टि–२० सिरिज: नेपालको कतारलाई सजिलै हरायाे

काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चार देश सम्मिलित टि–२० सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले कतारलाई ८ विकेटले सजिलै पराजित गरेको हो ।
कतारले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले १७ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गर्यो । दुवै ओपनरले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । कुशल भुर्तेल र आसिफ शेखले ५ ओभरमै ८० रनको साझेदारी गरेका थिए ।
कुशल भुर्तेलले ४ चौका र ३ छक्कासहित १९ बलमा ३८ रन प्रहार गरे । आसिफले २१ बलमा ४ छक्कासहित ३३ रनको योगदान दिए ।
रोहित र बसीरले नटआउट साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए । कप्तान रोहित २९ बलमा २ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे । बसीरले ३३ बलमा २ चौकासहित नटआउट ३० रन जोडे ।
कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । कतारका लागि कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ५२ बलमा अर्धशतक पूरा गरेका थिए । उनलाई डेब्यु गरिरहेका नन्दन यादवले १८ औं ओभरमा बोल्ड गरे । इक्रमउल्लाहले ५ चौका र २ छक्का प्रहार गरेका थिए ।
टस जितेर बलिङ रोजेको नेपालले दोस्रो ओभरमै सफलता प्राप्त गरेको थियो । सोमपाल कामीको बलमा रिफायी थेरुभाथ क्याच आउट भएका थिए । कारणले १३ रन जोडेर खेलिरहेका अरुमुगागणेश नगराजनलाई बोल्ड गरे ।
ललित राजवंशीले जमिलको विकेट लिँदै उक्त साझेदारी तोडे । ललितकै हातबाट क्याच आउट हुनुअघि जमिलले २१ बलमा ४ छक्कासहित ३१ रन बनाएका थिए ।
जसिम खान ३ बलमा ४ रन जोड्दै गुलशनको बलमा क्याच आउट भए । १८ औं ओभरमा नन्दनले इक्रमउल्लाहलाई बोल्ड गरेपछि साझेदारी तोडिएको थियो । मुजिब १९ बलमा १ चौकासहित २० रनमा नटआउट रहे । मोहमद इर्शादले ७ बलमा १ चौका र २ छक्कासहित १८ रन जोड्दै कतारलाई १ सय ५० को आँकडा पार गर्न सहयोग गरे ।
नेपालका लागि करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले १-१ विकेट लिएका थिए ।
नेपालसहित कुवेत, कतार र हङकङ सहभागी प्रतियोगिताको आज हुने दोस्रो खेलमा हङकङ र कुवेत खेल्नेछन् । भोली नेपालले कुवेतको सामना गर्नेछ । शुक्रबार लिग चरणको अन्तिम खेलपछि शीर्ष दुई टोलीले शनिबार फाइनल खेल्नेछन् ।
प्रतिकृया दिनुहोस