• २०८२ बैशाख १८ बिहीबार
  • Thursday, 1 May, 2025

भाजपा नेता चौथाईवालेले जनाए नेपालमा लाेकतन्त्रकाे पक्षमा प्रतिवद्धता

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले बुधबार भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणका लागि काठमाडाैं आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेकाे उनकाे सचिवालयले जानकारी दिएको हो ।

भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी  आक्रमण घटनाको निन्दा गरेका थिए । मन्त्री लेखकले उक्त घटना दुखद् भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकीमित्र भारतसित रहेको बताए ।

मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौं देखिको मित्रवत सम्वन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेसित कुराकानी भएको बताए ।

सो भेटका अवसरमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले दुई देश बिचको सम्वन्ध थप सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरेका थिए ।  “ नेपाल–भारतबिचको सम्वन्ध दृढ छ ।” उनले भने–“ कुनै पनि विषयले मित्रवत सम्वन्धमा असर पर्दैन ।”

उनले कश्मिर घटनामा एक नेपाली युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री लेखक मार्फत समवेदना समेत व्यक्त गरे । विदेश विभाग प्रमुख चौथाईवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने धारणा व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर