मदन-आश्रित ३२ औँ स्मृति दिवसः एमाले पटक–पटक देशकाे नेतृत्वमा पुग्याे तर दाेषी खाेजेन

काठमाडौं । नेकपा एमालेका नेताद्वय मदन भण्डारी र जीवराज आश्रित ३२ औँ स्मृति दिवस शनिबार मनाइँदै छ।
नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको रहस्यमय मृत्यु भएको दिन हरेक वर्ष जेठ ३ मदन-आश्रित स्मृति दिवस मनाइन्छ।
मदन-आश्रितको सम्झनामा नेकपा एमालेले विभिन्न कार्यक्रम गर्दै आएको छ। एमालेले स्मृति दिवस मनाउन पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यसम्पादन गर्न निर्देशन गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
एमालेले केन्द्रीयस्तरमा मदन नगर बल्खुमा बिहान ८ बजे स्मृति कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मदन-आश्रित परिवारका सदस्यहरूलाई निमन्त्रणा गरेको उनले बताए।
एमालेबाट अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले समेत कार्यक्रम गरी यो वर्ष मदन-आश्रित स्मृति दिवस मनाउँदैछ।
२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो। कास्कीको पोखरामा तय भएको सभामा सम्बोधन गर्न जाँदै दुर्घटना भएको थियो।
दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा जीवित थिए। २०६० सालमा लामाको पनि हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ।
याे घटनालाइ एमालेले दुर्घटना मात्र नभइ हत्या भनेकाे छ । तर अहिलेसम्म यसकाे छानविन र दाेषी पत्ता लगाएर कारबाही गर्ने तदारूकता देखाएकाे छैन । एमाले अध्यक्ष ओलीकै नेतृत्वमा छानविन समिति गठन गरिएपनि त्यसकाे प्रतिवेदन सार्वजनिक गरिएन ।
प्रतिकृया दिनुहोस