आरसीबीको रोमाञ्चक जित, मुम्बई पराजित

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको निकै हाइस्कोरिङ र रोमाञ्चक खेलमा सोमबार मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको छ । आरसीबीले वाङ्खडे रंगशालामा मुम्बईलाई १० वर्षयता पहिलो पटक पराजित गरेको हो । चौथो खेलमा आरसीबीको यो तेस्रो विजय हो ।
यसअघि कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्सलाई पनि उसैकै मैदानमा पराजित गरेको आरसीबी अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । शीर्ष दुई स्थानमा रहेका दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सको पनि समान ६ अंक छ । तर नेट रनरेटमा यी दुई टोलीभन्दा आरसीबी पछाडि छ । आफ्नो प्रमुख बलर जसप्रित बुमराह मैदानमा फर्किए पनि मुम्बईको नतिजामा कुनै परिवर्तन आएन । ५ खेलमा टोली चौथो पराजय भोग्न बाध्य रह्यो ।
१८ औं ओभरमा भुवनेश्वर कुमारले तिलक बर्मालाई आउट गरेको अवस्थामा अन्तिम दुई ओभरमा जेसल हेजलउड र क्रुनाल पाण्ड्येले उत्कृष्ट बलिङ गर्दै आरसीबीलाई नाटकीय विजय दिलाए । अन्तिम दुई ओभरमा मुम्बईलाई विजयनिम्ति २८ रन चाहिने अवस्थामा हेजलउडले १९ औं ओभरको पहिलो बलमा कप्तान हार्दिक पाण्ड्येलाई आउट गर्दै ९ रनमात्र खर्चेका थिए । हार्दिकले १५ बल खेल्दै ३ चौका र ४ छक्कासहित ४२ रन बनाए ।
अन्तिम ओभरमा मुम्बईलाई विजयनिम्ति १९ रन चाहिने अवस्थामा क्रुनालले ६ रनमात्र खर्चेर मिचेल सान्टनर (८), दीपक चाहार (०) र नमन धिर (११) लाई आउट गरे । क्रुनालले ४ ओभरमा ४५ रन खर्चेर कुल ४ विकेट लिए । यश दयालले ४ ओभरमा ४६ र हेजलउडले ३७ रनमा खर्चेर २–२ विकेट लिए । बर्माले २९ बल खेल्दै समान ४ चौका र छक्कासहित ५६ रन बनाए । सूर्यकुमार यादव २६ बलमा २८, विल ज्याक्स १८ बलमा २२ तथा ओपनरद्वय रोहित शर्मा र रायन रिकेल्टन समान १७ रनमा आउट भए ।
यसअघि विराट कोहली र कप्तान रजत पटिदारको अर्धशतकमा आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय २१ रन बनाएको थियो । २९ बलमा अर्धशतक पूरा गरेका कोहलीले कुल ४२ बल खेल्दै ८ चौका र २ छक्कासहित ६७ रन बनाए । प्लेयर अफ द म्याच पटिदारले ३२ बल खेलेर ५ चौका र २ छक्कासहित ६४ रन बनाए । देवदत्त पाडिकलले २२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए । इनिङ्सको अन्त्यमा जितेश शर्माले १९ बल खेल्दै २ चौका र ४ छक्कासहित अविजित ४० रन बनाए ।
चोटलाई पन्छाएर मैदानमा फर्किएका बुमराहले कुनै विकेट लिए नलिए पनि ४ ओभरमा २९ रनमात्र खर्चे । हार्दिकले ४ ओभरमा ४५ रन खर्चेर २ र विग्नेश पुथुरले १ विकेट लिए ।
प्रतिकृया दिनुहोस