेखि खुकुरी देखाउनेसम्मको चर्चा चल्यो । यसले अखिल क्रान्तिकारी पनि परम्परागत संसदीय राजनीतिक दलका विद्यार्थी संगठनहरु भन्दा के फरक भयो त ? भन्ने प्रश्न जन्माएको छ ।
यी यावत अस्तव्यस्तताहरु देखेर, भोगेर निर्वाचित भएको नयाँ नेतृत्वले समकालिन राजनीतिमा युवाहरुले फरक ढंगले सोच्छन्, बुझ्छन् र व्यवहार गर्दछन् भन्ने कुरा व्यवहारमा देखाउन सक्यो भने मात्रै पनि नयाँ नेतृत्वको सफलता हुनेछ ।
माओवादी आन्दोलनलाई नै नयाँ रुपमा परिभाषित गर्ने र सन्देश दिने भूमिकामा अखिल क्रान्तिकारीको नयाँ नेतृत्व छ । परिक्षा आजैबाट सुरु भएको छ ।
पहिलो सन्देशः माओवादीमा ४ गुट
यो चुनावको पहिलो सन्देश भनेको पार्टी भित्र देखिनेगरी ४ गुट, पक्ष, समूह वा विचार समूह जे भने पनि अस्तित्वमा छन् भन्ने देखिएको छ । पहिलो गुट वा संस्थापन पक्षको अध्यक्ष प्रचण्डले नै नेतृत्व गरेका छन् । सतहमा त्यसको नेता शक्ति बस्नेतलाई बनाईएको छ ।
बस्नेतका पछाडी प्रचण्डकै सचिवालयमा रहेका रमेश मल्ल, पूर्व अध्यक्ष हिमाल शर्मा, निवर्तमान अध्यक्ष पञ्चा सिंहलगायत थिए । उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्षले उम्मेदवार उठाए पनि पछि फिर्ता लिएर हेडक्वाटर प्यानलमा नै समाहित भयो । यसले महरा पक्ष, उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ लगायतको टिम पनि यही प्यानलको पछाडी देखियो ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अर्को गुट स्थायी रुपमा थियो र यो चुनावमा पनि देखियो । चुनावमा उपदेश यादव त्यो गुटको उम्मेदवारका रुपमा थिए । हुन त श्रेष्ठ पक्षले माओवादीसँग पार्टीमा एकता भएदेखि नै आफ्नो पक्षलाई छुट्टै भागवण्डा र हिस्साको दावी गर्दै आएको छ ।
निश्चित संख्यामा रहेको यो पक्षले आफ्नो उपस्थिति र अस्तित्व देखाईरहेको छ तर बढेको छैन । अखिल क्रान्तिकारीको अध्यक्षमा उपदेश यादवलाई उम्मेदवार उठाएका श्रेष्ठले तेस्रो भएर अन्देखा गर्न नमिल्ने शक्ति हो भन्ने पुष्टि गराए ।
उपमहासचिव जनार्दन शर्मा पक्षले घोेषित रुपमा नै देशभर पार्टी भित्र र अन्य संगठनहरुमा समानान्तर गतिविधि गर्दै आएकै थियो । यो चुनावमा केन्द्रीय अध्यक्षदेखि सबै पदमा हेडक्वाटरले बनाएको प्यानललाई चुनौती दिँदै समानान्तर प्यानलको अभ्यास गर्यो ।
अध्यक्षको उम्मेदवार थिए हेमन्त राई । यो पक्षले पनि देशभर आफ्नो प्यानलमा मतदान गर्न चिट नै वितरण गरेको थियो । तुलनात्मक रुपमा शर्मा पक्षका उम्मेदवारहरुले राम्रो परिणामसमेत ल्याउन सफल भए । घोषित गुट भएकाले उनका नेता कार्यकर्तालाई खुलेर अभियान चलाउन कठिन भएन ।
अर्का उपमहासचिव वर्षमान पुन नजिकका अध्यक्षका उम्मेदवार थिए सुदीन पौडेल । उनले सबैभन्दा कम मत ल्याए ।
नेता पुनले आफ्नो छुट्टै गुट नभएको र अध्यक्ष प्रचण्डकै पक्षमा आफू रहेको बताउँदै आएका थिए । तर यसपाली अखिल क्रान्तिकारीको चुनावमा हेडक्वाटरको प्यानलमा वर्षमानसँग नजिक भनिएका कुनैपनि नेताहरु परेनन् । उम्मेदवारी दिने अघिल्लो दिनसम्म अध्यक्ष प्रचण्डले वर्षमान पुनलाई सुदीन र विजयमध्ये एकलाई अध्यक्ष र अर्कालाई महासचिव वा उपाध्यक्षमा सेट गर्ने र एउटै टिम बनाएर जाने भनेका थिए ।
अन्तिम समयमा अध्यक्ष, उपाध्यक्ष महासचिव लगायत पुरै प्यानल हेडक्वाटरको छुटटै बनेपछि वर्षमान पुन एक्लै परे । उनले जनार्दन शर्माले जस्तो लामो समयदेखि गुटको अभ्यास पनि गरेका थिएनन्, उपाध्यक्ष श्रेष्ठको जस्तो परम्परागत छुट्टै टिम पनि थिएन ।
आफ्नै नजिक रहेका नेताहरुलाई खुलेर लाग्न निर्देशन पनि दिएनन् । अन्तिम समयमा आफ्नो छुट्टै प्यानल खडा गर्न र तयारी गर्न पनि भ्याएनन् । परिणाम स्वरुप उनका अध्यक्षका उम्मेदवारले कम मत ल्याए । भलै अखिल क्रान्तिकारीको चुनावमा जे परिणाम आए पनि देशभर पार्टी तथा संगठनहरुमा उनको जवरजस्ता उपस्थिति छ । जसले जुनसुकै एक पक्षसँग मिल्दा निर्णय उल्ट्याउन सक्छ ।
दोस्रो सन्देशः माओवादीमा अब चुनावबाट नयाँ नेतृत्व
हुन त अखिल क्रान्तिकारीमा सम्मेलनबाट नेतृत्व चयन गर्दा चुनावको विधि अपनाईएको यो पहिलो पटक होईन । २१ औं राष्ट्रिय सम्मेलनका क्रममा तत्कालिन अध्यक्ष रञ्जित तामाङ र अनिल शर्माबीच प्यानल बनाएरै निर्वाचन भएको थियो ।
जनार्दन शर्माले अघि सारेका उनकै भाई अनिल शर्मा पराजित भएका थिए । वर्षमान पुनको साथ पाएका तामाङ विजयी भएका थिए । त्यतिबेला अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महराहरुको छुट्टै टिम थिएन ।
यस पटक सम्मेलनमा ३२ वर्ष उमेर हद् लगाउने कि नलगाउने विषयमा विवाद भयो र पुस १३ मा भएको उमेर हद बारे चुनावमा खुला पक्षधर पराजित भए । ३२ वर्ष मुनिबाट आगामी २ वर्षका लागि संगठनको नेतृत्व हाँक्ने नीति तय भयो ।
दोस्रो चरणमा नेतृत्व चयनका लागि निर्वाचन भयो । यो निर्वाचनले माउ पार्टी र अन्य जनवर्गीय संगठनहरुलाई पनि चुनावी विधिबाट नेतृत्व चयन गर्ने सन्देश दिएको छ ।
कम्युनिष्ट पार्टीहरुले नेतृत्व चयन गर्दा अपनाउने टिके परिपाटीको अन्त्य गर्दै जनवादी केन्द्रीयताको संठगनात्मक सिद्धान्त पालना गर्ने तर आन्तरिक लोकतन्त्रको अभ्यासलाई पनि संगसंगै लैजानुपर्ने सन्देश दिएको छ । यसो गरिएन भने पार्टी तथा संगठनमा पुरानाको विदाई र नयाँको आगमनको स्वाभाविक प्रकृया अवरुद्ध हुने, नयाँ युवाहरु विकल्प खोज्दै अन्यत्र भौतारिने अवस्था आउन सक्छ ।
तेस्रो सन्देशः स्वतन्त्र उम्मेदवारको जित र सन्तुलित टिम
अखिल क्रान्तिकारीको यो चुनावले दिएको अर्को महत्वपूर्ण सन्देश भनेको कुनै नेताको चाहना भए पनि नभए पनि, कुनै गुट तथा प्यानलमा नपरे पनि चुनाव जितिन्छ भन्ने सन्देश हो ।
क्रान्तिकारी विद्यार्थीहरुले गुण र दोषका आधारमा, योग्यता र क्षमताका आधारमा, योगदान र सम्भावनालाई हेरेर पनि मतदान गरे । हेडक्वाटर वा शर्मा प्यानलका नाममा बाँडिएका चीटमा नपरे पनि चुनाव जितिन्छ भन्ने कुराको बलियो उदाहरण हुन् उपाध्यक्षमा निर्वाचित मदन ढकाल, विराज थापा, देउमा जैसि 'दीपा' लगायत । सदस्यसम्म पुग्दा यो संख्या राम्रै प्रभाव पार्न सक्ने अवस्थामा छ ।
अखिल क्रान्तिकारीलाई कुनै नेताको चाहना अनुसार मात्रै लैजान सम्भव नै छैन । समग्र पार्टी र संगठनको आवश्यकता अनुसार क्रान्तिकारीलाई अघि बढाउनु पर्ने बाध्यता चुनावी परिणामले दिएको छ । हेडक्वाटर प्यानलका अध्यक्ष, शर्मा प्यानलका महासचिव र कोषाध्यक्ष, स्वतन्त्र रुपमा निर्वाचित उपाध्यक्ष लगायतको टिमले अखिल क्रान्तिकारीलाई सन्तुलित बनाएको छ ।
चौथो सन्देशः गुटहरु शक्तिशाली, अध्यक्ष प्रचण्ड कमजोर
अखिल क्रान्तिकारीको यो चुनावले दिएको अर्को राजनीतिक सन्देश भनेको माओवादी भित्र गुटहरु खुला र शक्तिशाली हुँदै गएका छन् । अध्यक्ष प्रचण्डको प्रभाव कमजोर हुँदै गयो भन्ने सन्देश पनि यो चुनावले दिएको छ ।
अघिल्लो चुनावमा प्रचण्ड निकटको भनेर छुट्टै प्यानल बनाईएको थिएन । वर्षमान र जनार्दन पक्षका प्यानल थिए । तर यसपाली शक्ति बस्नेतलाई अघि सारेर प्रचण्डको सचिवालयमा रहेका रमेश मल्ल, हिमाल शर्मा र निवर्तमान अध्यक्ष पञ्चा सिंहसमेत लागेर हेडक्वाटर प्यानल भन्दै छुट्टै चिट मात्रै बाँडेनन् देशभरका नेता कार्यकर्तालाई हेडक्वाटर प्यानलमा मतदान गर्न भन्दै फोन गरे । तर त्यसको प्रभाव खासै परेन ।
अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटाले बल्ल बल्ल जिते तर अन्य प्रायःले हारे । यसको अर्थ र प्रभाव पार्टी र अन्य जनवर्गीय संगठनहरुमा पनि उसैगरी पर्ने हो भने प्रचण्डमाथि प्रश्न थपिने पक्का छ ।
पाचौं सन्देशः बलियो बन्दै शर्मा गुट
यो निर्वाचन परिणामको अर्को सन्देश भनेको पार्टी र संगठनहरु भित्र उपमहासचिव जनार्दन शर्माको जवरजस्त उदय र प्रभाव बढ्दो छ भन्ने पनि हो । पार्टीलाई चुनावी प्रकृयामा लैजानुपर्ने, नेतृत्वको विकल्प खोज्दै दोस्रो वा तेस्रो तहमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने जस्ता विषयहरु उनले बहसका रुपमा राख्दै आएका छन् ।
अध्यक्ष प्रचण्डकै विरुद्ध फरक धार र धारणा बनाउँदै आएका उनले आफू पक्षीय नेता कार्यकर्ताको बलियो संरक्षण गर्ने र प्रभाव बढाउने काम गरिरहेका छन् । यसको परिणाम पनि क्रमशः आईरहेको छ । यसपाली अखिल क्रान्तिकारीमा महासचिव, कोषाध्यक्ष, लगायत अधिकाँश पदाधिकारीमा उनको प्यानलका नेताहरु विजयी हुनुले पनि यो कुरा प्रमाणित गर्दछ ।
छैटौं सन्देशः वर्षमानः कि आफ्नो टिम बनाउ कि अध्यक्षमा विलय
अखिल क्रान्तिकारीको यो चुनावले उपमहासचिव वर्षमान पुनलाई सतहमा कमजोर देखायो । किनभने उनले साथ दिएका उम्मेदवार सुदीन पौडेलले सबैभन्दा कम मत ल्याए । तर देशभरको पार्टी संठगन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धलाई हेर्ने हो भने उनी त्यति कमजोर होईनन् । अध्यक्ष प्रचण्डपछि माओवादीमा शक्तिशाली नेता हुन् उनी । तर यसपाली उनी फरक प्यानल बनाएर अखिलको चुनावमा जाने पक्षमा थिएनन् ।
अध्यक्ष प्रचण्डसँगै एउटै टिम बनाएर जाने उनको तयारी थियो । त्यसैले उनले आफू नजिकका नेताहरुको सूची दिएर प्रचण्ड पक्षकै एउटै टिम बनाउन लागिपरे । तर अन्तिम समयमा हेडक्वाटर प्यानल भनेर वर्षमान पुनले अघि सारेका कसैलाई पनि नसमेटि उम्मेदावर खडा गरेपछि वर्षमान पुन संकटमा परे । उनले कि त सबै छोडेर अध्यक्षकै टिमलाई समर्थन गर्दै चुपचाप बस्नुपर्ने अवस्था आयो कि आफ्ना उम्मेदवार अघि सार्नुपर्ने थियो ।
आफ्नो छुट्टै प्यानल बनाउन भ्याएनन् वा चाहेनन् तर अध्यक्षमा सुदीन पौडेलले उमेदवारी दिए । परिणाम कमजोर देखियो । यसले उनलाई सम्पूर्ण तयारी गरेर आफ्नो छुट्टै टिम बनाउ वा सबै छोडेर अध्यक्ष प्रचण्डले भनेजस्तै गरेर जाउ भन्ने दुई विकल्प दिएको छ ।
सातौं सन्देशः शक्ति बस्नेत अघि सारेर नयाँ गुटको उदय
सतहमा उपमहासचिव शक्ति बस्नेत अघि सारिए पनि यसलाई अध्यक्ष प्रचण्ड, उपाध्यक्ष कृष्णबहादुर महरा, अग्नि सापकोटा, पम्फा भुसाल, देव गुरुङ, मातृका यादवलगायतका पुराना नेताहरुको साथ रहेको देखिन्छ । तर अध्यक्ष प्रचण्डलाई यो गुटमा नमुछ्ने हो, वा उनी तटस्थ बसिदिने हो भने निक्कै कमजोर समूह हो यो । अध्यक्ष आफैं नदेखिए पनि अध्यक्षको सिंगो सचिवालय यसको पक्षमा खुलेर लागेकाले यसको असर देशव्यापी रुपमा देखिएको हो । परिणाम स्वरुप अध्यक्ष पदमा यही गुटबाट विजयप्रकाश शर्मा सापकोटा निर्वाचित भए । तर अन्य पदहरुमा भने यो गुटको प्रभावशाली उपस्थिति देखिएन ।
आठौं सन्देशः भद्रगोल, अन्योलता र अव्यवस्थाको व्यवस्थापन जरुरी
यो चुनावको महत्वपूर्ण सन्देश भनेको भद्रगोल व्यवस्थापन, अन्योलता र सन्देहपूर्ण प्रकृयाको अन्त्य गरेर भयरहित, स्वच्छ तथा निष्पक्ष सम्मेलन, अधिवेशन र चुनावहरु हुन जरुरी छ भन्ने पनि हो ।
सम्मेलन सुरु भएको ५ महिना पछि नेतृत्व चयन गर्नु, सम्मेलनमा प्रतिनिधिको टुंगो नै नलगाई बन्दसत्र गर्नु, विधान संशोधन प्रस्तावमा आएको उमेरहदको कार्यान्वयन जारी सम्मेलनमा नै गर्न खोज्नु र यही सम्मेलनमा प्रदेश तथा स्थानीय तहहरुमा भने पुरानै विधान अनुसार नेतृत्व चयन हुनु यसका विश्रृंखलता हुन् । बेलैमा चुनाव नगर्ने, चुनाव गरेपछि पनि बेलैमा मतगणना र मत परिणाम सार्वजनिक नगर्ने कुराले यो लोकतान्त्रिक प्रकृयालाई नै भद्दा बनाईदियो ।
आपसमा आशंका र जसरी भएपनि चुनाव जित्नका लागि जुनसुकै हत्कण्डा अपनाईन्छ भन्ने सन्देश गएको छ । भलै प्रक्रिया र व्यवस्थापनको कमजोरीले नै यो अवस्था सृजना भएको किन नहोस् । त्यसैले चुनावी प्रकृया अपनाउँदै गर्दा पनि यसलाई फ्रि एण्ड फेयर बनाउन पुर्याउनु पर्ने विधि र प्रकृया भने पालना गर्नै पर्दछ ।
प्रतिकृया दिनुहोस