प्रधानमन्त्री विरुद्ध गगनको विरोध, प्रचण्डलाई देउवाको टेलिफोनले तनावमा ओली

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसका नेताहरु नै सत्ता साझेदारीको बिषयमा सार्वजनिक टिप्पणीमा उत्रिएका छन् । विहिबारी एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीदेखि कांग्रेस महामन्त्री गगन थापासम्मले सत्ता साझेदारीको बिषयमा सार्वजनिक टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले नेकपा एमालेले सधैं सरकार बचाऔं भनेर नहेर्ने बताउँदै सधैं चुनाव हेर्नुपर्ने बताए । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नु पर्दछ । त्यसैकारण एमालेले सरकार बचाउ भनेर कराएको छैन,’ उनले भने, ‘एमालेले जहिल्यै पनि चुनाव हेरेको हुन्छ । हामीले ७०, ७९ को चुनाव भन्यौ । ८४ को चुनाव भनेका छौं । मिसन ०८४ भनेका छौं । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’
कांग्रेसका महामन्त्री गगन थापाले पर्यो भने सरकारबाट कांग्रेस बाहिर जाने अभिव्यक्ति दिए । लोकतन्त्र दिवसमा काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘आधारभूत कुरामा हामी सम्झौता गर्दैनौं भनेर हामीले भन्न सक्नुपर्छ। पर्यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं । सरकारमा बस्ने वा नबस्ने, सरकार नै ठूलो कुरा थियो भने त ज्ञानेन्द्र शाहले सरकार बनाउँदै गर्दा हामी गएनौं त । महेन्द्र वा वीरेन्द्रले पनि सरकार बनाउँदै गर्दा हाम्रा नेताहरू जानुभएको थिएन ।’
विहिबार नै प्रधानमन्त्री ओलीविरुद्ध सत्तारुसाझेदार दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका नेता कार्यकर्ताले प्रदर्शन गरे । उनीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् । प्रर्दशनको क्रममा प्रहरीले ८ जना नेताहरूलाई पक्राउ परेका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई अनावश्यक दबाब दिएर, शिक्षामन्त्रीलाई विद्या भट्टराईलाई असहयोग गरी राजीनामा दिन बाध्य पारेको र शिक्षकका माग पूरा गर्न तत्परता नदेखाएको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको जनाएको छ ।
विहिबार नै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ गर्न दुर्भाग्य भएको बताए । ‘गभर्नर नियुक्तिमा ढिलाइ हुनु दुर्भाग्यपूर्ण कुरा हो,’ प्रवक्ता डा. महतले भने, ‘जसले निरपेक्ष भावले अर्थतन्त्रलाई केन्द्रमा राखेर काम गर्छ, त्यस्तो व्यक्तिलाई गभर्नर नियुक्त गर्नुपर्छ।’
प्रचण्डलाई देउवाको फोन
यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्ड प्रस्थानअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेका थिए । वैशाख ७ गते उपचारका लागि भन्दै देउवा थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका थिए । देउवाको भ्रमणलाई सत्ता परिवर्तनसँग समेत जोडेर टिकाटिप्पणी भइरहेका बेला उनले प्रचण्डलाई फोन गरेका हुन् ।
सिंहदबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले देउवाले आफूलाई फोन गरेको ब्रिफिङ गरेका हुन् । ‘थाइल्यान्ड जानुअघि उहाँले मलाई फोन गर्नुभएको थियो । सो क्रममा शुभकामना आदान प्रदान भएको थियो । फर्किएपछि फेरि भेट्न कुरा भएको छ’, प्रचण्डले बैठकमा भनेका थिए ।
प्रतिकृया दिनुहोस