मौसम अपडेटः काठमाडौंमा विहानैदेखि वर्षा,कान्ति लोकपथ सडक अवरुद्ध

काठमाडौं । देशका धेरै ठाउँको मौसम बदली भएको छ । अहिले काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा छिटपुट वर्षा भइरहेको छ । आज (आइतबार) कोशी, लुम्बीनीप्रदेशसहित देशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
गए राति गण्डकी, बागमती र लुम्बीनी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । गए राति गोरखा, तनहुँ, लमजुङ, पाल्पाका केही ठाउँमा ठूलो पानी परेको मौसमविद् अधिकारीले बताए ।
आज देशका पहाडी ठाउँसहित तराईमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आजको तुलनामा भोलिदेखि पानी मौसमी प्रणाली केही कमजोर भए पनि पर्सीसम्म नै मौसमी प्रणाली सक्रिय रहने अनुमान छ । आज दिउँसो पनि काठमाडौसहित आसपासका क्षेत्रमा वर्षाको सम्भावना छ ।
अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको छ । यस कारण बादल लाग्ने र पानी पर्ने भइरहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
यसैबिच गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
उनले गए रातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गरेका छन् ।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिए ।
त्यसैगरी, गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौँ जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस