• २०८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025

उद्योगमा लोडसेडिङ र झ्याप–झ्याप्प बत्ती जाने समस्याः प्रधानमन्त्रीका सल्लाहाकार नै  उत्रिए प्रतिवादमा 

काठमाडौंमा । उद्योग क्षेत्रमा रहेको लोडसेडिङ र आम सर्वसाधारणले भोगिरहेका झ्याप्प झ्याप्प बत्ती जाने समस्याबारे प्रधानमन्त्री केपी ओलीका सल्लाहाकार नै नेपाल विद्युत प्राधिकरणको प्रतिरक्षामा उत्रिएका छन् । 

प्राधिकरणले पटक पटक प्रेस विज्ञप्ती तथा पत्रकार सम्मेलन नै गरेर लोडसेडिङ नभएको र प्राविधिक कारणले कहिलेकाँही बत्ती गएको बताउने गरेको छ । तर आम उपभोक्ताले कुलमान घिसिङलाई सरकारले प्राधिकरणको कार्यकारी प्रमुखबाट हटाएर एमाले निकटका हितेन्द्रदेव शाक्य भित्राएपछि विद्युत वितरण प्रणालीमा समस्या देखिन थालेको अनुमान गरेका छन् । 

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहाकार तथा एमाले उपमहासचिव विष्णु रिमालले भने त्यसको खण्डन गरेका छन् । 

हालै नियुक्ति भएका नेपाल विद्युत प्राधीकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यलाई केही सुझाव दिँदै उनले यस्तो उल्लेख गरेका हुन्। ‘तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ, आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ,’ रिमालले लेखेका छन्, ‘प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ।’ 

उनले थपेका छन्, ‘तर सजग रहनुहोला, बलेको बत्तीमुनी बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन्। समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँमुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ।’

रिमालले सहग भएर काम गर्न सुझाव दिँदै लेखेका छन्, ‘त्यसैले, सजग रहनुस्-काम गर्नुस्, तर ध्यान दिनुस्-कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन्।’

आइतबार पत्रकारहरूलाई सूचनासँगै एक लिखित सामग्री उपलब्ध गराउँदै प्राधिकरणले यसअघि पनि ट्रिपिङ समस्या रहेको उल्लेख गरेको छ।

विगतका वर्षहरूमा समेत प्रि–मनसुन र मनसुनको समयमा हावाहुरी अधिक वर्षा लगायतका कारणले लाइन ट्रिपिङको समस्या रहेको थियो।

'प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ हुँदा समेत अत्यधिक लाइन ट्रिपिङको समस्या देखिएकाले सोको निराकरणका लागि उपकार्यकारी निर्देशक तारा प्रधानको नेतृत्वमा ५ सदस्य रहेको अध्ययन कमिटी बनाएका थिए,' प्राधिकरणले सूचनामा उल्लेख गरेको छ।

समस्या देखिएपछि जनआक्रोश कम गर्न कमिटी बनाउने तर कमिटीले रिपोर्ट नदिने उल्लेख छ। दिए पनि कार्यान्वयन नहुने प्रवृत्ति विगतमा रहेको प्राधिकरणले जनाएको हो।

२०८० साउन २६ गते बनेको कमिटीले पनि कुनै रिपोर्ट नदिएको प्राधिकरणले जनाएको छ।

स्पष्ट भन्नुपर्दा उच्च स्तरीय यो कमिटी समस्या समाधानका लागि नभइ जनआक्रोश कम गर्न बनाइएको थियो।

'योजनाबद्ध रूपमा विद्युतीय सञ्जालको विकास नगरी सस्तो लोकप्रियताका लागि आफू अनुकूल वितरण तथा प्रसारण प्रणाली विकास गर्दा कमजोर भएको प्रणालीको कारण बेला बेलामा समस्या बल्झिएको हो,' तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै प्राधिकरणले भनेको छ।

प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई लोडसेडिङसँग जोडी सामाजिक सञ्जालमा आएका कुरामा कुनै सत्यता नभएको पनि प्राधिकरणले जनाएको हो।

'सामाजिक सञ्जालमा रहेको आफ्नो प्रभावलाई गलत सूचना तथा सामाजिक आक्रोशमा बदल्नका लागि नियोजित रूपमा प्रयोग गरिरहिएको छ। यस्ता कार्यमा निर्वाचित जनप्रतिनिधि, लोकप्रिय कलाकार समेत जोडिने विषय चिन्ताजनक छ र विषय वस्तु नबुझी अभिव्यक्त हुने भनाइले समस्या समाधानका लागि सकारात्मक योगदान पुर्‍याउन सक्दैन‍,' प्राधिकरणले उल्लेख गरेको छ।

पछिल्लो समय झ्याप्पझ्याप्प बत्ती जान थालेपछि उपभोक्ताले अघोषित लोडसेडिङको आशंका गरेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर