बिहान कफी पिउँदा हुन्छन् यस्ता फाइदा, घट्न सक्छ जोखिम

काठमाडौँ । संसारभरका लाखौँ मानिसहरू आफ्नो दिनको सुरुवात कफीबाट गर्छन् । बिहान बिहान धेरैलाई मन पर्ने पेय हो कफी ।
केही मानिसहरू बिहानको सट्टा दिउँसो वा साँझ कफी पिउन रुचाउँछन् । तर, एउटा नयाँ अध्ययनले भने बिहान कफी पिउनाले मुटुको स्वास्थ्यमा सुधार आउने देखाएको छ ।
कफी मुटुको स्वास्थ्यको लागि बढी फाइदाजनक मानिन्छ र यो पिउने सबैभन्दा राम्रो समय बिहान हो ।
यो अनुसन्धानको प्रतिवेदन युरोपियन हार्ट जर्नलमा प्रकाशित भएको छ । बिहान कफी पिउने मानिसहरूमा मुटु रोगबाट मृत्यु हुने जोखिम कम हुने कुरा पनि यसले देखाएको छ ।
अमेरिकाको टुलेन विश्वविद्यालयका वैज्ञानिकहरूले हालै गरेको एक अध्ययनले बिहान कफी पिउनेहरूमा कुनै पनि कारणले मृत्युको जोखिम १६ प्रतिशत र मुटु रोगबाट मृत्युको जोखिम ३१ प्रतिशत कम हुने दाबी गरेको छ । तर, कफी नपिउनेहरूको तुलनामा पुरै दिन कफी पिउनेहरूको मृत्युको जोखिममा कुनै कमी पाइएन ।
यस अध्ययनमा अनुसन्धानकर्ताहरूले ४० हजार ७२५ जना वयस्कहरूको १९९९ देखि २०१८ बिचको डेटा विश्लेषण गरेका थिए । यस अध्ययनमा कफीबारे कयौँ अचम्मलाग्दा कुराहरू पनि प्रकाशमा आएका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार तपाईं कफी पिउनुहुन्छ कि पिउनुहुन्न ? वा कति कफी पिउनुहुन्छ ? भन्ने कुरा मात्र महत्त्वपूर्ण हुन्न । दिनको कुन समयमा कफी पिइन्छ भन्ने कुरा झनै महत्त्वपूर्ण हुन्छ ।
प्रतिकृया दिनुहोस