सिन्धुपाल्चाेक पुगेर प्रचण्डले भनेः 'देशकाे जिम्मा लिने बेला फेरि आएको छ'

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले देशकाे जिम्मा फेरि लिनुपर्ने अवस्था आएको बताएका छन् ।
'देशको जिम्मा फेरि एकपटक माओवादीले लिनुपर्ने भएको छ । संविधान निर्माणको प्रमुख हिस्सेदार तथा शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता हुनुको नाताले देशको जिम्मा लिनुपर्ने अवस्था आएको छ, ‘त्यसैले ७० वर्ष नाघे पनि म देशदौडाहा छु,' उनले भनेका छन् ।
आज सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको नगर सम्मेलन तथा जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभित्र परिवर्तनलाई उल्टाउन षड्यन्त्र भइरहेकाले त्यसलाई रोक्न आफू पुनः सक्रिय भइरहेको पनि बताएका छन । उनले भने, ‘देशको जिम्मेवारी लिने ऐतिहासिक अभिभारा पुनः एकपटक हाम्रो काँधमा आएको छ ।'
'पूर्वमेचीदेखि महाकालीसम्म पुगिरहेको छु, उकाली आरोली गरिरहेको छु,’ प्रचण्डले थपे ।
उनले माओवादी अब कांग्रेस र एमालेको बैशाखी नबन्ने भन्दै आफ्नै जनताप्रति विश्वास गर्ने र आफ्नै भरमा निर्वाचनबाट सरकारको नेतृत्व गर्ने पनि बताएका छन ।
प्रचण्डले साे क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज रामकृष्ण खतिवडासहित,नेकपा एमाले,नेपाली कांग्रेस र राप्रपा नेपालसहितका विभिन्न पार्टी परित्याग गरी ५० बढी नेकपा(माओवादी केन्द्र)मा प्रवेश गराएका थिए ।
उनले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाउँदै धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।
उनले वंश मास्ने र मूर्ति चोर्नेहरूले धाक लगाउन मिल्छ ? भन्दै प्रश्न गरेका छन् । ‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए, नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ?’ उनले भने, ‘आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?’ प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्न चाहेको बताएका छन् । आफूले पूरा कार्यकाल प्रधानमन्त्री बन्न पाएको भए दरबार हत्याकाण्डको छानबिन निचोडमा पुर्याउने सुनाए ।
‘मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एक पटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ । मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एक पटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो’, प्रचण्डले भने ।
प्रचण्डले ज्ञानेन्द्रको दुस्साहसलाई जवाफ दिन आफूहरू तयार भएको बताए । उनले आफू प्रधानमन्त्री जनताको बलमा नै भएको बताए ।
प्रतिकृया दिनुहोस