पासाङलाई प्रस्ताव गरेर प्रचण्डले प्रहार गरेका 'दुई तीर'
काठमाडौं । समकालिन नेपाली राजनीतिज्ञ मध्य प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सबैभन्दा चतुर राजनीतिक खेलाडी हुन् भन्दा फरक पर्दैन ।
उमेरले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भन्दा कान्छा । स्वास्थ्य अवस्था पनि अन्य दुईको भन्दा प्रचण्डको राम्रो देखिएको छ ।
हरेक दिन ब्याम गर्ने, देश दौडाहामा कार्यक्रममा हिड्ने, मन परेका मनोरम स्थानमा 'रिफ्रेस'का लागिसमेत परिवार लिएर जाने गर्दछन् उनी । उनको अर्को विशेषता भनेको आवश्यकता हेरेर अति निर्मम र अति नरम हुन सक्दछन् ।
एकै पटक दुई वा तीन विकल्पका साथ अघि बढ्न सक्दछन् । समानान्तर राजनीतिक चाल चल्नु र जुनसुकै विकल्पबाट होस राजनीतिक पहलकदमी आफ्नो हातमा लिनु उनको विषेशता हो ।
जनमतका हिसावले उनको दल यतिबेला तेस्रो स्थानमा रहेकाले अहिले उनको चालले पनि काम गर्न सकेको छैन ।
तत्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग शान्तिप्रकृयाबारे डिल गरेर यता संसदीय राजनीतिमा छाएका प्रचण्ड दल सानो वा ठूलो किन नहोस राजनीतिक मुद्दा र राजनीतिक एजेण्डाको केन्द्रमा छन् ।
कतिपयले प्रचण्डलाई संसदीय राजनीतिमा चलाखिपूर्ण चाल चल्न गिरिजासँगै सिकेको भन्ने पनि गर्दछन् । भलै उनी भने संसदीय राजनीतिका सुरुवाती दिनहरु 'क्रान्तिकारी रोमान्टिसिजम'का रुपमा व्यतित भएपनि पछिल्लो चरणमा भने माओवादी पनि परिपक्ल हुँदै गएको बताउने गर्दछन् ।
यहाँ हामिले चर्चा गर्न खोजेको माओवादी केन्द्रकै तर्फबाट दुई कार्यकाल उपराष्ट्रपति बनेका तत्कालिन जनसेनाका कमाण्डर नन्दबहादुर पुन पासाङबारे हो ।
पासाङ उपराष्ट्रपतिका रुपमा कार्यकाल सकिएपछि काठमाडौंमै रहेको आफ्नो नीजि निवासमा आराम गरेर बसिरहेका थिए ।
पासाङ नजिकका उनका सहयोगीले समाचार दैनिकसँगको कुराकानीमा बताए अनुसार प्रचण्डले पासाङलाई राजनीतिमा फर्कने निम्ता पठाए ।
हुन त माओवादी केन्द्रीय समिति बैठकमा प्रचण्डले पासाङकै रहरका कारण उनी पार्टीको सक्रिय राजनीतिमा फर्किएको जानकारी दिएका थिए । तर पासाङ किनटस्थहरु प्रचण्डकै आग्रह अस्वीकार गर्न नसकेर पासाङ फर्किएको बताउँछन् ।
उसाे त गत मंसिर १९ गते गणतन्त्र सेनानी कोषले आयोजना गरेको कार्यक्रममा नै पासाङले आफू सक्रिय राजनीतिमा आउन लागेको संकेत गरेका थिए ।
जनमुक्ति सेनाका डेपुटी कमान्डरसमेत रहेका पासाङले व्यवस्थाको रक्षाका लागि आफू फेरि ‘रातो मान्छे’ बनेर उभिन तयार रहेको बताएका थिए । कसैले प्राप्त उपलब्धी उल्ट्याउन चाहन्छ भने त्यसको प्रतिरोध गर्न तयार रहेको भन्दै उनले गणतन्त्र, संघीयता, समानुपातिक समावेशी व्यवस्थालगायत उपलब्धी उल्ट्याउने दुस्साहस नगर्न चेतावनीसमेत दिएका थिए ।
‘यो गणतन्त्रको रक्षाका लागि अझ दृढतापूर्वक लड्नुपर्ने जरुरी छ । अहिलेको उपलब्धी कसैले उल्ट्याउन चाहन्छ भने तपाईँ /हामी सबै आगो बन्न तयार हुनुपर्छ । म यो गणतन्त्रको योद्धा हुँ । प्रक्रियावादीहरुले जाल, षड्यन्त्र गरेर प्राप्त उपलब्धिहरुलाई फेरि उल्ट्याउन चाहन्छन् भने, समानुपातिक समावेशी र यो संघीयतालाई फेरि दायाँबायाँ गराउन चाहन्छन् भने म फेरि रातो मान्छे भएर उभिन तयार छु । विगतमा मैले जे–जे गरेँ, त्यो भन्दा नयाँ उचाइबाट मैले नेतृत्व गर्न सक्छु भन्ने साहस मसँग छ,’– उनले सो क्रममा भनेका थिए ।
अहिले उनलाई माओवादी केन्द्रले उत्पादन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी उपाध्यक्ष बनाउने भनिएपनि त्यसको घोषणा अहिलेसम्म हुन सकेको छैन ।
यहाँनेर पासाङलाई प्रचण्डले राजनीतिमा निम्तो दिनुको कारण के हुनसक्ला भनेर चर्चा गर्न खोजिएको हो । पासाङ राजनीतिमा फर्कनाले अनेक अर्थ र प्रभाव पार्ने भएपनि यतिबेला मूलभुत रुपमा दुई असर र प्रभाव पार्ने माओवादी नेताहरु टिप्पणी गर्दछन् ।
पासाङलाई राजनीतिमा निम्तो दिनुको पहिलो प्रचण्ड कारण भनेको आफ्नै पार्टीमा शक्ति सन्तुलन कायम गर्नु हो ।
अध्यक्ष प्रचण्डका समकालिन नेताहरु जसले उनलाई नेतृत्वमा टक्कर दिनसक्थे, प्रचण्डका पनि राजनीतिक गुरु मोहन बैद्य र डा बाबुराम भट्टराई माओवादी छोडेर आफ्नो छुट्टै पार्टीसहित राजनीतिमा सक्रिय छन् ।
त्यसपछि पार्टी भित्र उनलाई टक्कर दिने अर्को नेता अहिलेसम्ममा झुल्किएको छैन । तर पार्टी भित्र उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माको प्रभाव गहिरो छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पुरानो आफ्नै टिम छ तर निर्णायक छैन ।
मोहन बैद्यतिर गएर फर्किएर आएका पम्फा भुषाल, देव गुरुङ लगायतको पनि सानो टिम छ, तर त्यो प्रचण्डसँगै जोडिएर अघि बढिरहेको छ । अन्यथा प्रचण्ड र उनको वरपर गोलबन्द भएको शक्ति नै सबैभन्दा प्रभावकारी देखिन्छ ।
तर यदी उपमहासचिवद्वय पुन र शर्मा मिल्ने हो भने अध्यक्ष प्रचण्डलाई बलियो धक्का दिन सक्दछन् ।
कुनै बेला तत्कालिन नेताहरु मोहन बैद्य, बाबुराम, बादल र नारायणकाजीसमेत लागेर धोवीघाट गठबन्धन गर्दै प्रचण्डलाई एक्ल्याएका थिए । त्यसैका आधारमा बाबुराम प्रधानमन्त्री पनि बनेका थिए । तर प्रचण्डले त्यो गठबन्धन केहीसमय भित्रै विघटन गराउन सफल भए ।
अहिले पनि उपमहासचिव द्वय मिल्दा सृजना हुनसक्ने अप्ठ्यारो अवस्थालाई मध्यनजर गर्दै पासाङ मार्फत शक्ति सन्तुलन गर्न खोजेको रुपमा माओवादी नेताहरु ब्याख्या गर्दछन् ।
पासाङलाई अघि सार्नेदेखि, महरालाई सक्रिया राजनीतिमा फर्काउने, नेत्रविक्रम चन्दको नेकपा र माधवकुमार नेपालको एकीकृत समाजवादीसँग एकता गर्ने जस्ता विकल्प पनि अध्यक्ष प्रचण्डले अघि सारेका छन् ।
जे होस यसपाली पासाङलाई अघि राजनीतिमा ल्याउनुको कारण शक्तिका रुपमा उदाइरहेका उपमहासचिवद्वयलाई सन्तुलनमा राख्नु हो भन्ने बुझाई छ ।
नेपाली राजनीतिमा छाइराख्ने प्रचण्डको अर्को चाल भनेको कम्युनिष्ट वामपन्थी दलहरुका बीचमा सहकार्य र एकता हो । कुनै बेला अध्यक्ष प्रचण्डकै सक्रियतामा नेकपा एमालेसँग एकता गरेर नेकपा गठन भएको थियो । तर त्यो धेरै टिकेन ।
अदालतको आदेसँगै नेकपा फुट्यो र पुरानै दलमा माओवादी र एमाले फर्किए । भलै यो फैसलाको संवैधानिकता र बैधानिकताबारे संवैधानिक कानुनको बृत्तमा छुट्टै बहस छ ।
अदालतले पार्टी फुटाइदिएपनि अध्यक्ष प्रचण्ड यसलाई नयाँ आधार र स्वरुपमा फेरी जोड्न चाहान्छन् । सोमबार एक कार्यक्रममा प्रचण्डले भनेका थिए, एमालेको नेतृत्वमा केपी रहुन्जेलसम्म एमालेसँग सहकार्य तथा एकता सम्भव छैन ।
यसको मतलव प्रचण्ड एमालेमा अरु कोही भएको देख्न चाहान्छन् । समकालिन एमाले नेताहरुमा उनलाई चुनौती दिनसक्ने अर्को नेता अहिले छैन ।
एमालेमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि राजनीतिक मूलधारमा फर्काउने पर्ने चर्चा चलिनै रहेको छ । उनले आफ्ना गतिविधिहरुसमेत राजनीति लक्षित गरिरहेकी छन् । उता एमाले अध्यक्ष ओलीले भने त्यसको आलोचना गरेका छन् ।
प्रचण्डले माओवादीमा पासाङलाई निम्ता दिनुको अर्को कारण राष्ट्रपति विद्या भण्डारीलाई पनि एमालेको नेतृत्वमा ल्याउनु र अन्ततः कम्युनिष्ट एकताको वातावराण बनाउनु रहेको कतिपयको बुझाई छ ।
पूर्व उपराष्ट्रपति पासाङको आगामनले पूर्व राष्ष्ट्रपति भण्डारीलाई पनि राजनीतिमा आगमनको बाटो खुल्ने प्रचण्डको विष्लेशण हुनसक्ने कतिपय एमालेका नेताहरुको बुझाई छ ।
अर्को एउटा सत्य के हो भने, केपी ओलीसँग भन्दा विद्या भण्डारीसँग प्रचण्डको सम्बन्ध निक्कै राम्रो छ र एमाले आन्तरिक राजनीतिमा भण्डारीको पकड पनि ओलीभन्दा उत्तिकै बलियो छ । अझ कतिपयले ले ओलीले विद्याकै गुटको नेतृत्व गरेको मात्रै हो भन्ने गर्दछन् ।
प्रतिकृया दिनुहोस