• २०८२ बैशाख २८ आइतबार
  • Sunday, 11 May, 2025

भर्ना खुलेको ६ दिनमै सामुदायिक विद्यालय विद्यार्थीले भरिए

काठमाडाैं । शिक्षक आन्दोलनका कारण भर्ना कार्यक्रम ढिलो सुरु गरेका धेरैजसो सामुदायिक विद्यालयमा ६ दिनमै विद्यार्थी भरिएका छन् । भर्ना गर्न आउने विद्यार्थीको संख्या बढेपछि कतिपय सामुदायिक विद्यालयले विद्यार्थी फर्काउन थालेका छन् । 

१७ वैशाखमा शिक्षक र सरकारबिच नौबुँदे सहमति भएपछि शिक्षकहरू घर फर्किएका थिए । भर्ना कार्यक्रम १९ वैशाखदेखि मात्रै सुरु भएको थियो । चार–पाँच दिनमै सामुदायिक विद्यालयमा भर्ना गर्न मुस्किल भएपछि नेता, व्यापारी र चिनजानका व्यक्तिको दबाब आउन थालेको विद्यालयहरूले जनाएका छन् । सामुदायिक विद्यालयमा मुख्यतः कक्षा तीन, पाँच, आठ र नौमा भर्नाका लागि धेरै दबाब आउने गरेको छ । यी कक्षामा भर्ना हुन आउने अधिकांश विद्यार्थी निजीका छन् । 

बौद्ध महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयमा एक हजार पाँच विद्यार्थी भर्ना भइसकेका छन् । यहाँ कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थी संख्या एक हजार एक सय छ । विद्यालयको भौतिक संरचनाले थेग्ने अवस्थामा विद्यार्थी भर्ना भइसकेको प्रधानाध्यापक दीपकबाबु श्रेष्ठले बताए ।  

भक्तपुरको च्यामासिंहमा रहेको वागिश्वरी माविमा पनि विद्यार्थी भरिभराउ छन् । यहाँ चार हजार ४८ जना विद्यार्थी छन् । विद्यालयको भौतिक संरचनाले थेग्नेजति भर्ना गरिसकेको र कतिपय विद्यार्थीलाई समन्वय भएको विद्यालयमा पठाएको कक्षा ११ र १२ का संयोजक ज्ञानसागर प्रजापतिले बताए ।   

रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माविमा पनि विद्यार्थी खचाखच छन् । देशभरिका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी भर्ना गर्न सक्ने यस विद्यालयमा करिब आठ हजार विद्यार्थी पढ्छन् । यस वर्ष पनि विद्यालयले विद्यार्थी भर्ना कार्यक्रम सकेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यनन्द ज्ञवालीले कक्षा एकदेखि १० सम्म ५५० विद्यार्थी नयाँ र अन्य पुरानै गरी सात हजार ८९० विद्यार्थी भर्ना भइसकेको बताए ।

मध्यबानेश्वरस्थित रत्नराज्य माविले पनि भौतिक अवस्थाले थेग्नेजति विद्यार्थी भर्ना गरिसकेको छ । विद्यालयका प्रधानाध्यापक रामाशिष यादवका अनुसार एक हजार ७५० विद्यार्थी भर्ना भइसकेका छन् । कक्षा आठका तीन सय विद्यार्थीले ग्रेडवृद्धिको परीक्षा दिँदै छन् । त्यसपछि पनि विद्यार्थी संख्या थपिने यादवले बताए ।  

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविमा भर्ना हुन आउने विद्यार्थीको चाप धेरै छ । ०३० मा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्म तीन हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । यस वर्ष पनि विद्यालयको क्षमताअनुसार विद्यार्थी भर्ना कार्यक्रम रोक्नुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ । विद्यालय खुलेको छोटो समयमै विद्यालयका कक्षाकोठा खचाखच भइसकेको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताए । उनका अनुसार यसमध्ये कक्षा १० सम्म एक हजार ९५० विद्यार्थी भर्ना भइसकेका छन् । जोशीका अनुसार हाल कक्षा ६ र सातमा चार सेक्सन भरिभराउ भएको छ । कक्षा नौ र १० मा सात–आठवटा सेक्सन ब्रेक गर्नुपर्ने अवस्था छ । 

कैलालीकै टीकापुरस्थित कर्णाली माविमा दुई हजार विद्यार्थी भर्ना भइसकेका छन् । यहाँ पनि सीमित भौतिक संरचना भएकाले थप विद्यार्थी भर्ना गर्न नसकिने अवस्था रहेको विद्यालयले जनाएको छ । 

काठमाडौंको बाफलमा रहेको ज्ञानोदय मावि पनि विद्यार्थी र अभिभावकको बढी रोजाइमा पर्ने विद्यालय हो । यस विद्यालयमा पछिल्लो ६–७ वर्षयता विद्यार्थी संख्या बढेको छ । यस वर्ष शिक्षक आन्दोलनका कारण ढिलो भर्ना खुले पनि लगभग भौतिक संरचनाले थेग्नेजति विद्यार्थी भर्ना भइसकेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइरालाले भर्ना हुन आउने विद्यार्थीको चाप बढेको बताए ।  

शिक्षाविद् विद्यानाथ कोइराला गुणस्तरीय शिक्षा र शुल्क नलाग्ने भएकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढेको बताउँछन् ।  

यी हुन् विद्यार्थी चाप धेरै हुने सामुदायिक विद्यालय 
चितवन नारायणगढमा रहेको नारायणी नमुना मावि, कान्ति मावि बुटवल, विश्व निकेतन मावि त्रिपुरेश्वर, बागिश्वरी मावि भक्तपुर, पब्लिक हाईस्कुल धरान, कालिका मानवज्ञान मावि बुटवल, दरबार हाईस्कुल (भानु मावि) काठमाडौं, रत्नराज्य स्कुल मध्यबानेश्वर, कर्णाली मावि टीकापुर, दुर्गालक्ष्मी नमुना मावि अत्तरिया कैलाली, नेपाल आदर्श मावि कपिलवस्तु, धनगढी मावि कैलाली, राष्ट्रिय मावि लम्कीचुहा कैलाली, ज्ञानोदय मावि बाफल, रझेना मावि, दाङ, सत्यवती माध्यमिक विद्यालय तनहुँ, पद्मोदय नमुना माध्यमिक विद्यालय दाङ, शान्ति नमुना मावि रुपन्देही, जनकल्याण मावि बौद्ध महांकाल, पद्मोदय मावि भक्तपुरलगायत । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर