दुई खेल अघि नै बार्सिलोनालाई स्पेनिस लिग उपाधि, यामलले सिजनभर गरे कमाल

काठमाडौं । विश्वकै दोस्रो चर्चित लिग स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ ।
गएराति घरेलु प्रतिद्धन्दी स्पानियोललाई २–० गोलले पराजित गरेसँगै लिगको उपाधिमा बार्सिलोनाले कब्जा जमाएको हो । यो उसको २८औं लिग उपाधि हो ।
रियल म्याड्रिडले ३६ पटक ला लिगाको उपाधि जितेको छ। रियल म्याड्रिड र बार्सिलोनापछि एटलेटिको म्याड्रिडले ११ पटक ला लिगा जितेको छ।
बार्सिलोनाको अंक तालिकामा ३६ खेलबाट ८५ अंक छ भने दोस्रो स्थानको रियल मड्रिडको समान ३६ खेलबाटै ७६ अंक छ । लिगमा अब २ खेल मात्रै हुन बाँकी छ ।
बार्सिलोनाले दुवै खेल हारे र रियलले जिते पनि अंक तालिकामा बार्सिलोना नै अघि हुने भएकाले दुई खेल बाँकी छँदै लिगको विजेता घोषणा भएको हो ।
बार्साले यस अघि स्पेनिस किङस कप कोपा डेल रेको उपाधि पनि रियल मड्रिडलाई नै हराउँदै जितिसकेको छ ।
गएरातिको खेलमा दोस्रो हाफको ५२औं मिनेटमा आकर्षक कर्भ गोल गर्दै १७ वर्षीय युवा स्टार लामिन यामलले उपाधिको बाटो देखाएका थिए ।
सब्सटीच्युटमा आएका फर्मिन लोपेजले अतिरिक्त समयको ९५औं मिनेटमा यामालकै पासमा अर्को गोल थपेपछि बार्साको उपाधि पक्का भएको थियो ।
गएरातिको मात्रै हौइन यो सिजनभर यामलले आश्चार्यजनक प्रदर्शन गरेर विश्व फुटबल जगतकै ध्यान आफूतिर तान्न सफल भएका छन् । विश्वका फुटबल पण्डितहरुले उनको प्रसंशा गर्दै नयाँ युगमा उनको स्टारका रुपमा उदय हुनसक्ने अनुमान लगाएका छन् । यामल जारी सिजनको बालोन डि आरमासमेत प्रतिस्पर्धामा छन् ।
बार्साको प्रशिक्षकमा जर्मन हान्सि फ्लिक भित्रिएपछि पनि उनको रणनीतिले धेरै हद्सम्म काम गरेको अनुमान गरिएको छ । बार्सामा जारी सिजनमा यामलसँगै ब्राजिलियत राफिना, स्पेनिस पेड्री, कुबार्सी, डानी ओल्मो, लगायतले राम्रो प्रदर्शन गरेका थिए ।
लिग तालिकामा एथ्लेटिको मड्रिड तेस्रो भएको छ । उसले ३६ खेलबाट ७० अंक जोडेको छ । एथ्लेटिको क्लब चौथो र भिलारियल पाँचौं भए । जसले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
रियल बेटिस, सेल्टा भिगो र रायो भाल्कानोले युएफा कप खेल्ने सम्भावना छ ।
प्रतिकृया दिनुहोस