अरुलाई शिष्टाचारको पाठ पढाउने, आफु प्राज्ञिकको सपथ ग्रहणमासमेत यसरी बस्ने ?

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थलाई मिडियाले ‘तिमी’ सम्बोधन गरेको भनेर प्रधानमन्त्री केपी ओलीले पटक–पटक सार्वजनिक समारोहमै आलोचना गर्ने गरेका छन् ।
गत बुधबार मात्रै पनि गोरखापत्रको १२५औँ वार्षिकोत्सव समारोहमा सञ्चारमाध्यमलाई व्यंग्य हान्दै उनले प्रश्न गरे, ‘गोरखापत्रले राष्ट्रपतिले भन्नुभो भन्छ कि भने भन्छ, त्योचाहिँ मैले याद गर्या छैन । ... नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे ! यो नेपाली भाषा होइन ।’
तर, शिष्टाचारको पाठ सिकाउँदै हिँड्ने ओली आफैँ भने प्रायः अशिष्ट व्यवहार देखाउँछन् । शनिबार बालुवाटारमा भएको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीको आसनले नै उनको शिष्टतालाई मापन गर्छ ।
यो तस्बिरमा विश्वविद्यालयका कुलपति प्रा.डा. रमेशकुमार ढुंगेलले रजिस्ट्रार डा. डम्बरध्वज चेम्जोङलाई शपथ खुवाउँदै छन् । शिष्टाचारका हिसाबले प्राज्ञिक व्यक्तित्वहरूको शपथमा उभिनुपर्ने प्रधानमन्त्री कुर्सीमा बसेका मात्रै छैनन्, आसन नै अस्वाभाविक छ ।
सोही समारोहमा शिक्षामन्त्री रघुजी पन्तले विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की र अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई शपथ खुवाउँदा पनि प्रधानमन्त्री यस्तै आसनमा थिए ।
यसअघि प्रधानमन्त्री ओलीले तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराउँदै गर्दासमेत ‘त्यो पर्दैन’ भनेका थिए । जुन अझै ट्रोल बनिरहेको छ ।
नयाँ पत्रिकाबाट
प्रतिकृया दिनुहोस