सत्तामा एमाले, सडकमा पनि एमाले ! आज शक्ति प्रदर्शन गर्दै
सरकारप्रति एमालेभित्रै असन्तोष

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दी गरेको भन्दै त्यसको प्रतिवाद गर्न पार्टी पंक्तिलाई निर्देशन दिँदै आएका छन् । तर उनको अपेक्षाअनुसार नेता तथा कार्यकर्ताहरु विपक्षीहरुको प्रतिवादमा नउत्रिएको भन्दै आक्रोशित हुँदै आएका छन् ।
सरकारको कामकारबाहीप्रति एमालेभित्रै पनि असन्तुष्टि बढ्दो छ । काठमाडौंमा शिक्षक आन्दोलन चर्किरहेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि सार्वजनिक रुपमै एमाले भित्रबाटै असन्तुष्टि व्यक्त भएको छ । उनले स्वास्थ्यका कारण राजीनामा दिएको उल्लेख गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण असहज भएकाले मन्त्री पद छाडेका निकटसँग बताएकी छन् । निवर्तमान शिक्षामन्त्री भट्टराईको पछिल्ला कदमलाई एमाले नेतृहरुले समर्थन गरेका छन् ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भट्टराईको राजीनामाले नैतिक धरातल बलियो बनाएको टिप्पणी गरेकी छन् । ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ? विद्या भट्टराई सक्षम, इमान्दार, नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो ? उहाँलाई सहयोग किन भएन ?’ उनले सामाजिक संजालबाट भनेकी छन्, ‘कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैं प्रेरणा बनोस् ।’
एमाले केन्द्रीय सदस्य रचना खड्काले भट्टराईको राजीनामाप्रति लक्षित गर्दै समर्थन गरेकी छन् । ‘योग्य वा इमान्दार मात्र हुन जति सजिलो छ । योग्य र इमान्दार दुबै हुन कयौं गुणा कठिन छ । तपाईं योग्य र इमान्दार दुबै हो दिदी’ उनले भनेकी छन् ।
एमाले प्रवक्ता राजेन्द्र गौतमले भने भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा गरेर सही नगरेको बताए । ‘पदमै बसेर समस्याको समाधान गर्नु उचित हुन्थ्यो,’ उनले भने, ‘बाहिर प्रचार भएजस्तो शिक्षामन्त्रीलाई अप्ठ्यारो थिएन ।’
तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद् पुनःस्थापना गरेको दिनलाई ‘जनताले जितेको दिन’को रुपमा एमालेले शक्ति प्रदर्शन गर्न लागेको हो । मंगलबार पनि नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसमा पनि उनले ‘विरोधी’हरुको हमलामा मौन बसेकोमा नेता तथा कार्यकर्तामाथि आक्रोश पोखे । एमाले र यसको मुख्य नेतृत्वलाई घेराबन्दी भएको भन्दै बिहीबार काठमाडौंमा युवाहरुको सभा गरी शक्ति प्रदर्शन गर्दैछ ।
सरकारविरुद्ध झन् आक्रोश बढ्दै गएको बेला एमालेले प्रदर्शन गर्न लागेको हो । सरकारमाथि उठेका प्रश्न र आक्रोशको जवाफ एमालेले कामकारबाहीभन्दा सडक प्रदर्शनबाट दिन खोजेको छ । एमाले यसअघि नै बुटवल, दमक र काठमाडौंको दरबारमार्गमा ‘जागरणसभा’ गरिसकेको छ । सरकार र एमाले नेतृत्वप्रति भएको घेराबन्दी र आरोपको खण्डन गर्दै स्पष्ट गर्न जागरणसभाको नाम राखेको छ । त्यस्तै उसको पार्टीको ‘जरा केन्द्रित’ अभियान जारी राखेको छ ।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश अभियान’का क्रममा सरकारको चर्को आलोचना गरेकाले एमालेले जागरणसभा गरी त्यसको खण्डन गर्दै आएको छ । बिहीबार काठमाडौंको भकृटीमण्डपमा गर्ने सभालाई शक्तिप्रदर्शनको रुपमा लिएको छ ।
चैत १९ मा बुटवलको सभामा प्रधानमन्त्री ओलीले वैशाख ११ गते शक्ति प्रदर्शन गर्ने बताएका थिए । ‘म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौंमा हुने युवा महोत्सवमा सरिक हुन आहृवान गर्दछु,’ उनले भनेका थिए, ‘त्यस युवा सम्मेलनबाट प्रतिक्रियावादी र अराजकतावादीले आफ्नै आँखाले देखुन्, आफ्नै कानले सुनुन्, युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो भन्ने ?’
ओलीले मंगलबार नेकपा स्थापना दिवसमा आफ्नो सरकारले राष्ट्रियता, अग्रगमनका मुद्दा उठाएका कारण घेराबन्दी भइरहेका बताएका छन् । ‘गाली खानका लागि कुनै गल्ती गर्नुपर्दैन । समाज बिगार्ने, अपराधीहरु, राष्ट्रलाई नोक्सान गर्न खोज्नेहरुले राष्ट्रलाई राम्रो गर्नेहरुलाई सबभन्दा चर्को घेराबन्दी गर्ने काम गरेका छन् । यसमा विभिन्न प्रकारका शक्तिहरु सामेल भइरहेका छन्,’ उनले एमालेकै नेताहरुले पनि आफूप्रति शंका गरेको भन्दै असन्तुष्टि व्यक्त गरे, ‘विरोधीहरुले सांगठित हमला गर्छन् । हाम्रा साथीहरु पनि कता कति यत्तिकै विरोध भएको हो कि ? भन्ने आशंका गरेर बोल्ने गरेको पाइएको छ । भ्रममा पर्न खोजेको हो कि ?’
उनले सबैतिरबाट सरकारको आलोचना आए पनि आफ्नै गतिमा अघि बढ्ने बताए । ‘विभिन्न प्रकारका वैदेशिक शक्तिले हाम्रो पार्टीलाई समर्थन गरेका छैनन् । मैले राष्ट्रियताका सवाल उठाएर विरोधको सामना गरिरहेको छु । आलोचनाको तारो भइरहेको छ । आलोचनाको तारो नहुने नेता खोज्नुपर्छ कि ?’ उनको भनाइ थियो, ‘हामीले राष्ट्रियताको मुद्दाको छाड्यौ, राष्ट्रिय गौरवका कुरा गर्न छोड्यौं भने हाइहाइ भइहाल्छ । तर हाम्रो पथ त्यो होइन ।’
एमाले प्रवक्ता राजेन्द्र गौतमले युवा सम्मेलन कसैको प्रतिरोध लक्षित नभएको बताए । ‘युवा सम्मलेन कसैको प्रतिरोध गर्न गरेको होइन । कसैको विरोध गर्न होइन । यो सम्मेलन युवा र लोकतन्त्रमा फोकस हुन्छ,’ उनले भने, ‘युवाहरु हामीसँग छ भन्ने सन्देश दिन खोजेको हो ।’
एमालेले पार्टीको तर्फबाट सरकारलाई प्रभावकारी काम गर्न प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराइसकेकाले त्यहीअनुसार अघि बढेको उल्लेख गर्दै पार्टीले पनि सरकारका कामलाई सघाइरहेको बताए । ‘पार्टीले मध्यपहाडी लोकमार्गमा अभियानमा लिएका सुझाव प्रधानमन्त्रीज्यूलाई दिइसकेका छौं, त्यहीअनुसार काम भइरहेको छ,’ उनले भने, ‘कति कार्यान्वयन भयो, निरन्तर फ्लोअप भइरहेको छ ।’
उनले प्रधानमन्त्रीको मुख्य ध्यान सरकारको काममा भएको र महासचिव शंकर पोखरेलले पार्टीका गतिविधिमा केन्द्रित भएको बताए । ‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको मुख्य ध्यान सरकारको काममा छ,’ उनले भने, ‘अध्यक्षसँग परामर्श गरी महासचिवले पार्टीका कामलाई संयोजन गरिरहनु भएको छ ।’
वैशाख ११ मा हुने युवा सम्मेलन ‘पार्टी र जनतासँग सम्बन्ध’कै रुपमा रहेको उनको भनाइ छ । ‘सरकारको नेतृत्व गरेको जनतामा तल नजाने भन्ने हुँदैन । जानुपर्छ’ उनले भने, ‘पार्टीले सरकार र जनसम्बन्धलाई सँगैसँगै लैजान्छ ।’ युवा सम्मेलनमा प्रत्येक वडाबाट दुई जनाका दरले ४० वर्षमुनिका व्यक्ति सहभागी गराउने एमालेको तयारी छ ।
पीएन क्याम्पस पोखरा राजनीतिशास्त्रका प्राध्यापक ठानबहादुर क्षेत्रीले सरकारको नेतृत्व गरेको पार्टीले मुलुकमा देखिएका समस्या सरकारबाटै खोज्नुपर्ने बताए ।
‘एमालेको जागरणसभा किन र केका लागि हो ? स्पष्ट भएन,’ उनले भने, ‘सरकारले सुशासन क्षेत्रमा काम गरेरे देखाउन सक्छ । सरकारले समस्याको समाधान सरकारबाटै हो,’ उनले भने, ‘सरकारको नेतृत्व गरेको दलले सडकबाट समाधान खोजेर हुँदैन ।’
सत्तारुढ र विपक्षी दलहरुको शक्ति संघर्षका कारण दुवै सडक प्रदर्शनमा उत्रिएको बताए । ‘दलहरु डेमोस्ट्रेटिभ डेमोक्रेसीको रुपमा अघि बढेका छन् । पार्टीहरुबीच पाउर टसल छ,’ उनले भने, ‘सत्तामा हुँदा काम गर्न सक्दैन । विपक्षीमा गएपछि सरकारले काम गर्न सकेन भनेर प्रदर्शन गर्छन् ।’
उनले संविधानमा रहेका केही कमजोरीमाथि खेल्ने प्रयास भरहेको बताए । ‘संविधानमा केही कमजोरी, अपूर्ण रहेको हुन्छ । हाम्रो जस्तो देशमा त्यसमै चलखेल हुन्छ,’ उनले भने, ‘राजनीतिक दलहरुले संघीय प्रणाली बलियो नबनाएका कारण कुनै न कुनै मुठभेडको अवस्था देखिएको छ ।’
कान्तिपुरबाट
प्रतिकृया दिनुहोस