अफगानिस्तानविरुद्ध जितका लागि मैदानमा उत्रँदै नेपाल

काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोली शनिबार अफगानिस्तानको यू-१९ टोलीसँग भिड्दै छ ।
काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटको अन्तिम दिनको खेलमा दुई दाबेदार टोली खेल्दा दुवैको नजर आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने यू-१९ विश्वकपमा हुनेछ । जित्ने टिम २०२६मा नामिबिया पुग्नेछ । जसका लागि यी दुवै टिमका लागि जित अनिवार्य छ ।
अंक तालिकामा भने नेपाल भन्दा अफगानिस्तान अघि छ । समाज जित भएपनि रनरेटका कारण नेपाल दाेस्राे स्थानमा छ ।
नेपाल घरेलु मैदानमै खेल्दा लगातार दोस्रोपटक छनोट हुने लक्ष्यमा रहँदा यसअघि सोझै खेल्ने गरेको अफगानिस्तान छनोटमा तानिएको प्रतिशोध साँध्ने दाउमा हुनेछ ।
अघिल्लोपटक २०२४ मा भएको यू-१९ विश्वकपमा अफगानिस्तान नेपालसँग समूह चरणमा पराजित भएर अगाडि बढ्न नसक्दा यसपटक छनोटमा तानिएको हो । सबैभन्दा बलियो टोली तथा टेस्ट राष्ट्र अफगानिस्तानसँग नै नेपालको महत्वपूर्ण खेल हुने भएको हो ।
यस छनोट प्रतियोगिताअघि नेपालले अफगानिस्तानसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा ३ खेलको शृंखला खेलेको थियो जहाँ पहिलो खेल एकतर्फी रूपमा गुमाउँदा दोस्रो खेलमा नजिक पुगेर पराजित भएको थियो भने तेस्रो खेलमा शानदार बलिङ गर्दै जितेको थियो ।
अब शनिबार तल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपालले घरेलु मैदानमा घरेलु दर्शककै अगाडि अफगानिस्तानको चुनौती समाप्त पार्दै विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
नेपाल र अफगानिस्तान सन् २००७ देखि हालसम्म कुल १९ पटक आमनेसामने भएका छन् । तीमध्ये १२ खेल अफगानिस्तानले जित्दा नेपालले ७ खेल जितेको छ ।
नेपाली टोलीका कप्तान नरेन भट्टले महत्वपूर्ण खेलमा बलियो टोली अफगानिस्तानलाई हराउनेमा विश्वस्त रहेको बताएका छन् । हङकङसँगको सहज जितपछि कुरा गर्दै नरेनले अब हुने महत्वपूर्ण खेलका लागि टिममा सबैको मनोबल उच्च रहेको उल्लेख गरेका थिए ।
‘हामी विश्वस्त छौं, सबैजनाको मनोबल उच्च छ जुन हिसाबले हामी खेलिरहेका छौं, हामी जित्न सक्छौं र विश्कपमा छनोट हुनेछौं,’ नरेनले भने ।
अफगानिस्तानसँग यसअघि खेलेको युथ ओडीआई शृंखलाबाट सिकेका कुराहरूबाट नै रणनीति बनाउने कप्तान नरेनले बताए । ‘अब कसरी खेल्नुपर्छ भन्ने कुरा त त्यही दिन थाहा हुन्छ, ब्याटिङ–बलिङ जे भए पनि आफ्नो बेस्ट दिनेछौं,’ उनले भने ।
नेपाल र अफगानिस्तानबीचको खेल हुने दिन शनिबार दिउँसोदेखि वर्षाको सम्भावना देखिएको छ । शुक्रबार पानी परेर शनिबार विहान खेल ढिला सुरु भएमा केही ओभर घटाइन सक्छ ।
वर्षाले खेलमा बाधा पुर्याएर खेल सुरु हुनै नसकेमा वा खेल चल्दै गर्दा डिएल पद्दति प्रयोग गर्न मिल्ने अवस्थामा खेल नपुगेमा नतिजाविहीन हुँदै दुवै टोलीले अंक बाँड्ने छन् र नेट रनरेटमा माथि रहेको अफगानिस्तान विश्वकपमा छनोट हुनेछ ।
प्रतिकृया दिनुहोस