• २०८२ बैशाख ६ शुक्रबार
  • Friday, 18 April, 2025

यु-१९ विश्वकप एसिया छनोट: नेपालले ओमानलाई फराकिलाे अन्तरले हरायाे

काठमाडौं । यु-१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । ओमानलाई आज ८ विकेटको फराकिलो अन्तरमा हराएको छ। ओमानको यो लगातार दोस्रो हार हो।

जितको लागि १ सय १८ रनको चुनौति नेपालले १४.३ ओभरमा २ विकेट गुमाउँदै सहज जित आफ्नो पक्षमा पार्यो।

नेपालका ओपनरद्वय साहिल पटेल र निरज कुमार यादवले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। यो साझेदारीमा नेपालले आरामदायी जित निकाल्यो।

निरज अर्धशतकबाट मात्र ४ रनले चुके। ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रनमा आउट भए। उनलाई सौम्य भविनसम्पतले आउट गरे।

त्यसपछि अर्का ओपनर साहिल ४४ रनमा सौम्यकै बलमा आउट भए। कप्तान नरेन भट्ट अविजित १२ रनमा रहे।

यसअघि युवराज खत्रीले ५ विकेट लिएपछि नेपाल यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा ओमान यू–१९ विरुद्धको खेल जित्न १ सय १८ रनको लक्ष्य पाएको थियाे । 

नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको ओमान माथिल्लो मूलपानी क्रिकेट मैदानमा ३८ ओभरमा १ सय १७ रनमा अलआउट भयो ।

लेग स्पिनर युवराजले ७ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएका हुन् । सातौं बलरको रुपमा आएका उनले जीत ब्रजेश साहलाई आउट गरी ३० औं ओभरमा विकेट लिन सुरु गरेका थिए । उनले ओमानको पछिल्लो ५ विकट नै लिए ।

सन्तोष यादवले ८ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर २ विकेट लिए । अशोक धामी, अपराजित पौडेल र दयानन्द मण्डलले १ विकेट लिए । दर्श सोनारको स्थानमा नेपालले दयानन्दलाई खेलाएको थियो ।

ओमानबाट जीत ब्रजेश साहले सर्वाधिक ५२ रन बनाए । उनले ७८ बल खेलि ६ चौका प्रहार गरे । प्रतिश हेमा रमेश १० र सिद्धार्थ सोम्य शंकर १६ रनमा आउट भए । कभिस राजेशकुमार शाह ९ रनमा अविजित रहे ।

नेपालले शनिबार पहिलो खेलमा यूएईलाई ५ रनले पराजित गरेको थियो । ओमान पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर