ज्ञानेन्द्रको आव्हानले राजावादीहरु फुटायाे, गणतन्त्रबादी जुटायाे

काठमाडौं । एक आम नागरिकको हैसियतमा रहेका नेपालको राजनतन्त्रात्मक इतिहासका अन्तिम राजा ज्ञानेन्द्रले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफूलाई साथ दिन प्रजातन्त्र दिवसको सन्दर्भमा आव्हान गरेका थिए । उनी पोखराबाट काठमाडौं फर्कंदै गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सापेक्षित रुपमा ठूलै समूह पनि देखियो । तर त्यसको भोलिपल्टदेखि नै राजावादीहरुबीच छेडखानी शुरु भयो ।
राजा ल्याउने अभियानको नेतृत्व आफूले गरेको, लामो समयदेखि तयारी गरेको र मानिसहरु सडकमा आएपछि राजावादी दलहरु राप्रपा र राप्रपा नेपाल जस लिन आएको आरोप विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लगाए ।
जसका कारण संसदमा प्रतिनिधित्व गरेका र एउटा हैसियत बनाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतलाई चिढ्यायो पनि ।
त्यसपछि ज्ञानेन्द्र शाहले राप्रपाकै एक नेता, पुराना पञ्च नवराज सुवेदीको नेतृत्वमा सबैलाई अटाउने भन्दै नयाँ संघर्ष समिति बनाए । तर त्यसमा पनि लिङदेनसहितका नेताहरुले चित्त बुझाएनन् ।
तर ८६ वर्षीय पञ्चायती नेता नवराज सुवेदी। रामेछाप निवासी सुवेदी अहिलेको संसद् जस्तै तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्ष हुन्। पञ्चायतकालमा उनी पटक–पटक मन्त्री भइसकेका व्यक्ति हुन्।
राजावादीहरू एकले अर्काको अस्तित्व स्विकार्न नसकिरहेका वेला सर्वस्वीकार्य हुने बुझाइसहित पूर्वराजा शाहले सुवेदीलाई रोजे तर सुवेदीको नेतृत्व प्रारम्भमै झन् अस्वीकार्य बन्न पुगेको छ।
जिम्मेवारी पाएपछि छुट्टाछुट्टै र संयुक्त रूपमा राजसंस्था पक्षधरहरूसँग छलफल गरेर सुवेदीले आन्दोलन निर्देशक समिति घोषणा गरिसकेका छन्। सोमबार एउटा संयुक्त भेला बोलाएर उनले राजनीतिक प्रतिबद्धतापत्र सार्वजनिक गरे भने आफ्नै नेतृत्वमा आन्दोलन सञ्चालनका लागि निर्देशक समिति घोषणा गरे।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सदस्य सचिव छन् भने समिति सदस्यहरूमा वर्णानुक्रमअनुसार अस्मिता भण्डारी, कमल थापा, केशरबहादुर बिष्ट, दुर्गा प्रसाईं, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंहलगायत छन् ।
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डासहित राजनीति गरिरहेका राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देन हुन् तर अध्यक्षलाई बाइपास गरेर राप्रपाकै कार्यसम्पादन समिति सदस्य र अनुशासन समिति अध्यक्ष रहेका सुवेदीले सिंगो आन्दोलन हाँक्ने जिम्मेवारी दिइएपछि राजावादी राप्रपा संस्थापन पक्ष रुष्ट बनेको छ।
राप्रपाले लिङदेनकै नेतृत्वमा छुट्टै आन्दोलन समिति बनायो भने, सुवेदी नेतृत्वलाई कमल थापा लगायतले साथ दिने निर्णय गरे ।
यही चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मूल समितिको बैठक बस्ने प्रवक्ता ज्ञानबहादुर शाहीले जानकारी दिए।
राप्रपा कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ।
दरबारले नवराज सुवेदीलाई आन्दोलनको कमाण्डर बनाएको चर्चा छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कसले भनेको? चिठीपत्र कसैले फेला पार्नुभएको छ? अडियो सडियो, भिडियो छ? त्यस्तो छ भने पनि मेरो जानकारीमा छैन। राप्रपालाई थाहा छैन। म त्यो समितिमा बस्दिनँ भनिसकेको छु।’
यद्यपि, जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपा खुशी हुने लिङदेनको भनाइ छ।
राजसंस्थाकै वकालत गर्दै आएको अर्को दल राप्रपा नेपालका अध्यक्ष कमल थापा निर्मल निवासले तोकेका सुवेदीप्रति सन्तुष्ट छैनन्। सुवेदी नेतृत्वको समितिमा थापाले पनि सदस्य नरहने बताएका छन्।
समितिभित्र राखिएका अर्का एक सदस्य केशरबहादुर बिष्टले आफू समितिमा नरहने स्पष्ट पारिसकेका छन्।
निर्देशक समितिका सल्लाहकार राखिएका डा. राजेश अहिराजले समितिमा नरहेको बताएका छन्। डा. अहिराज मधेशका पूर्व प्रदेश प्रमुख हुन्।
निर्देशक समितिको प्रमुख सल्लाहकारमा सांस्कृतिक अभियन्ता डा. जगमान गुरुङ छन् भने सल्लाहकारहरूमा डा. अहिराजसहित पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, डा. शास्त्रदत्त पन्त र खेमराज सेढाईं छन्।
ज्ञानेन्द्र शाहकाे अस्वभाविक चलखेलका कारण गणातन्त्रवादीहरूकाे स्वर भने एउटै भएकाे छ ।
प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत गणतन्त्र पक्षधर दलहरूकाे संसद र सडकमा एउटै स्वर भएकाे छ ।
उनीहरूले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेकाे, याे अभियानमा भारतीय हिन्दुवादी शक्तिकाे हात रहेकाे र ज्ञानेन्द्र शाहले चलखेल गरेमा सरकार थप कठाेर हुने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस